तपाईंले मार्खेज, महाश्वेता र चिमामान्डा पढ्नुभएको छ?
सारांश
- गणेश खनियाँले अफ्रिकी र ल्याटिन अमेरिकी साहित्यको अध्ययनमा आनन्द लिन्छन्।
- उनले विभिन्न लेखकहरूका नयाँ किताबहरू पढ्दै आएका छन्, जसमा बुकर विजेता डेभिड स्लाको 'फ्लेश' पनि समावेश छ।
- उनले अफ्रिकी साहित्य, उपनिवेशवाद, र नेपाली साहित्यको अवस्थाबारे आफ्नो विचार व्यक्त गरेका छन्।
सिभिल इन्जिनियरिङमा स्नातक गरेका गणेश खनियाले मानवशास्त्रमा स्नातकोत्तर तथा अंग्रेजी साहित्यमा एम.फिल. गरेका छन्। विकासे काममा झन्डै दुई दशक बिताएका उनी अरबी, अफ्रिकी र ल्याटिन अमेरिकी साहित्यको अध्ययनमा आनन्द मान्छन्।
फाट्टफुट्ट अनुवादकर्म र बेलाखत किताब समीक्षामार्फत पाठकमाझ झुल्किने खनियासँग रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलाका लागि नरेश ज्ञवालीले गरेको कुराकानी:
- तपाईंलाई देख्नेबित्तिकै मेरो मनमा एकाएक अफ्रिकी साहित्यकारहरू आइपुग्छन् र मेरो अघिल्तिर उभिएको यो मान्छे अफ्रिकी साहित्यको बारीक पढाकु हो भन्ने लाग्छ, के मैले गलत बुझेँ?
नरेश भाइ, अफ्रिकी साहित्य यति विशाल छ कि जीवन नै यसैमा समर्पित गर्दा पनि थोरै अंश मात्र छिचोल्न सकिएला। यो भूगोललाई छाम्न थालेको मात्र एक–डेढ दशकमा कति नै पढियो होला र? तर विश्वविद्यालय स्तरमा अझै पनि युरोपेली/अमेरिकी साहित्यको प्रभुत्व रहेको यो समयमा अफ्रिकाका लेखकहरूलाई पढिरहँदा फरक भूगोलका तथा सतहमा कम आएका विषय र सन्दर्भहरूबारे थोरै बुझ्न पाएको छु। त्यसैले त्यसमा आनन्द आउँछ।
_qqXS8dMuMq.jpg)
- हामीले जेनतेन कुराको सुरुवात गरिहाल्यौँ, अब मलाई भन्नुहोस्— तपाईं के पढ्दै हुनुहुन्छ?
अक्सर म एकैचोटि केही किताब सँगै पढिरहेको हुन्छु। नयाँ–पुराना लेखकहरूका नयाँ किताब आइरहेका हुन्छन्। केही पुरस्कारमार्फत केही लेखकहरू हाम्रो नजरमा पर्न थाल्छन्। त्यसरी मेरो स्वाभाविक पठन गति र दिशा मोडिन्छ। अलि पहिले चाडबाडको फुर्सदिलो समयमा विना पुनको ‘कान्छी’ पढिभ्याएको थिएँ। लगत्तै नोबेल विजेता हंगेरीका लेखक लास्ज्लो क्राज्नाहोर्काईका केही फुटकर लेख र अन्तर्वार्ता पढेँ।
उनको उपन्यास ‘वार एन्ड वार’ पढेर उनको लेखनशैली र पद्धतिबारे पनि थोरै बुझेँ। हालै यसपटकका बुकर विजेता डेभिड स्लाएको ‘फ्लेश’ पढिभ्याएँ। अब केही समय यही बुकरको दौडमा सामेल भएका अर्थात् छोटो सूचीमा परेका अरू पाँच लेखकका किताब पढ्ने योजना छ। तीमध्ये क्याटी काटामुराको ‘अडिसन’ त भर्खर पढिसिध्याएँ।
- हामीले माथि अफ्रिकी साहित्यको प्रसङ्गबाट कुराकानी थाल्यौँ, त्यो निकै भेग कुरा भयो। विधागत रूपमा तपाईं त्यहाँको के पढ्दै हुनुहुन्छ र कसलाई पछ्याउँदै हुनुहुन्छ?
खासमा विधागत विभाजनको ठूलो खाडल छ पाठकबीच। आख्यानबाट गैरआख्यानतर्फ जाँदा बौद्धिकताको सोपानमा माथि चढेको ठान्छन् कतिपय साथीहरू। तर राम्रो लेखकले जुन विधामा लेखे पनि उत्कृष्ट सिर्जना गर्छ। मन्टोका कथा मात्र होइन, निबन्ध र फुटकर लेख पनि उत्तिकै शक्तिशाली, काव्यिक र उत्कृष्ट शैलीका छन्। हेमिङ्गवेका युद्ध निबन्धले समेत आख्यानको स्वाद दिन्छन्। पछिल्लो समय त केही लेखकहरू वास्तविक पात्र, ठाउँ र समयकालको प्रयोग गर्छन् आख्यानमा।
विधाभञ्जनको प्रायोगिक लेखनको यो समयमा विधागत सङ्कुचनमा खुम्चिनु असल पाठकको हितमा छैन। मेरो हकमा पनि त्यही लागू हुन्छ। हरेक विधा रुचिले पढिरहेको हुन्छु। तर पनि आख्यानले अलि बढी लठ्ठ्याउँछ मलाई। फरक समाज र भूगोललाई आख्यानको चास्नीमा घोलिएको पढ्दा आनन्द आउँछ, काव्यिक लाग्छ। अफ्रिकी साहित्यको सन्दर्भमा कुरा गर्दा मैले आख्यान नै धेरै पढेको रहेछु। तर कम पढेको विधा चाहिँ नाटक हो है।
मोरक्कोका लेखकद्वय अब्दुल्लाह ताइय र लैला लालामीका उपन्यास अंश र छोटा लेखहरू केही पढेको छु जसमा अरब–अमेरिकी इन्टरफेसका केही पक्षहरू झल्किन्छन्। तर उनीहरूलाई सिंगो किताबमा पढ्ने हुटहुटी कायमै छ मेरो। सोमाली मूलकी वार्सन सायरको एउटा लामो कविता छ— ‘होम’। शरणार्थीहरूको दर्दनाक जिन्दगीको कारुणिक चित्रण हो यो कविता। होम लगायतका उनका धेरै कविताहरू विद्रोहका ज्वारभाटा हुन्। नयाँ–पुराना लेखकलाई समवेत पढिरहेकै हुन्छु। मेरो सानो पुस्तकालयमा रहेका अफ्रिकी किताबमा आधाभन्दा बढी नाइजेरियाली लेखकका किताबहरू छन्।
त्यही भएर अलि बढी त्यहाँका लेखकलाई पढियो होला। चिनुवा अचेवे, चिमामान्डा अदिची, चिगोजी ओवियोमा— यी तीन पुस्ताका आख्यानकारप्रतिको पठन रुचि अझै कम भएको छैन। अफ्रिकाका ३९ नयाँ–पुराना महिला लेखकहरूका कथा तथा उपन्यास अंश सामेल भएको ‘अफ्रिका ३९’ भित्रका केही कथा पढेँ, अरू कथाहरू पनि पढ्दै छु त्यसैबाट।
- अफ्रिका भन्नेबित्तिकै हामीलाई सम्झना हुने भनेकै विश्वको कहालीलाग्दो दास प्रथा र उपनिवेशवाद हो। चिनुवा अचेवेदेखि चिमामान्डा अदिचीसम्म, न्गुगी वा थ्योङ्गोदेखि अब्दुलरज्जाक गुरनाहसम्म सबैले उपनिवेशवाद विरुद्ध कलम चलाएका छन्। अफ्रिकी साहित्य भन्नेबित्तिकै तपाईंको मस्तिष्कमा कुन पात्र र कुन लेखक आइपुग्छ?
त्यसो त अफ्रिकी भूगोलका एउटै लेखक र एउटै पात्रको मात्र प्रभाव सधैँ रहँदैन पाठकमा। विविध समयमा विविध पात्रहरूले प्रभाव पारिरहेका हुन्छन्। अचेवेको ‘थिङ्स फल अपार्ट’ भित्रको ओकोन्को पात्रलाई सायदै पाठकले भुलिजालान्। शारीरिक रूपमा बलवान् यो पात्र विस्तारै समाजको मुखिया चुनिन्छ, आफ्नै गाउँ मात्र होइन, विशाल क्षेत्रमा हैकम जमाउँछ।
तर बाइबल बोकी अफ्रिका छिरेका अंग्रेजहरूले विस्तारै उसको पतनमार्गको चिहान खन्न सुरु गर्छन्। यो दुर्दमनीय पात्रको दर्दनाक अवसानमै उपनिवेशवादका अनेकौँ तानाबाना देख्न/पढ्न सकिन्छ।
चिमामान्डा अदिचीका सबै पात्र सशक्त हुन्छन्। त्यसमा पनि ‘अमेरिकाना’ की इफेमेलुले अफ्रिकी विभेदलाई अहिलेको सन्दर्भमा नयाँ ढङ्गबाट झेलेकी छिन्, प्रतिवाद समेत गरेकी छिन्। एक वर्ष पहिले पढेको जिम्बावेकी लेखिका सिसी डाङ्गारेम्ब्गाको उपन्यास ‘दिस मोर्नेबल बडी’ की ताम्बुजाइ जुझारु पात्र लाग्छ मलाई। लैङ्गिक विभेद, नवउपनिवेशवाद तथा तत्कालीन शासक रोबर्ट मुगावेको क्रान्तिकारिताको अवसान र जिम्बावेको दुर्दशाकी साक्षी बनेकी छिन् यी पात्र।
_qn6P7VHrSs.jpg)
- अफ्रिकी साहित्यमा दक्षिण अफ्रिकी र नाइजेरियाली साहित्यकारहरुकै अलिक बढी प्रभाव देखिन्छ। जस्तै: नादिम गोर्डिमर, एलेक्स ला गुमा, बेसी हेड दक्षिण अफ्रिकाका हुन् भने चिनुवा अचेवे, वोले सोयन्का, चिमामान्डा अदिची, बेन ओक्री नाइजेरियाका हुन्। तर पनि त्यहाँको समाजलाई अफ्रिकाकै सबैभन्दा धेरै अपराध हुने समाजका रूपमा चिनिन्छ। यस्तो किन?
सिर्जना र समृद्धि दुई अलग–अलग पाटा हुन्। उल्लेख्य सङ्ख्यामा कलाकर्मी, लेखक आउँदैमा त्यहाँ अमनचैन, शान्ति र समृद्धि हुँदैन। तपाईंले नाम लिएका नाइजेरिया र दक्षिण अफ्रिकाका यी लेखकहरू आफ्नो समयका कुरूप परिवेश र त्यो परिवेश जन्माउने शासकका निर्ममता र अमानवीयताका द्रष्टा थिए। र, त त्यो निर्मम समयलाई आफ्ना लेखनमार्फत उतारे र ती शासकहरूलाई खबरदारी गरिरहे।
लेखकको काम नै क्रूरतालाई दस्तावेजीकरण गर्नु हो। यही लिखित प्रमाणले पछि विद्रोह र परिवर्तनका लागि मार्ग प्रशस्त गर्छ। ‘आमाको सपना’, ‘विसे नगर्चीको बयान’, ‘गाउँ गाउँबाट उठ’ जस्ता कविता/गीत लेखिएका थिए र त हामीकहाँ आन्दोलनमा परिवर्तनका सिर्जनात्मक सामग्री बनिरहेका छन् अझै पनि। बर्टोल्ट ब्रेख्तको कविता अंश उल्लेख गर्नु सान्दर्भिक हुन्छ यहाँ—
अन्धकार समयमा
गीत गाउन सम्भव होला र?
हो, यस्तो बेला पनि गीत गाइनेछ
अन्धकार समयकै बारेमा।
- तपाईंले नादिम गोर्डिमरलाई कत्तिको पढ्नुभएको छ? र, नेपाली पाठकले पढ्नैपर्ने अफ्रिकी साहित्यकार को–को हुन्?
दक्षिण अफ्रिकाको रङ्गभेदी नीति अवलम्बन गर्ने गोराहरूको शासनविरुद्ध रुथ फस्ट, जो सोल्भो जस्ता बुद्धिजीवी र राजनीतिक अभियन्ता मात्र होइन, उल्लेख्य सङ्ख्यामा लेखक, कलाकार पनि संलग्न थिए। जे. एम. कुट्सी, नादिम गोर्डिमर अग्रपङ्क्तिमा रहेर गोराहरूको रङ्गभेद विरुद्ध लेख्ने/बोल्ने लेखकहरूमा पर्छन्। तर गोर्डिमर मेरो पठन परिदृश्यमा अलिक ढिलै आइन्।
साहित्यतर्फको एम.फिल. गर्नलाई सन् २०१३ मा जब ‘आइसर’ मा दाखिल भएँ, एउटा कोर्स नै अफ्रिका, ल्याटिन तथा मध्य अमेरिकी देशहरूका मानवअधिकारकर्मी, अभियन्ता, कवि, लेखकमा केन्द्रित थियो। त्यति नै बेला नादिम गोर्डिमरबारे थाहा पाएँ। अमेरिकी प्रोफेसर डेबोरा मेरोलाले बडो समभावले यी घटनाहरूको फेहरिस्त सुनाउँथिन्।
त्यतिखेर उनको जीवन, लेखन र रङ्गभेद विरोधी कदमबारे केही थाहा भयो। अलि पछि उनको एउटा गैरआख्यान भेटेँ— ‘लिभिङ इन होप एन्ड हिस्ट्री’। यही सङ्ग्रहको एउटा लेखमा अफ्रिकी लेखकबारे उनले उठाएको एउटा महत्त्वपूर्ण पाटो यस्तो छ, ‘गोराहरूको पैतालामुनि थिचिएको छ अफ्रिकी सिर्जना, जो अफ्रिकीहरूलाई कि त हलिउडको ग्याङस्टार सिनेमामा जसरी देख्न चाहन्छन् वा जोकरझैँ।’
पछि उनका लेखहरूको अर्को मोटो किताब, ‘टेलिङ टाइम्स’ भेटाएँ। सन् १९५० देखि २००८ सम्मका उनका फुटकर लेख छन् यसमा। यसबाट उनको लेखन, दृष्टिकोण, समकालीन र अग्रज लेखक तथा राजनीतिज्ञ एवं उनको विस्तारित सोचबारे अझ बढी बुझ्न सकेँ। तर उनका सिर्जनात्मक आख्यानको आस्वादन भने लिन अझै बाँकी छ।
अफ्रिकी लेखकहरूमा अग्रज तीन नाम छन्— चिनुवा अचेवे, न्गुगी वा थ्योङ्गो अनि वोले सोयन्का। यिनीहरूबाट अफ्रिकामाथिको उपनिवेशवाद र त्यस विरुद्धको लेखनलाई बुझ्न सकिन्छ। बेन ओक्री, तेजु कोल, हेलोन हविला त्यसपछिका लेखक हुन्, जसले नाइजेरिया र अफ्रिकाका बदलिँदा प्रवृत्तिमा टेकेर प्रवासमै रहेर लिखिरहेका छन्। फोटोग्राफीका सौखिन तेजु कोलको लेखन असाध्यै दृश्यात्मक हुन्छ।
चिमामान्डा अदिचीलाई त नपढी धरै छैन। उनका दमदार मन्तव्यहरू युट्युबमा पनि सुन्न सकिन्छ। चिगोजी ओवियोमा पछिल्लो समयका बलिया लेखक हुन्। ‘द फिसरम्यान’ उनको पहिलो उपन्यास हो। नाइजेरियाली गाथालाई इतिहास र मिथकमा घोलेर एकदमै भयानक घटनावली पस्केका छन् उनले। या ज्यासी घानाकी हुन्, उनको ‘होमगोइङ’ पनि अनिवार्य पठन लाग्छ मलाई। घानाकै नयाँ लेखक हुन् कालेव अजुमा नेल्सन। उनको पहिलो उपन्यास हो, ‘ओपन वाटर’। युरोपेलीहरूको नयाँ रङ्गभेदको पर्दाफास गरेका छन् यसमा कालेवले।
सोमालियाका अग्रज लेखक हुन् नुरुद्दिन फराह। उनको डेब्यु उपन्यास हो— ‘फ्रम ए क्रुकिड रिब’। गाउँले केटी इब्लाको पढ्ने चाहना, सानैमा आफूभन्दा धेरै जेठो मान्छेसँगको बिहे, वैवाहिक बलात्कार अनि उनको विद्रोहका अनेक घुम्ती छन् यसमा। इब्सनकी नोराकै नयाँ संस्करण लाग्छ मलाई यी सोमाली पात्र, इब्ला। पाँच दशक पहिलेको सोमाली समाजका विकृतिलाई आख्यानीकरण गर्दा उनले झेलेका बहिष्कार र ‘ब्याकल्यास’ का दर्जनौँ किस्सा छन् यसमा।
क्यारिबियन मूलका दुई लेखकको नाम मिसाउँछु यहींनेर, जसका कथाव्यथा अफ्रिकीहरूसँग एकदमै नजिक छन्। रोक्सान गेको ‘ब्याड फेमिनिस्ट’ र ‘हङ्गर’ र एद्वीच दान्तिकाद्वारा लिखित ‘ब्रदर आई एम डाइङ’ र ‘क्रियट डेन्जरस्ली’— यी दुई गैरआख्यान सम्झेँ यतिखेर। अलग पहिचान र विवशतालाई अवसरमा बदल्ने यी किताबहरूको अध्ययन गरौँ, फरक अस्तित्वमा खित्का छोडेर हाँस्ने र खिसिट्युरी गर्नेहरूलाई त पढाउनै पर्छ। थोरै भए पनि मानवीय बनाउन सकिन्छ कि तिनीहरूलाई?
सँगसँगै के पनि बुझ्न आवश्यक छ भने अफ्रिकासँग पुर्ख्यौली सम्बन्ध रहेका धेरै अमेरिकी लेखकहरू छन्, जसको पठनबाट मात्र यहाँको इतिहास, दास युग, उपनिवेश आदिका अन्तरकुन्तर चियाउन सकिन्छ। जेम्स बाल्डविन, ल्याङ्गस्टन ह्युज, माया एन्जेलो, टोनी मरिसन, पल बिट्टी, ता–नाहिसी कोट्स, कोल्सन ह्वाइटहेड यही लहरका उल्लेख्य नामहरू हुन्।
- किताब र लेखकहरूको कुरा गर्दै गर्दा तपाईं भने किताबको दुनियाँमा कसरी लहसिनुभयो, त्यो सुनौँ न?
प्रसङ्ग सन् ९० तिरको हो। म सिभिल इन्जिनियरिङ पढ्न बंगलादेशको खुल्नामा थिएँ। होस्टेलको बसाइ थियो हाम्रो। बंगाली साथीहरू हरेक साँझ होस्टेलको पुस्तकालयबाट एउटा किताब लिएर कोठामा जान्थे। उनीहरूको पठन–क्षुधा देखेर म त छक्कै परेँ। कोर्सभन्दा बाहिरको किताब नपढ्ने समाजबाट गएको मान्छे म। विस्तारै बंगाली भाषा सिकेँ। कामचलाउ बोल्न, लेख्न जान्ने भएपछि बंगाली गल्प, कहानी पढ्न सुरु गरेँ।
_gHbJONy9hn.jpg)
त्यतिबेला खुब चर्चामा रहेका उपन्यासकार थिए— हुमायून अहमद। स्वैरकाल्पनिक लेखन उनको क्षेत्र। ‘आज हिमुर विहे’, ‘नन्दित नरके’, ‘बहुव्रीहि’, ‘कवि’ आदि उपन्यासबाट मैले बंगाली स्वतन्त्रता संग्राम तथा अन्य परिवेश बुझ्न पाएँ। यस अर्थमा मैले बंगाली पठनबाट नै किताबी संसारमा ‘इन्ट्री’ मारेको हुँ।
नेपाल फर्केर अंग्रेजी साहित्यको अध्ययनतर्फ लहसिएँ भन्दा हुन्छ। त्यसैक्रममा विदेशी किताबसँगको अझ बढी सरसङ्गत सुरु भयो। तर अधिकतर युरोपेली, अमेरिकी लेखकका किताब हुन्थे कोर्समा। मलाई लाग्यो, अन्य भूगोल बहिष्करणमा किन? त्यसपछि खोज्न थालेँ अफ्रिकी र अरबी किताबहरू। विस्तारै अफ्रिकाकै पल्ला भारी हुँदै गयो, मेरो छनोटमा।
- केही वर्षअगाडि तपाईंले इजिप्टकी लेखक नवाल एल सदावीबारे लेखेको एउटा ‘ओबिच्युरी’ पढेको थिएँ। साँच्चि, अरबी साहित्यलाई कत्तिको नियाल्नुभएको छ?
अफ्रिकीहरू युरोपेली उपनिवेशका प्रत्यक्ष सिकार भए, जसका कारण एउटा फाइदा भयो। विरासतै मिल्यो— अंग्रेजी भाषा। त्यसैले अफ्रिकाका अग्रज पुस्तादेखि नै अंग्रेजीमा लेख्नेहरू धेरै छन्। यही कारण हो, त्यहाँको साहित्य सहजै हामीले पढ्न पायौँ। अफ्रिकाको तुलनामा अरबी साहित्य भाषाकै कारण विश्व बजारमा ढिलोगरी आइपुग्यो। नाजिम हिक्मत, महमुद दरविस आदिका केही कविता र छिटपुट लेख भने पढिएको थियो। डेढ दशक भयो अरबी आख्यानका लागि अन्तर्राष्ट्रिय पुरस्कार दिन थालेको। यसलाई अरबी बुकर पुरस्कार पनि भनिन्छ। यो पुरस्कारले अरबी आख्यानको अनुवादको गति बढायो।
सँगसँगै वासाराफी, लिटहब जस्ता डिजिटल प्लेटफर्मले पनि अरबी साहित्यका सामग्रीलाई फैलाउन र सहजै उपलब्ध गराउन सघाए। यस क्रममा मैले केही अग्रज अरबी लेखकहरूलाई चिन्न सकेँ। तपाईंले नाम लिएकी लेखक सदावी साहसी थिइन्। उनी पहिले चिकित्सक थिइन्। बिरामीको उपचारका क्रममा गाउँ–गाउँमा पुग्दा एउटा भयानक सामाजिक रोग फेला पारिन्। धार्मिक अन्धतामा जकडिएको समाजमा महिलाको योनीमाथि पुरुषसत्ताको जबर्दस्त कब्जा रहेछ।
कुमारीत्वको रक्षा गर्ने नाममा अविवाहित महिलाको योनीलाई सिलाएर बन्द गरी राख्ने अनि बिहेपछि मात्र लोग्नेले खोल्ने गरिँदो रहेछ। ‘फिमेल जेनिटल म्युटिलेसन’ का रूपमा चिनिने यो पीडादायी प्रचलनलाई तोड्न आवश्यक ठानिन् सदावीले। त्यसका लागि चिकित्सकीय संलग्नताले नपुग्ने देखेपछि सुरु भयो उनको ‘एक्टिभिजम’। लेख्दै, बोल्दै यो कुसंस्कारको विरोध गर्दा उनी केही वर्ष निर्वासित जीवन बिताउन बाध्य भइन्।
त्यसैले त लैङ्गिक सबलीकरणमा केन्द्रित छन् उनका किताबहरू। उनको उपन्यास ‘वुमन एट पोइन्ट जिरो’ ले इजिप्टको मुस्लिम समाजकी फिर्दौसको जीवनको उतार–चढाव दर्शाउँछ। नमीठो वैवाहिक जीवनबाट भाग्दै जाँदा वेश्यावृत्तिमा जाकिन्छिन्, केही समय सम्मानको जीवन गुजार्छिन्, पछि स्वेच्छाले वेश्यावृत्तिमै लाग्छिन्। यो दुष्चक्रमा महिला उत्पीडन र उहापोहका अनेक पत्र उधिनेकी छिन् सदावीले। सदावीका यस्ता लेखनले के बताउँछ भने उनको आख्यानको जग आममान्छेका भोगाइ नै हुन्छन्, जीवनकै रङ्ग मिसाउँछिन् लेखनमा उनी।
अरबी भूगोलका उपज हुन्— हिसाम मातार। लिबियाका तत्कालीन शासक कर्नेल गद्दाफीको निर्देशनमा उनका बुबा बेपत्ता पारिए, उनी कहिल्यै भेटिएनन्। नभेटिएका बुबाको खोजीमा देश फर्केका मातारले लिबियालाई नै नयाँ ढङ्गले खोजे, गद्दाफीको आततायी शासन व्यवस्थाको जरारेशासम्म बुझे। यही खोजमा तयार भयो उनको संस्मरण— ‘द रिटर्न’। अत्यन्त कोमलभावले लेखिएको भावनात्मक शब्दचित्र हो यो संस्मरण। बाबु–छोराकै सम्बन्धको वरपर छन् उनका अघिल्ला आख्यानहरू, जसको केन्द्रमा राजनीति छ।
‘माई फ्रेन्ड्स’ उनको पछिल्लो उपन्यास हो, जसमा गद्दाफी सत्ताबाट सताइएका परदेशिएका तीन साथीहरूको गाथा समेटिएको छ। मातारको आख्यान लेखन साह्रै कवितात्मक लाग्छ मलाई। अरबी भूगोलबाट लेखन दुनियाँमा हकदावी गरिरहेका समलिङ्गी लेखक जिन जौखदारको ‘द थर्टी नेम्स अफ नाइट’ पढ्ने इच्छा छ अब मेरो।
- अरबी साहित्यको कुरा गर्दै गर्दा मलाई इजिप्टकै अर्की लेखक आदाफ सुएफको प्यालेस्टाइन संलग्नताबारे तपाईंले केही लेखेझैँ लाग्यो। लगातार युद्ध र अमानवीयताको सिकार प्यालेस्टाइनलाई साहित्यमार्फत कत्तिको नियाल्नुभएको छ?
ओहो! तपाईंले त्यो हेर्नुभएको थियो? (लामो हाँसोसहित) सन् २०११ मा इजिप्टको ताहरिर स्क्वायरको १८ दिने आन्दोलनलाई केन्द्रमा राखेर लेखिएको किताब ‘कायरो’ निकै ‘पल्सेटिङ रिड’ लाग्छ मलाई। हामीकहाँ गत भदौमा जसरी नवयुवाहरू जुर्मुराउँदा ओलीराजको अवसान भयो, त्यसरी नै डेढ दशक पहिले इजिप्टमा होस्नी मुबारक सत्ताच्युत बनेका थिए। यसर्थ सुएफको ‘कायरो’ राजनीतिलाई मियो बनाएर लेखिएको एउटा सहर संस्मरण हो।
सुखद संयोग के भने उनलाई सन् २०१७ को जनवरीमा जयपुर साहित्य महोत्सवको एक सत्रमा सुनेको थिएँ मैले। त्यही बेला किताबमा उनको हस्ताक्षर पनि लिएँ। तर सुएफलाई इजिप्टको सरहद र साँधसिमानामा खुम्चाउन मिल्दैन। प्यालेस्टाइन राज्य स्थापनार्थ जारी आन्दोलनकी मुखर आवाज हुन् उनी। उनकै अगुवाइमा हरेक वर्ष प्यालेस्टाइन भूमिमा प्यालेस्टाइन साहित्य महोत्सव हुने गर्थ्यो। सन् २०१७ को त्यही महोत्सवमा संलग्न संसारभरका स्रष्टाहरूको लेख, मन्तव्य, कविताको सँगालो हो— ‘दिस इज नट अ बोर्डर’। प्यालेस्टाइनप्रतिको ऐक्यबद्धताको जीवन्त दस्तावेज हो यो सँगालो।
विस्थापनको पीडामा बाँच्न अभिशप्त प्यालेस्टाइनीबारे स्थलगत अवलोकनका आधारमा लेख्थे— मौरिद बार्गौटी। ‘आई वज वोर्न हियर, आई वज वोर्न देयर’ तथा ‘आइस रमल्लाह’ मा प्यालेस्टाइनी जनताको पीडाको गहिराइलाई निकै गहिरोगरि अनुभूत गर्न सकिन्छ। उनी जुन दिनदेखि आफ्नै देशबाट निष्कासित भए, बार्गौटीले जैतुनको तेल प्रयोग गर्न छाडिदिए। जबकि जैतुन उनीहरूको जीवनको हिस्सा हो। यस्ता अनेक प्रसङ्ग छन् यी संस्मरणहरूमा।
गत वर्ष मात्रै कवि चन्द्र गुरुङले प्यालेस्टाइनी भूमिका कविताहरूको अनुवाद सँगालो ‘जहाँ आमाहरू कहिल्यै निदाउँदैनन्’ प्रकाशित गरे। नयाँ–पुराना कविहरूको मनमथिङ्गल रिंगाउने कविताहरूको यो सङ्कलन पढ्नुहोस्, अरबी भूमिको सिर्जनात्मक प्रतिरोधसँग मुखातिब हुनुहुनेछ।
- तपाईंले ल्याटिन अमेरिकी साहित्यलाई कत्तिको छाम्नुभएको छ? किनभने पाब्लो नेरुदा, मारिया भार्गास लोसा, गेब्रियल गार्सिया मार्खेज, एडवार्डो गालियानोदेखि इसाबेल एलेन्डेसम्म सबैले सशक्त प्रतिरोधी कलम चलाएका छन्, होइन र?
ल्याटिन अमेरिकी भूगोल असाध्यै मौलिक छ लेखनमा, उत्तिकै मलिलो पनि। मार्खेज र लोसाको आंशिक अध्ययनबाट नै त्यहाँको जनजीवनको झाँकी देख्न सकिन्छ। मार्खेजको जादुमय लेखन छ। ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ छिचोल्न नसके पनि ‘लभ इन द टाइम अफ कोलेरा’, ‘मेमोरिज अफ माइ मेलान्कलिक होर्स’ पढ्न समय लाग्दैन। त्यसैबाट थालौँ उनको ‘म्याजिकल राइटिङ’ को पठन।
लोसा प्रचलित मान्यतालाई भत्काएर नयाँ समाज बनाउन सघाउँछन् लेखनबाट। सन् १९७७ मै छापिएको ‘आन्ट जुलिया एन्ड द स्क्रिप्टराइटर’ मा उनकै टिनेज प्रेमको झलक मिसिएको छ। आफ्नै आन्टीसँग पहिलो घरवार गरेका लोसाको यो उपन्यास हामीकहाँ अहिले ‘आन्टी लभर’ गीतमा उत्तालिनेहरूलाई पढ्न विशेष सिफारिस गर्छु।
नेरुदाका केही कविता र संस्मरण मात्रै पढ्दा थाहा लाग्छ, कति बलियोसँग जमिनै यथार्थसँग जोडिएको छ उनको लेखन। जुलियो कोर्ताजारका छोटा कथाहरूमा देखिने अस्वाभाविक ‘ट्विस्ट’ र अन्त्यले त पछिसम्म चक्कराउँछ दिमाग।
होर्हे लुइस बोर्गेस तथा ओक्टाभियो पाजका कविता पढ्दा दर्शन, आत्मालाप र ध्यानस्थ चिन्तनसँग रुबरु भइन्छ। अझ यी सबैका प्रेरणादायी गुरु सर्भान्टिसको ‘दोन किहोते’ पढौँ न, मौलिकता, मिथक र कथावाचनका अनेक आयाम भेटिन्छन् त्यहाँ एकसाथ। तपाईंले नाम लिएकामध्ये गालियानो र एलेन्डेका एकाध किताब त छन् मसँग, तर पढेको भने छैन।
- ल्याटिन अमेरिकी लेखनको क्राफ्टिङ, प्रस्तुति, विषयवस्तु वा अन्य कुनै कुरा जुन मैले भन्न जानिनँ, के चाहिँ सशक्त लाग्छ तपाईंलाई?
यसको केही उल्लेख त अघिल्लो प्रश्नमा पनि गरियो। तर कथावाचन नै मुख्य शक्ति हो ल्याटिन अमेरिकाको। सर्भान्टिसदेखि मार्खेजसम्मलाई नजिकबाट नियाल्नुहोस्, गोचर भइहाल्छ यो पक्ष। कथा तन्काउने तरिका अनि सँगसँगै पाठकलाई बाँधिराख्ने जुक्ति साह्रै लोभलाग्दो पो छ त यो भूगोलको! ‘दोन किहोते’ र ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ पढ्नुभएको छ भने आफैँ चाल पाउनुहुन्छ कथावाचनको सम्मोहन।
मिथकका अनगिन्ती शृङ्खला सलहझैँ आउँछन् कथामा, मनोरञ्जन गराउँदै आदिम इतिहास र सभ्यता तपाईंको समझमा छाउँछ। यस्तो उम्दा कथाकारिता बिरलै भेटिन्छ अन्य भूगोलमा। अनि प्रयोगशीलता यहाँको अर्को काव्यिक अस्त्र हो। कोलम्बियाका एकजना सक्रिय लेखक छन्, जसको नाम हो— हुवाँ गाब्रियल भास्केज। उनले एक अन्तर्वार्तामा भनेका थिए— कोलम्बियामा दुई प्रकारको आतङ्क व्याप्त छ: लागूऔषध कारोबारको आतङ्क र मार्खेजको जादुई यथार्थवादको आतङ्क।
त्यसैले त मार्खेजको लेखन आतङ्कबाट मुक्त भएर लेख्न भास्केज पनि केही वर्ष पेरिसमा रहे र कोलम्बियाली समाजलाई परैबाट नियालिरहे। त्यही देशकी अर्की लेखक छिन्, नाम हो— इन्ग्रिड रोजाज् कोन्ट्रेरास्। कोलम्बियाली सत्ता र फार्क विद्रोहीबीचको लामो लडाइँबाट क्षतविक्षत छ यो देश। अहिले त वामपन्थी सरकार छ तर पनि हिंसाका घटना कम भएका छैनन्।
यस्तोमा मानसिक आघातबाट विक्षिप्त छन् कोलम्बियालीहरू। तिनैमध्येकी हुन् लेखक इन्ग्रिड पनि। लेख्ने क्रममा बस्ने कुर्सीमा उनी घोच्ने खालको एउटा ढुङ्गा राख्छिन् र त्यसैमाथि बसेर लेख्न थाल्छिन्। आघातका आफ्नै असह्य घटनाबाट ध्यान मोड्न यसो गर्छिन्, यसरी नै लेखनबाट सिर्जनात्मक थेरापी पाउँछिन् उनी।
- मेरो मनमा एउटा प्रश्न आइरहेछ, लेखनको त्यस्तो कुन गुह्य कुरा हो, जसका लागि तपाईं अनेक साहित्य पढिरहनुहुन्छ?
मजस्ता निम्न मध्यम वर्गको मान्छेलाई विश्व भ्रमण अर्थात् ‘ग्लोबट्रोटिङ’ को एक मात्र माध्यम हो पठन। मेरो सानो सङ्कलनमा विश्वभरका हरेक देशको कम्तिमा एउटा किताब होस् भन्ने चाहना छ। यसैबाट त्यहाँको परिवेश बुझ्न सकूँ, प्रतिकूलतामा पनि सङ्घर्ष गरिरहेकाहरूको गाथाबाट उत्साहको पुनर्भरण गर्न सकूँ। अनि कुनै न कुनै किसिमले उनीहरूको प्रतिरोधमा एकाकार हुन सकूँ, ऐक्यबद्धता जनाउन सकूँ।
_BtrCWFeHNQ.jpg)
- अहिलेसम्म पढेको साहित्यमा सबैभन्दा बलियो पात्रका बारे तपाईंलाई सोधेँ भने कसको नाम लिनुहुन्छ?
महाश्वेता देवीको ‘हजार चौरासीर माँ’ की आमा पात्र हामीले अनुभूत गर्न सक्ने तहकै शक्तिशाली पात्र हुन्। छोरा नक्सलवादी विद्रोहमा छ, बाउ परम्परावादी र स्त्रीद्वेषी छ। त्यस्तो प्रतिकूलतामा पनि छोरालाई सघाउने पात्र हुन् ती आमा। पति र पुत्रबीचको टकरावमा धेरै परिवारका यस्ता पात्र त्यत्तिकै हराउँछन्। सामाजिक परिवर्तन वा विद्रोहजस्ता व्यापक विषय त उनीहरूको प्राथमिकतामै पर्न छाड्छ।
तर छोराको हत्यापछि यी आमा उसकै सपनालाई साकार रूप दिन सबै सामाजिक तगारा भत्काएर निस्कन्छिन्। यी पात्रको मनोदशा केलाइबस्दा बडो सकस हुन्छ अनि उत्तिकै ऊर्जा पनि मिल्छ विषमतामा अघि बढ्न।
त्यस्तै घानासँग नता जोडिएकी, हाल अमेरिकामा बसोबास गर्दै गरेकी या ज्यासीको उपन्यास छ— ‘होमगोइङ’। यसको एउटा पात्रको नाम छ— एच (H)। बलियो गाँठीको यो पात्र नवउपनिवेशवादको आघात खेप्न बाध्य छ अमेरिकी भूमिमा, जसका पितापुर्खा एटलान्टिक मार्गबाट दासका रूपमा अमेरिका पुगेका थिए। भयानक विवशतामाझ पनि जीवनप्रति आशावादी यो पात्रको प्रभाव साह्रै गाढा छ मेरो मनमस्तिष्कमा।
- अनि लेखक?
चिमामान्डा मलाई प्रभावशाली लाग्छिन्। उनका मन्तव्यहरू पनि सन्देशमूलक र असरदार हुन्छन्। ‘डेन्जर अफ ए सिंगल स्टोरी’ वा ‘वि सुड अल बी फेमिनिस्ट’ ले फैलाएको विमर्श साहित्यको सीमा पार गरेर समाजशास्त्र, राजनीतिशास्त्र र मनोविज्ञानका क्षेत्रमा समेत सन्दर्भ सामग्री बनेको छ। उनकै ‘अमेरिकाना’ उपन्यासले पुँजीवादी र भूमण्डलीकरणको समयमा नयाँ ढङ्गबाट कसरी रङ्गभेदको खेल खेलिएको छ, सतहमा ल्याएको छ।
जसरी अचेवेले अफ्रिकी भूगोललाई विश्व पाठकमञ्चमा सगर्व प्रस्तुत गरे, चिमामान्डाले त्यही विमर्शलाई नयाँ चुनौतीमाझ नयाँ बिम्बसहित अगाडि बढाइरहेकी छिन्। र त अरू धेरै लेखकहरू अफ्रिकाका अनेक घटनावलीलाई लेखनमा उतारिरहेका छन्— नयाँ कोणबाट, नयाँ दृष्टिसहित।
- अफ्रिकी साहित्यमा उपनिवेशवाद र दास प्रथा विरुद्धको रोष तथा विद्रोह जुन स्तरमा छाम्न पाइन्छ, त्यसैगरी नेपालका आन्दोलनहरूलाई साहित्यमा छाम्न पाएजस्तो लाग्दैन किन? हामी के विषयमा कमजोर रहेछौँ त?
रुडयार्ड किप्लिङ, जोसेफ कोन्राडजस्ता युरोपेली लेखकले अफ्रिकाबारे प्रशस्त भ्रम छरे, युरोपेली उपनिवेशवादलाई अफ्रिकीको हितमा, अझ भनौँ, उनीहरूलाई सभ्य बनाउन गरिएको पुनित कार्यका रूपमा प्रशंसा गरे। जब अचेवे, वोले सोयन्का, न्गुगी वा थ्योङ्गो जस्ता लेखकहरूले अंग्रेजीमै लेखेर युरोपेलीको भित्री मनसायलाई उजागर गरिदिए, त्यसपछि मात्र ‘राइटिङ ब्याक’ को नयाँ लहर सुरु भयो। उनीहरूको पदचाप पछ्याउँदै अरू धेरै लेखकहरूले उपनिवेशवाद र दासप्रथाका अनेक आयामबारे लेखिरहे।
अब जोडौँ हामीकहाँको स्थिति। प्रकट रूपमा उपनिवेश नरहे पनि अनुसन्धानकर्ता बलबहादुर थापाले उनको एक शोधपत्रमा औँल्याएजस्तो नेपाल कहिल्यै पूर्ण स्वतन्त्र पनि त छैन। बाहिरी हस्तक्षेपका अनेक तिकडमबाट यहाँको राज्यले आफ्नै विवेकले निर्णय गरेको कहिल्यै भेटिन्न। चाहे सत्ता राणाशाहीको पालामा होस् वा राजाशाहीको। चाहे सत्ता दक्षिणपन्थीको हातमा होस् वा लोकतान्त्रिक वा अन्यको।
यही परिवेशमा पनि लामो समयदेखि नेपाली लेखनले यहाँको विविधताको परख नै गर्न सकेको देखिएन। महेन्द्रमालाको ‘एउटै भाषा, एउटै भेष’ मा प्रशस्त सिर्जनात्मक शक्ति खर्च भएको पनि सत्य हो। अपवादका केही नामहरू छाडेर भन्ने हो भने पञ्चायती सत्ताको खातिरदारीमा सिर्जनात्मक विद्रोहको स्वर साह्रै मसिनो सुनिन्थ्यो।
नेपाली लेखनको गोरेटो खनिएको त लामै भयो, तर फराकिलो राजमार्ग नबनिसकेको चाहिँ सही हो। तर यो कालखण्डमा पनि केही स्तरीय साहित्य लेखिएका छन्। किटानै गरी भन्नुपर्दा मलाई शङ्कर लामिछाने, भूपि शेरचन, ध.च. गोतामे, जगदीश शम्शेर राणा, प्रेमा शाह, वानिरा गिरी, कृष्णभूषण बल, नारायण ढकाल, गोविन्द वर्तमान, कुमार नगरकोटी, आन्विका गिरी, स्वप्निल स्मृति, रमेश सायन, एलिसा एकलास विशेष लाग्छन्। कोही प्रयोग, कथावाचन र प्रस्तुतिका हिसाबले अनि कोही वजनदार विषयचयनका हिसाबले। नेपाली साहित्यको सामर्थ्य राम्रै झल्किने अरू केही नामहरू थप्न सकिन्छ।
राजशाहीको अन्त्यपछि लोकतान्त्रिक परिवेशमा बहुस्वरात्मक साहित्यको अनुगुञ्जन सुरु भयो। आदिवासी, दलित, लैङ्गिक जस्ता निसास्सिएका आवाजको प्रस्फुटन त भयो, तिनमा मौलिकता पनि देखिए तर ती सिर्जनाका आफ्नै सीमा रहे। उच्चाटलाग्दो आवाजमा कलात्मकता कम देखियो। कविता होस् वा आख्यान, एकै खालका स्वरहरू धेरै सुनिए। उही बिम्ब, उही मिथकको पुनरावृत्तिले विविधता ओझेल पर्यो। कतिपय भूगोलका गाथाहरू अझै समेटिएकै छैनन् हाम्रो लेखनमा।
सुदूरपश्चिम, मधेस, कर्णालीका गाथा भोक्ताहरूकै अनुभूतिमा अभिव्यक्त हुन अझै बाँकी छ। अहिलेसम्म द्रष्टाहरूकै नजरबाट लेखिए, अबको अपेक्षा हो— ती भूगोलका आफ्नै अचेवे र अदिचीले लेखून् आफ्ना गाथा, आफ्नै स्वरमा, आफ्नै भोगाइसहित। अब त नेपाली किताबहरूको अंग्रेजी अनुवादले पनि गति समातेको छ। आशा गरौँ, विस्तारै हाम्रा गहकिला सिर्जनाहरूले विश्वमञ्चमा समेत विमर्शको ढोका खोल्नेछन्।
_kqDPiJ1aWH.jpg)
- अन्त्यमा, मानिसले किताब किन पढ्नुपर्छ भनी तपाईंका विचार जान्न चाहन्छु म।
किन पढ्ने? यो सवालमा उत्तर पनि बदलिरहेको पाएको छु मैले। आफ्नै अनुभव साझा गर्दा ज्यादा न्यायिक होला। जतिखेर चितवनमा आई.एस्सी. पढ्दै थिएँ, त्यतिबेला उपलब्ध साहित्यिक म्यागेजिन ‘गरिमा’ र ‘मधुपर्क’ अनि सिने म्यागेजिन ‘दिनमान’ र ‘मायापुरी’ ले विज्ञानका सूत्र र सिद्धान्तबाट क्षणिक मुक्ति दिन्थे। मनोरञ्जनबाट सुरु भएको मेरो पठन विस्तारै अर्को उद्देश्यतिर मोडियो।
बंगलादेशमा इन्जिनियरिङ पढ्दै गर्दा बंगाली साहित्यमार्फत त्यहाँको समाज, राजनीति, विश्व परिवेशबारे थोरै बुझ्न थालेँ। त्यसैबाट विस्तारै विश्व साहित्यको अध्ययनको मार्ग खुल्यो। सीमान्तकृत, सबाल्टर्नका विषयहरू पनि साहित्यमा समेटिएको पाएपछि त्यस्ता किताबहरू खोज्न थालेँ। यही खोजीमा अफ्रिकी भूगोल मेरो प्राथमिकतामा पर्दै गयो। नेपाली समाजका विविधता र बहुस्वर पनि रोजाइमा पर्न थाले।
यस अर्थमा अब विविधताको खोजी हुन थाल्यो अध्ययनमा। उपेक्षित वर्गको जुत्ता लगाएर उनीहरूका सकस र सीमा बुझ्ने आधार बन्दै गयो अब पठन। कश्मीर, प्यालेस्टाइन, बलुचिस्तान, हाम्रो मधेस, थरुहटलाई मूलधारको भाष्यभन्दा फरक गरी परख गर्ने आधारशिला बन्दै गयो क्रमागत रूपमा। त्यसैले विचार र बुझाइको क्षितिज फराकिलो पार्नु नै होला पढाइको उद्देश्य।
- समय दिनुभएकोमा तपाईंलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु, तपाईं के भन्न चाहनुहुन्छ?
अधिकांश सन्दर्भ त समेटियो होला कुराकानीमा। किताबबारे कसैले भनेको यो भनाइबाट कुराकानी अन्त्य गरौँ होला— ‘मिटिङमा हुनुहुन्छ भने पनि साथमा एउटा किताब राख्नुहोस्, पहिलो डेटिङमा निस्केको हो भने पनि किताब बोक्नुहोस्, पार्कमा हिँड्दासमेत एउटा किताब नछुटाउनुहोस्। यस्ता अवसरमा किताब पढ्नै पर्छ भन्ने त छैन, तर साथमा रहनु नै काफी हुन्छ। हामी सबैसँग एउटा अतिरिक्त योजना हुनुपर्छ, जुन किताबले पूरा गर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण