बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

ओली क्याम्पमा हलचल : प्रदीपले चित्त दुखाए, विश्वासपात्र कृष्णगोपाल र गोकुलले साथ छोडे

सोमबार, २९ मङ्सिर २०८२, २० : ००
सोमबार, २९ मङ्सिर २०८२

काठमाडौँ । नेकपा एमालेको भावी नेतृत्व छनोटको पूर्वसन्ध्यामा रोचक मोडमा पुगेको छ । ११औं महाधिवेशनको तेस्रो दिन सोमबार १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय समिति छनोटका लागि उम्मेदवारी मनोनयन दर्ता सकिएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनको तयारी भइरहेको छ । अध्यक्ष पदका लागि केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलै बनाएर उम्मेदवारी दर्ता गरिसकेका छन् ।

ओली प्यानलबाट पाँच उपाध्यक्ष पदमा रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङको नाम राखिएको थियो । ज्ञवाली १०औं महाधिवेशनमा उपमहासचिवमा निर्वाचित भएका थिए । थापा र पौडेल उपाध्यक्षमा निर्वाचित भएका थिए । बराललाई पूर्वउपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि मनोनित गरिएको थियो । महासचिवमा पोखरेल निर्वाचित भएका थिए । तर महासचिव पद नपाएकोमा असन्तुष्ट रहेका उनले ओलीले दिएको पद अस्वीकार गरी केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता गराएका छन् । ओलीले महासचिव पदमा पोखरेललाई नै निरन्तरता दिएपछि ज्ञवालीले चित्त दुःखाएका हुन् । ज्ञवालीले पार्टीभित्र र बाहिर हरेक चुनौतीमा ओलीलाई साथ दिँदै आएका थिए ।

ओलीले तीन जना उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्टलाई ल्याएका छन् । नौ जना सचिवमा पद्मा अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, यामलाल कँडेल, डा. राजन भट्टराई, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल छन् । सचिवमा उम्मेदवारी दिएकामध्ये अर्याल र विश्वकर्मा बाहेक सबै नयाँ अनुहार हुन् । सचिव पदमा उम्मेदवारी दिएका कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री र कार्की कोशी प्रदेशका मुख्यमन्त्री रहेका छन् । अधिकारी गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री र राई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् । भट्टराई ओलीका पूर्वपरराष्ट्र सल्लाहकार हुन् भने ढकाल २०७४ मा ओली प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री रहेका थिए ।

ओलीका विश्वास पात्रले छाडे साथ

आफूहरूले आकांक्षा राखेको पदाधिकारी नबनाएपछि ओलीका विश्वासपात्र कोहीले कित्ता परिवर्तन कोहीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । निवर्तमान ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रहेका रघुजी पन्तले स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यद्यपि पन्तले दुवै पक्षको सल्लाहमा उम्मेदवारी दिएको दाबी गरेका छन् ।

यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ओली प्यानलबाट उपमहासचिव नबनाइएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । ओलीलाई हरेक चुनौतीमा बलियो साथ दिँदै आएका कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाले पनि ओलीको साथ छोडेका छन् । २०७७ सालमा तत्कालीन नेकपाभित्र देखिएको विवादका कारण ओली सरकार अप्ठ्यारोमा पर्दा शिक्षामन्त्री समेत रहेका श्रेष्ठले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन कुनै माइकलालले नसक्ने सार्वजनिक अभिव्यत्ति दिएका थिए । त्यतिबेला ओलीलाई श्रेष्ठले ब्राजिलका सुपरस्टार फुटबल खेलाडी पेलेसँग तुलना गरेका थिए । 

बास्कोटालाई त ओलीको धर्मपुत्रको रुपमा चर्चा गरिन्थ्यो । श्रेष्ठ र बास्कोटा पोखरेल प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका छन् । लालबाबु पदले पनि सचिव पदमा छुट्टै उम्मेदवारी दिएका छन् । संगठन विभाग प्रमुख रहेका काशीनाथ अधिकारी पनि ओलीसँग आक्रोशित भएका छन् । दुवै प्यानलमा नपरेका उनले कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरेकोमा ओलीले अधिकारीमाथि निकै दबाब दिएका थिए । 

अघिल्लो महाधिवेशनमा पूर्वमाओवादी तीन जना नेतालाई पदाधिकारीमा समेटिएकोमा पूर्वसचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेकाले थापा र भट्ट मात्र समेटिएका छन् । सचिव रहेका भट्टलाई उपमहासचिव पदमा बढुवा गरिएको छ । २०७८ सालमा एमाले विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा लागेका रामकुमारी झाँक्री र किसानकुमार श्रेष्ठलाई पदाधिकारी बनाइएको छैन । दुवै पक्षको प्यानलमा नअटेका झाँक्रीले पार्टीले जुन झोला बोकाउँछ, त्यो बोक्न तयार रहेको बताएकी छिन् ।

‘म कुनै पदको बार्गेनिङ गरेर घर फर्किएको होइन । पार्टीले जुन झोला बोकाउँछ, त्यो बोक्न तयार छु’, झाँक्रीले भनिन् ।

२०७४ सालमा ओली प्रधानमन्त्री हुँदा सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता रहेका थिए । पछि उनलाई कानुनमन्त्री बनाइएको थियो । आफूले अपेक्षा गरेको पद नपाएपछि खरेलले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । पोखेरल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपाल, रघुजी पन्त वा टंक कार्कीमध्ये एकलाई समेटिने नेताहरूले बताएका छन् । पाण्डेलाई ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका थिए ।

महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी रहेको छ भने उपमहासचिवमा योगेश भट्टराई, आनन्द पोखरेल र बैजनाथ चौ‍धरीको उम्मेदवारी परेको छ । यस्तै सचिवमा श्रेष्ठ र बास्कोटा  सहित रचना खड्का, कर्ण थापा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी परेको छ । ओली क्याम्पबाट प्रभावशाली नेताहरू बाहिरिएपछि योपटक एमालेको महाधिवेशन रोचक बन्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप