बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अबको शिक्षा प्रविधि र एआईसँग जोडिनुपर्छ : मुख्यमन्त्री बानियाँ

शुक्रबार, २६ मङ्सिर २०८२, १७ : ३१
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • मुख्यमन्त्री बानियाँले परम्परागत शिक्षाले बेरोजगार उत्पादन गरेको बताए, प्रविधि र सीपमा जोड दिनुपर्ने धारणा राखे।
  • बागमती प्रदेश सरकारले 'गरी खाने' शिक्षा नीति लागु गर्ने र विश्वविद्यालय अन्तर्गतका कलेजहरूसँगको सम्झौता गरेको छ।
  • ५ वटा सामुदायिक क्याम्पससँग सम्झौता गर्दै उच्च शिक्षालाई व्यवस्थित, गुणस्तरीय र पहुँचयोग्य बनाउने उद्देश्य लिएको छ।

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले परम्परागत शिक्षा प्रणालीले बेरोजगार मात्र उत्पादन गरेको बताएका छन् । उनले अबको शिक्षालाई प्रविधि र सीपसँग जोड्नुपर्ने बताए ।

बागमती प्रदेश विश्वविद्यालय अन्तर्गतका आङ्गिक कलेजहरूसँगको सम्झौता कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विगतको शिक्षा प्रणालीले बढी मात्रामा अप्राविधिक जनशक्ति उत्पादन गरेको टिप्पणी गरे । प्रदेश सरकारले अब ‘गरी खाने’ शिक्षा नीति लागु गर्न चाहेको उनले स्पष्ट पारे ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पसहरू बागमती विश्वविद्यालयमा समायोजन हुँदा कतिपयमा संशय देखिएको भन्दै उनले आत्मीयता बढाउन आग्रह गरे । उनले विगतमा अभिभावकविहीन बच्चा जस्तो अवस्थामा रहेका शैक्षिक संस्थाहरूलाई अब प्रदेश सरकारले आफ्नो अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘बेरोजगार उत्पादन गर्ने शिक्षाको अब काम छैन । २१ औँ शताब्दी र एआईको जमानामा शिक्षालाई प्रविधि, सीप र तालिमसँग जोडेर जीवनयापन गर्न सकिने बनाउनुपर्छ ।’ उनले भने– ‘मुटु माथि ढुङ्गा राख्नु प¥या छ भने जस्तो होइन, हृदयभित्र मुटु राखेर काम गरौँ । तपाईंहरु (आङ्गिक कलेज) अब बागमती प्रदेश विश्वविद्यालयको अङ्ग हुनुभएको छ । हामी अभिभावकको भूमिकामा छौँ । जसरी बुवा आमाले छोराछोरी बिग्रिन नदिन प्रत्यक्ष रेखदेख गर्छन् । त्यसरी नै प्रदेश सरकारले विश्वविद्यालय र यसका आङ्गिक कलेजहरूलाई सबल र सक्षम बनाउन निगरानी र सहयोग गर्नेछ ।’

मुख्यमन्त्री बानियाँले विद्यार्थीहरूले पढ्दै, सिक्दै र कमाउँदै गर्ने वातावरण सिर्जना गर्न पाठ्यक्रममै परिवर्तन आवश्यक रहेको औँल्याए । बागमती प्रदेशले शिक्षा नीतिमा रोजगार सिर्जना गर्ने र डिजिटलाइज्ड प्रणालीलाई प्राथमिकता दिने उनले बताए । सङ्घीय सरकारले नीति, प्रदेशले विकास र स्थानीय तहले सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । उनले बागमती सरकार स्वास्थ्य, शिक्षा र कृषिलाई प्रविधिसँग जोडेर समग्र विकासको गतिमा अघि बढ्न चाहेको बताए ।

बागमती विश्वविद्यालयले हाल ५ वटा कलेजलाई आङ्गिक कलेजका रूपमा अगाडि बढाएको र हेटौँडाको हकमा प्रक्रिया चलिरहेको जानकारी उनले बताए । उनले विश्वविद्यालय नेतृत्वलाई अनुभवी र प्राविधिक पक्षलाई समेटेर अघि बढ्न निर्देशन समेत दिए ।

samhauta

५ वटा सामुदायिक क्याम्पससँग सम्झौता

बागमती विश्वविद्यालयले आफ्नो शैक्षिक संरचना सञ्चालनका लागि प्रदेशभित्रका ५ वटा सामुदायिक क्याम्पसहरूसँग समायोजन सम्झौता गरेको छ । मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा क्याम्पसहरूसँग सम्झौता गरिएको हो ।

प्रदेशको उच्च शिक्षालाई थप व्यवस्थित, गुणस्तरीय र पहुँचयोग्य बनाउने उद्देश्यका साथ विश्वविद्यालयले विभिन्न जिल्लामा सञ्चालित प्रतिष्ठित क्याम्पसहरूलाई आफ्नो आङ्गिक क्याम्पसको रूपमा अगाडि बढाउने निर्णय गरे अनुसार सम्झौता गरिएको हो ।

उक्त कार्यक्रममा मुख्यमन्त्री बानियाँको उपस्थितिमा विश्वविद्यालय र सम्बन्धित क्याम्पसका प्रमुखहरूबिच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । जसअनुसार भवानीशंकर बहुमुखी कलेज, जनमैत्री बहुमुखी कलेज, कपन बहुमुखी क्याम्पस, चैतन्य बहुमुखी क्याम्पस र माडी क्याम्पससँग विश्वविद्यालयले सम्झौता गरेको हो । सो सम्झौतासँगै उक्त क्याम्पसहरूमा बागमती प्रदेश विश्वविद्यालयको नीति नियम र पाठ्यक्रम अन्तर्गत सञ्चालन हुने प्रक्रिया अघि बढ्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप