बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
हस्तकलाको बजार

कच्चा पदार्थको करले स्वदेशी हस्तकला महँगो, विदेशी सजावट सामग्रीको राज

बिहीबार, २५ मङ्सिर २०८२, १९ : १३
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • नेपाली हस्तकला सामग्रीको निर्यात सन्तोषजनक देखिए पनि आन्तरिक बजारमा आयातीत सामग्रीको प्रभाव बढ्दो छ।
  • कच्चा पदार्थमा कर बढ्दा स्वदेशी उत्पादन महँगो भएको र विदेशी सस्ता सामग्रीले चुनौती थपेको व्यवसायीको गुनासो छ।
  • सरकारलाई तयारी वस्तुको आयातमा भन्सार दर बढाउन लबिङ भइरहेको र हस्तकला निर्यातमा उतारचढाव देखिएको छ।

काठमाडौँ । नेपाली मौलिक हस्तकला सामग्रीको निर्यात सन्तोषजनक देखिन्छ, तर आन्तरिक बजारमा आयातीत सामग्रीको प्रभाव बढ्दो छ । सरकारले कच्चा पदार्थमा कर बढाउँदा स्वदेशी उत्पादन महँगो भएको व्यवसायीहरु बताउँछन् । 

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनाको तथ्यांक हेर्दा नेपालबाट १ अर्ब ५९ करोड २ लाख २ हजार रुपैयाँ बराबरको हस्तकलाका सामग्री निर्यात भएको छ । यो आँकडा अझै बढ्न सक्ने सम्भावना हुँदाहुँदै पनि स्पष्ट सरकारी नीति र कमसल सामग्रीको आयातमा नियन्त्रण मुख्य कारण रहेको व्यवसायीहरुको भनाइ छ । 

नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष प्रचण्ड शाक्यका अनुसार नेपाली हस्तकलाको आन्तरिक बजारमा विदेशी सस्ता सामग्रीले ठुलो चुनौती थपेको छ । विशेषगरी भारत, चीन लगायत देशबाट आयात हुने सस्ता ‘गिफ्ट आइटम’ र सजावटका सामग्रीसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न चुनौती छ । 

‘हाम्रो उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा कर थपिँदा सामान महँगो पर्न जान्छ, तर बाहिरबाट आउने रेडिमेड सामान सस्तो पर्ने भएकाले आयात बढेको छ,’ शाक्यले भने, ‘यसले गर्दा स्वदेशी रोजगारी र सीप संकटमा पर्ने डर छ । यसलाई निरुत्साहित गर्न र स्वदेशी रोजगारी जोगाउन हामीले सरकारसँग तयारी वस्तुको आयातमा भन्सार दर बढाउन लबिङ गरिरहेका छौँ ।’

आन्तरिक बजारमा वार्षिक करिब १० अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामान खपत हुने महासंघको भनाइ छ । तर यसको ठुलो हिस्सा अहिले आयातीत सस्ता प्लास्टिक र मेसिनबाट उत्पादित वस्तुले खोस्न थालेको व्यवसायीहरूको गुनासो छ ।

कच्चा पदार्थमा करले वस्तु महँगो

सरकारले विगत २–३ वर्षदेखि हस्तकलाका कच्चा पदार्थ आयातमा दिँदै आएको भन्सार छुट हटाएकाले  नेपाली उत्पादनको लागत बढाएको छ । निवर्तमान अध्यक्ष शाक्यका अनुसार विशेषगरी फेल्टजन्य सामग्री बनाउन नेदरल्याण्ड्स लगायतका देशबाट ल्याइने ऊनमा पहिले करिब ३ प्रतिशत (न्यूनतम) भन्सार लाग्ने गरेकोमा अहिले करको दायरा बढाइएको छ ।

‘कच्चा पदार्थमा भन्सार छुट हटाउँदा निर्यातजन्य सामग्रीको उत्पादन लागत स्वाभाविक रूपमा महँगो पर्न गएको छ,’ शाक्यले भने, ‘यद्यपि, युरोपमा मागमा केही कमी देखिए पनि समग्र निर्यातको तथ्यांक हेर्दा बजार भने बढेको देखिन्छ । नेपालबाट ४२ विधामा हस्तकलाका सामग्री निर्यात हुने गरेका छन् ।’

hastakala_mela_3_6SMhUvmduX

चालु आर्थिक वर्षको चार महिनामा मात्रै सबैभन्दा धेरै ८२ करोड ४० लाख ७७ हजार रुपैयाँ बराबरको   निर्यात भएको छ । नेपालबाट निर्यात हुने विभिन्न विधाका हस्तकला सामग्रीमध्ये सबैभन्दा ठुलो हिस्सा फेल्टले ओगटेको छ ।
 
वार्षिक करिब ५ अर्ब रुपैयाँ बराबरको फेल्टजन्य सामग्री विदेश निर्यात भइरहेको र यसमा महिला कामदारको सहभागिता उच्च रहेको शाक्यले बताए । विदेशमा क्रिसमस सजावट, गिफ्ट आइटम, कार्पेट र बिरालो बस्ने घर जस्ता फेल्टका वस्तुहरूको उच्च माग छ ।
चार महिनाको अवधिमा कुन वस्तु कति निर्यात भए ? 
 
महासंघका अनुसार चालु आवको चार महिनामा फेल्टपछि सबैभन्दा बढी धातुका सामग्री २८ करोड ११ लाख र पोतेमालाका सामग्री  ९ करोड ३८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यस्तै, ऊनका सामान ८ करोड १७ लाख, कागजका सामग्री ६ करोड ६० लाख, र पस्मिना ८५ लाख ५४ हजार रुपैयाँको निर्यात भएको छ । यद्यपि, काष्ठकला, सिसाका सामान र चित्रकलाजस्ता परम्परागत विधाको निर्यात भने तुलनात्मक रूपमा कम देखिएको छ ।

कुन वर्ष कति निर्यात ?

Import Goods
 स्रोतः  नेपाल हस्तकला महासंघ

विगत पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा हस्तकला निर्यातमा उतारचढाव देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा उच्च ४ अर्ब ७२ करोड रुपैयाँको निर्यात भएको थियो भने त्यसयताका वर्षहरूमा केही गिरावट आएको देखिन्छ ।

पाँच वर्षको निर्यातको यस्तो छ तथ्यांक 

आर्थिक वर्ष     निर्यात मूल्य (रुपैयाँ)
२०७७/७८    ४ अर्ब ३३ करोड ५६ लाख ७४ हजार ७ रुपैयाँ
२०७८/७९    ४ अर्ब ४० करोड ४४ लाख ८० हजार २५४ रुपैयाँ 
२०७९/८०    ४ अर्ब ७२ करोड ५७ लाख ८६ हजार ३७१.५०
२०८०/८१    ४ अर्ब २३ करोड ५६ लाख ३२ हजार ४६२.५२
२०८१/८२    ४  अर्ब ११ करोड ९३ लाख १ हजार ८.७९
कुल (पाँच वर्षको)    २१ अर्ब ८२ करोड ८ लाख ७४ हजार १०४

स्रोतः  नेपाल हस्तकला महासंघ

महासंघका अनुसार पाँच वर्षमा कुल २१ अर्ब ८२ करोड भन्दा बढीको हस्तकला सामग्री निर्यात भएको छ । यी सामग्री अमेरिका, बेलायत, जर्मनी, चीन, भारतलगायत ६० भन्दा बढी देशमा नेपाली हस्तकला पुग्ने गरेको छ । नेपालको कुल निर्यातमा यो क्षेत्रको योगदान करिब ६ प्रतिशत रहेको छ ।

निर्यातको यकिन तथ्यांकका विषयमा भने भन्सार विभाग र महासंघको तथ्यांकमा केही भिन्नता हुने गरेको पाइएको छ । कार्गो, कुरियर र स्थलमार्ग हुँदै विभिन्न बाटोबाट सामान जाने भएकाले सरकारी तथ्यांकमा सबै विवरण नदेखिने गरेको शाक्यको भनाइ छ । उद्योग मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक र महासंघले राख्ने हिसाबमा प्रक्रियागत कारणले केही फरक पर्ने गरेको छ ।

करिब ११ लाख व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको यस क्षेत्रलाई राज्यले कच्चा पदार्थमा सहुलियत दिने र आयातित तयारी वस्तुमा कडाइ गर्ने हो भने व्यापार घाटा कम गर्न ठुलो योगदान पुग्ने व्यवसायीको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप