शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा २६ हजार नयाँ मतदाता थपिए, सबैभन्दा धेरै सुर्खेत

बिहीबार, २५ मङ्सिर २०८२, १३ : १७
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • कर्णाली प्रदेशमा आगामी निर्वाचनका लागि २६ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।
  • सुर्खेतमा सबैभन्दा धेरै र मुगुमा सबैभन्दा कम मतदाता थपिएका छन्।
  • दाबी विरोध र प्रमाणीकरणपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

‎सुर्खेत । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशमा करिब २६ हजार नयाँ मतदाता थपिएका छन् ।

‎प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङका अनुसार, मंसिर ५ गतेसम्म सञ्चालित मतदाता नामावली संकलन अभियान अन्तर्गत कर्णाली प्रदेशभर २६ हजार ३ सय ३५ जना नयाँ मतदाता थपिएका हुन् ।

‎यसअघि कर्णाली प्रदेशमा १० लाख ६ हजार ८ सय ३४ जना मतदाता रहेका थिए । नयाँ थपिएका २६ हजार ३ सय ३५ जनासहित अब प्रदेशमा कुल मतदाताको संख्या १० लाख ३३ हजार ४ सय ६९ पुगेको छ ।

‎निर्वाचन अधिकारी गुरुङका अनुसार यो तथ्याङ्क प्रारम्भिक हो । बायोमेट्रिक र राष्ट्रिय परिचयपत्रको विवरण भिडाउँदा दोहोरिएका नामहरू हट्न सक्ने र दाबी विरोधपछि मात्र अन्तिम नामावली प्रकाशन गरिने उनले बताए । 'यो सफ्टवेयरमा प्रविष्ट भएको प्रारम्भिक डाटा हो, दाबी विरोध र प्रमाणीकरणपछि केही संख्या तलमाथि हुन सक्छ,' गुरुङले भने।

‎प्राप्त तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै मतदाता राजधानी समेत रहेको सुर्खेतमा र सबैभन्दा कम मुगुमा थपिएका छन्। सुर्खेतमा ७ हजार ३ सय ६२ जना नयाँ मतदाता थपिँदा मुगुमा ७ सय ७४ जना मात्र थपिएका छन्।

‎सुर्खेतपछि धेरै मतदाता थपिने जिल्लामा दैलेख परेको छ, जहाँ ३ हजार ६ सय २६ जनाले आफ्नो नाम दर्ता गराएका छन् । यसैगरी, सल्यान र जुम्लामा पनि नयाँ मतदाताको संख्या ३ हजार नाघेको छ। सल्यानमा ३ हजार १ सय ८० जना थपिँदा जुम्लामा ३ हजार ३६ जना नयाँ मतदाता थपिएका छन् । रुकुम पश्चिममा २ हजार ८ सय ४० र जाजरकोटमा २ हजार २ सय १० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

‎प्रदेशका अन्य जिल्लाहरूको तुलनामा हिमाली जिल्लाहरूमा भने मतदाता थपिने संख्या केही कम देखिएको छ । कालीकोटमा १ हजार ७ सय ७६ जना थपिँदा डोल्पामा १ हजार ७ जना नयाँ मतदाता थपिएका छन् । हुम्लामा ८ सय २४ जना नयाँ मतदाता थपिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप