बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चित्लाङमा निर्मित भ्युटावर नगरपालिकालाई हस्तान्तरण

बिहीबार, २५ मङ्सिर २०८२, १० : ५४
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • मकवानपुरको थाहा नगरपालिकामा भ्यु टावर हस्तान्तरण गरिएको छ, जसको निर्माण बागमती प्रदेश सरकारले गरेको हो।
  • बागमती प्रदेशका पर्यटन मन्त्रीको उपस्थितिमा भ्यु टावर नगरपालिकालाई हस्तान्तरण गरिएको छ, र यसले स्थानीय पर्यटन प्रवर्द्धन गर्ने विश्वास छ।
  • भ्यु टावर निर्माणका लागि ५ करोड २७ लाख रुपैयाँ खर्च भएको छ, र प्रदेश सरकारले अन्य ९ जिल्लामा पनि यस्तै टावरहरू बनाएको छ।

हेटौँडा । मकवानपुरको थाहा नगरपालिका–९ मा निर्माण गरिएको भ्युटावर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमकाबिच बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको लगानीमा निर्माण भएको सो भ्यु टावरको संरचना नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा पर्यटन विकास आयोजना हेटौँडाका प्रमुख रोशन वास्तवले नगरपालिकाका मेयर विष्णु विष्टलाई भ्युटावर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।

हाललाई अनौपचारिक रूपमा संरचनाहरू हस्तान्तरण गरेको भए पनि छिट्टै नै उद्घाटन तथा सञ्चालनमा ल्याउने गरी पर्यटन विकास आयोजना हेटौँडा र नगरपालिकाबिच सम्झौता समेत भएको छ । सम्झौता अनुसार सो संरचना सञ्चालनबाट प्राप्त राजस्वको निश्चित रकम प्रदेशले पाउने छ ।

thaha tower

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भ्युटावर सञ्चालनमा आएपछि थाहा नगरको पर्यटकीय आकर्षण बढ्ने र स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पर्यटन प्रवर्द्धनका लागि थाहा नगरपालिका क्षेत्रका अन्य सम्भावनामा पनि प्रदेश सरकारले काम गर्ने बताए ।

प्रदेश सरकारले ‘चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम’ (२०७६ र २०७८) अन्तर्गत सो परियोजना अघि बढाएको थियो । आयोजना अन्तर्गत भ्युटावरसहित क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस र सपोर्ट फेसिलिटी निर्माण गरिएको छ । उक्त संरचना निर्माणका लागि दुई चरणमा गरी मूल्य समायोजनसहित कुल ५ करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ खर्च भएको बताइएको छ ।

यससँगै प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि २०७६ सालदेखि हालसम्म प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रामेछाप, सिन्धुली, धादिङ र दोलखा गरी ९ जिल्लामा ११ वटा भ्युटावर निर्माण गरेका छ । उक्त भ्युटावर निर्माणमा प्रदेश सरकारले ३३ करोड (३२ करोड ८४ लाख ३ हजार ३ सय ३९ रुपैयाँ) खर्च गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप