बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

रिमाललाई आउट गरेका योगेशको शक्तिशाली ‘इनिङ’

बिहीबार, ०३ पुस २०८२, १७ : ५२
बिहीबार, ०३ पुस २०८२

सारांश

  • नेकपा एमालेको महाधिवेशनमा केपी शर्मा ओलीको वर्चस्व कायम रह्यो, तर योगेश भट्टराई उपमहासचिवमा निर्वाचित भए।
  • भट्टराईले विष्णु रिमाललाई पराजित गर्दै कार्यकर्ताको मतबाट जित हासिल गरे, र उनले ओलीको प्रशंसा गर्नुको साटो आफ्नो प्यानलप्रति बफादारी देखाए।
  • भट्टराईको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भई मन्त्रीसम्म पुगेको छ, र उनले पार्टीभित्र चेक एन्ड ब्यालेन्सको झिल्को कायम राखे।

विराटनगर । नेकपा एमालेको ११औं महाधिवेशनले फेरि पनि अध्यक्ष केपी शर्मा ओली र उनको समूहको वर्चस्व स्थापित गरको छ । 

१९ सदस्यीय पदाधिकारी टिममा अध्यक्ष ओलीले चाहेका लगभग सबै अनुहारहरू निर्वाचित भए । तर, ओलीको टिमलाई चुनौती दिने दुई नेता (गोकर्ण विष्ट उपाध्यक्षमा र योगेश भट्टराई उपमहासचिवमा) विजयी भए । 
पार्टीभित्रको विपक्षी टिम अर्थात् ईश्वर पोखरेल प्यानलबाट पदाधिकारीमा जित हासिल गर्ने यिनै दुई नेताले एमालेभित्रको फरक मत र प्रतिपक्षी साखलाई जोगाउन सफल भए । रोचक त के छ भने, विष्ट र भट्टराई यसपटकको महाधिवेशनमा ‘टिम ईश्वर’ निर्माणका मुख्य डिजाइनरसमेत थिए । 

महाधिवेशनको सबैभन्दा चर्चा र अर्थपूर्ण नतिजा उपमहासचिव पदमा देखियो । अध्यक्ष ओलीका राजनीतिक सल्लाहकार एवं ‘किचन क्याबिनेट’का सबैभन्दा शक्तिशाली मानिने विष्णु रिमाललाई पछाडि पार्दै योगेश भट्टराई उपमहासचिवमा निर्वाचित भए ।

विगतमा ताप्लेजुङबाट चुनाव लड्ने क्रममा अध्यक्ष ओलीले गएर भाषण गरिदिएको तर पछि सहयोग नगरेको भन्दै उनै विष्णु रिमालले सामाजिक सञ्जालमार्फत योगेशमाथि प्रहार गरेका थिए । नेतृत्वको वरिपरि रहने र शक्ति अभ्यास गर्ने रिमाललाई कार्यकर्ताको मतद्वारा पराजित गर्दै योगेशले ग्रासरुटबाटै जवाफ दिएका छन् । 

१०औँ महाधिवेशनबाट सचिव बनेका भट्टराईले यसपटक उपमहासचिवमा १ हजार ३ सय ४८ मत ल्याएर जित हासिल गरे । तीन जना उपमहासचिव चुनिने एमालेमा उनी तेस्रो नम्बरमा रहँदै पार्टीको पदसोपानमा एक खुड्किलो उक्लिएका छन् । अनेरास्ववियुको पृष्ठभूमिबाट उदाएका भट्टराईले यो जितसँगै आफू नेतृत्वको आशीर्वादले नभई कार्यकर्ताको मायाले स्थापित भएको सन्देश दिएका छन् । 

माधव नेपालले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गरेर एमालेमै रहेका नेताहरूलाई ‘१० भाइ’ भनेर चिनिन्थ्यो । त्यसबेला केपी ओलीले उनलाई ‘बैगुनी केटो’ भनेका थिए । त्यसबेला पनि यो समूहका धेरै नेताहरूलाई ओलीले किनारामा पार्दा गोकर्ण विष्ट र योगेश भट्टराईले भने पार्टीभित्र आफ्नो प्रभाव कायम राखे ।

ईश्वर पोखरेललाई अध्यक्ष र सुरेन्द्र पाण्डेलाई महासचिवमा अघि सारेर बनेको टिमबाट योगेश र गोकर्णले मात्र सफलता हात पारे । जितपछि योगेश भट्टराईले अध्यक्ष ओलीको प्रशंसा गर्नुको साटो आफ्नो प्यानलका नेताहरूप्रति बफादारी देखाएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कमरेड ईश्वर पोखरेल, कमरेड सुरेन्द्र पाण्डे, तपाईंहरूको इमान, निष्ठा र साहसको उच्च सम्मानसहित सलाम गर्दछु । टिमका सम्पूर्ण कमरेडहरूको एकता र सहकार्यप्रति आभारी छु ।’ 

ओलीको एकछत्र राज चलिरहेको बेला सार्वजनिक रूपमै पराजित प्यानलका नेताहरूलाई ‘साहसी र निष्ठावान्’ भन्नुले भट्टराई एमालेभित्र कमजोर होइन, अझ सशक्त र विद्रोही चेतसहित स्थापित भएको प्रस्ट हुन्छ । उनले अगाडि लेखेका छन्, ‘पार्टी सदस्य तथा आम जनसमुदायको निगरानी र परीक्षामा सदा रहिरहने छु ।’ 

समग्रमा ११ औं महाधिवेशनले ओलीलाई शक्तिशाली अध्यक्ष बनाए पनि योगेश भट्टराई र गोकर्ण विष्टको जितले एमालेभित्र ‘चेक एन्ड ब्यालेन्स’को झिल्को भने बाँकी नै रहेको देखाएको छ । 

को हुन् योगेश ?

२०२३ भदौ २१ गते ताप्लेजुङको साँघु (हाल मैवाखोला गाउँपालिका–३) मा आमा महेन्द्रादेवी र बुबा स्व. भीमलालका कान्छा छोराका रूपमा जन्मिएका योगेशमा बाल्यकालदेखि नै विद्रोही स्वभाव थियो । गाउँकै नारायणी निमाविमा ७ कक्षासम्म पढेपछि उनी माध्यमिक शिक्षाका लागि संखुवासभाको मादी मावि पुगे । 

समय २०३६ सालतिर देशमा विद्यार्थी आन्दोलनको रापताप बढ्दै थियो । त्यही रापले किशोरावस्थाका भट्टराईलाई पनि छोयो । २०३७ चैत १४ गते पञ्चायती व्यवस्थाविरुद्ध अनेरास्ववियुले गरेको नेपालकै पहिलो ऐतिहासिक आमहडताल सफल पार्न उनी होमिए । त्यही बिन्दुबाट उनको संगठित राजनीतिक यात्राको श्रीगणेश भयो । 

एसएलसीपछि २०४० सालमा उच्च शिक्षाका लागि काठमाडौँ छिरेका योगेश महेन्द्ररत्न क्याम्पस ताहाचलमा भर्ना भए । पञ्चायती व्यवस्थाको क्रूर समयमा राजनीति गर्नु चानचुने कुरा थिएन । कलिलो उमेरमै राज्यसत्ताको आँखामा परेका उनी १८ वर्षकै उमेरमा काठमाडौँको केन्द्रीय कारागारमा थुनिए । तर, जेल पर्खालले उनको हौसला तोड्न सकेन । 

उल्टै २०४१ सालमा उनी महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा अत्यधिक मतले सभापति निर्वाचित भए । आन्दोलनको मोर्चा सम्हाल्दा सम्हाल्दै उनले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तरसमेत पूरा गरे ।

२०४६ सालको जनआन्दोलनमा योगेश अग्रमोर्चामा थिए । आन्दोलनको तयारी चलिरहँदा फागुन ६ गते राति उनी पक्राउ परे । त्यतिबेलासम्म उनी अखिलको केन्द्रीय सदस्य भइसकेका थिए । संगठनभित्र उनको छलाङ लोभलाग्दो रह्यो । केन्द्रीय सदस्य, कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव, महासचिव हुँदै उनी २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको अध्यक्ष बनेर विद्यार्थी आन्दोलनको नेतृत्व गरे ।

योगेश भट्टराईलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने अर्को महत्त्वपूर्ण मोड २०५५ सालको ‘काठमाडौँ–कालापानी मार्च’ हो । भारतीय सीमा अतिक्रमणविरुद्ध उनले काठमाडौँदेखि दार्चुलाको कालापानीसम्मको ऐतिहासिक मार्चपासको नेतृत्व गरे । 

पूर्व पाँचथरको च्याङ्थापुदेखि सुस्ता, महेशपुर, टनकपुर हुँदै कालापानीसम्मको सीमा सुरक्षा अभियानको अगुवाइ गरेर उनले आफ्नो राष्ट्रवादी छविलाई झन् अग्लो बनाए । एमाले २०५४ सालमा फागुन २१ गते विभाजन भएर बामदेव गौतमको नेतृत्वमा माले पार्टी बन्दा उनी विभाजनकै पक्षमा लागेका थिए । २०५८ सालमा एमाले र माले एकतापछि उनी फेरि एमाले बने । माले बन्दाताका पनि भट्टराई माधव नेपाल, केपी शर्मा ओलीको आलोचक नै थिए । 

२०६२/६३ को जनआन्दोलनमा एमालेको काठमाडौँ उपत्यका कमिटी सचिवका रूपमा उनले आन्दोलनको संयोजन र परिचालनमा ‘कमान्डर’को भूमिका निर्वाह गरे । त्यसको कदरस्वरूप २०६५ फागुनमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भए । 

संसदीय राजनीतिमा भने उनले सुरुमा धक्का खाए । काठमाडौँ क्षेत्र नम्बर ६ बाट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा उनी पराजित भए । तर २०७४ सालको आम निर्वाचनमा गृहजिल्ला ताप्लेजुङ फर्किएर उनले सानदार जित हासिल गरे । त्यसपछि २०७६ साउनमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न सफल भए । 

पुनः २०७९ मंसिर ४ को आम निर्वाचनमा ताप्लेजुङबाटै निर्वाचित भएर उनले आफूलाई जनताको नेताका रूपमा प्रमाणित गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप