एमालेमा बोल्नै पाइँदैन भन्ने गलत भाष्य खारेज भयो : राजेन्द्र गौतम
सारांश
- नेकपा एमालेको महाधिवेशनमा उम्मेदवारी मनोनयन फारम खरिद, भर्ने र दर्ता गर्ने कार्य जारी छ ।
- अध्यक्षको उम्मेदवारीका लागि १५ हजार र पदाधिकारीका लागि १० हजार रुपैयाँ दस्तुर तोकिएको छ ।
- महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने तालिका रहेको छ।
काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको तेस्रो दिन बिहान साढे ९ बजेदेखि उम्मेदवारी मनोनयन फारम खरिद गर्ने, भर्ने र दर्ता गर्ने कार्य जारी रहेको बताए ।
उनका अनुसार २ हजार २ सय ६३ प्रतिनिधिहरूमध्ये हजारौँले उम्मेदवारी मनोनयन फारम हातमा लिएर बसेका छन् र दर्ता प्रक्रिया चलिरहेको छ । प्रतिनिधिहरूले अत्यन्त उत्साहका साथ लोकतान्त्रिक विधि र पद्धतिलाई आत्मसात् गरेको उनको भनाइ छ । निर्वाचनलाई लोकतन्त्रको अन्तिम र उत्तम विकल्पको रूपमा महसुस गर्दै जबजको भावना अनुरूप सबै सहभागी भएको उनले दाबी गरे ।
एमालेमा बोल्नै पाइँदैन वा कुरा राख्नै पाइँदैन भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै गौतमले जारी निर्वाचन प्रक्रिया र देखिएको उत्साहले त्यसलाई सिधै खारेज गरिदिएको जिकिर गरे । यसले एमालेले उन्नत स्तरको लोकतान्त्रिक विधि आत्मसात् गर्छ भन्ने पुष्टि भएको उनको तर्क छ । दिउँसो ३ बजेपछि भरिएका फारमहरू दर्ता गर्ने प्रक्रिया सुरु हुने उनले जानकारी दिए ।
अध्यक्षको उम्मेदवारी दिनेले फारम बापत एक सय रुपैयाँ र उम्मेदवारी दस्तुर बापत १५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । त्यसैगरी पदाधिकारीका उम्मेदवारले १० हजार रुपैयाँ र केन्द्रीय कमिटीका सदस्यले ५ हजार रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था छ ।
दस्तुर महँगो भएको गुनासोबारे बोल्दै उनले भव्य महाधिवेशन सम्पन्न गर्नका लागि यसलाई योगदानका रूपमा लिनुपर्ने बताए । संवैधानिक निर्वाचन आयोगले महाधिवेशनको हलमै सुनाएर र सबैले स्वीकार गरेर यो दस्तुर तोकिएको उनले स्पष्ट पारे । उम्मेदवारी दर्ता र फारम भर्ने काम सक्रियतापूर्वक जारी रहेको र अन्तिम नामावली तथा प्रतिस्पर्धाको विषय पछि टुङ्गो लाग्ने उनले बताए ।
नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज उम्मेदवारीसँग सम्बन्धित मुख्य कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
निर्वाचन तालिकाअनुसार भोलि मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम छ । एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आइतबारदेखि बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण