बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हुस्सु र तुवाँलोले तराईका विमानस्थल प्रभावित

३ बजेपछि मात्रै सिमरा विमानस्थलमा उडान सुरु
आइतबार, ०६ पुस २०८२, १८ : ००
आइतबार, ०६ पुस २०८२

सारांश

  • हुस्सु र तुवाँलोले ढाकिएका कारण सिमरा र जनकपुर विमानस्थलमा उडानमा समस्या आएको छ।
  • तराईका अधिकांश विमानस्थलहरूमा भिजिबिलिटी कम हुँदा उडानहरू प्रभावित भएका छन्।
  • सिमरा विमानस्थलका प्रमुखका अनुसार भारतबाट आउने प्रदूषित वायुका कारण उडानमा समस्या भएको हो।

बारा । हुस्सु र तुवाँलोले सिमरासहित जनकपुर विमानस्थल ढाकिँदा समयमै उडान हुन समस्या भएको छ ।

हवाई उडानका लागि न्यूनतम २ हजार ५ सय भिजिबिलिटी आवश्यक पर्दछ । आज दिउँसो २ बजेपछि जनकपुर र ३ बजेपछि मात्रै सिमरा विमानस्थलमा हवाई उडान सुरु भएको हो । यसअघि मौसमका कारण शुक्रबार सिमरा विमानस्थलबाट हुने सबै उडान अवरुद्ध भएको थियो भने शनिबार २ बजेपछि मात्रै उडान सुरु भएको थियो । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो १ बजेसम्म तराई र भित्री मधेसका विमानस्थलहरूमा कुनै पनि उडान नभएको जनाएको छ ।

सिमरा र जनकपुरबाहेक नेपालगञ्ज, भैरहवा, विराटनगर र भित्री मधेसको सुर्खेत विमानस्थलमा भिजिबिलिटी कम हुँदा बिहानको कुनै पनि उडान नभएको सिमरा विमानस्थल हवाई उडान, जल तथा मौसम फिल्ड कार्यालयका इन्चार्ज राजु कुमार मिश्राले जनाएका छन् । तराईमा शुक्रबारदेखि हुस्सु, कुहिरोसहित एक्कासि चिसो बढेको छ । 

जल तथा मौसम फिल्ड कार्यालयका इन्चार्ज मिश्राले बिहानैदेखि बाक्लो हुस्सु लागे पनि बेलुका हुँदै गएपछि आकाश बिस्तारै खुल्दै गएको बताएका छन् । उनले तराईमा ३ दिनदेखि लागेको बाक्लो कुहिरो केही दिनमा सफा हुँदै जाने बताए ।

आज बिहान सिमरा र आसपासको क्षेत्रको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियस र अधिकतम तापक्रम १२.२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । 

‘अहिले काठमाडौँ बाहिरको पोखरा विमानस्थलको भिजिबिलिटी ३ हजार छ, अन्य विमानस्थलमा उडान भर्न मिल्ने भिजिबिलिटी छैन,’ मिश्राले भने, ‘तराईमा हुस्सु छ भने पहाडतिर खुला छ ।’ 

सिमरा विमानस्थलका प्रमुख विष्णु प्रसाद अधिकारीले नेपालमा दक्षिणतर्फ भारतबाट आउने प्रदूषित वायुले उडान भर्न समस्या हुने बताएका छन् ।

‘तराईका अधिकांश विमानस्थलहरू भारतसँग सीमा जोडिएको हुनाले दक्षिण–पश्चिमबाट आउने बाक्लो प्रदूषित वायु र हाम्रो आन्तरिक प्रदूषणका कारणले असर गरेको हो,’ विमानस्थल प्रमुख अधिकारीले भने, ‘उत्तरतर्फबाट हावाको बहाव आइदियो भने असर गर्दैन ।’ 

यो वर्ष पुसको पहिलो सातादेखि नै तराईका विमानस्थलमा बाक्लो हुस्सु र कुहिरोका कारण समयमै उडान हुन सकेको छैन । सिमरा विमानस्थल प्रमुख अधिकारीले हिउँदे वर्षा भए मात्रै अहिलेको समस्या समाधान हुने र हवाई उडान सहज हुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप