बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प

मङ्गलबार, ०८ पुस २०८२, १३ : ३०
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकाका लागि अपरिहार्य रहेको दोहोर्याएका छन्।
  • ट्रम्पले ग्रिनल्यान्डका लागि विशेष दूत नियुक्त गरेपछि अमेरिका र डेनमार्कबीच कूटनीतिक विवाद बढेको छ।
  • डेनमार्कले ट्रम्पको कदमलाई सार्वभौमसत्तामाथिको हस्तक्षेप भन्दै अस्वीकार गरेको छ।

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक महत्त्वको टापु ग्रिनल्यान्ड संयुक्त राज्य अमेरिकाका लागि 'अपरिहार्य' रहेको भन्दै आफ्नो पुरानो अडान पुनः दोहोर्‍याएका छन्। 

ह्वाइट हाउस फर्किएलगत्तै ट्रम्पले ग्रिनल्यान्डका लागि विशेष दूत नियुक्त गरेपछि यस विषयले अमेरिका र डेनमार्कबीच गम्भीर कूटनीतिक विवाद निम्त्याएको छ। आइतबार लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीलाई विशेष दूत तोक्दै ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा राख्नुपर्ने बताएका हुन्।

फ्लोरिडाको पाम बिचमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ग्रिनल्यान्डको खनिजभन्दा पनि त्यहाँको राष्ट्रिय सुरक्षा र सामरिक स्थान महत्त्वपूर्ण रहेको जिकिर गरे। ग्रिनल्यान्ड वरपर रुस र चीनको बढ्दो सैन्य उपस्थितिले अमेरिकाको सुरक्षामा चुनौती थपेको उनको तर्क छ। तर, विशेष दूत ल्यान्ड्रीले ग्रिनल्यान्डलाई 'अमेरिकाको एक भाग' बनाउने विवादास्पद अभिव्यक्ति दिएपछि डेनमार्क सरकार आक्रोशित बनेको छ। डेनमार्कले अमेरिकी राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्दै ट्रम्पको कदमलाई सार्वभौमसत्तामाथिको हस्तक्षेप र पूर्ण रूपमा 'अस्वीकार्य' भनेको छ।

यस विषयमा डेनमार्क र ग्रिनल्यान्डका प्रधानमन्त्रीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि देशले अर्को देशलाई विलय गर्न नसक्ने र ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पारेका छन्। युरोपेली सङ्घले पनि डेनमार्कको क्षेत्रीय अखण्डताप्रति ऐक्यबद्धता जनाएको छ। स्थानीय सर्वेक्षण अनुसार ग्रिनल्यान्डका बासिन्दाहरू डेनमार्कबाट स्वतन्त्र हुन चाहे पनि अमेरिकाको हिस्सा बन्न भने पूर्णतः अनिच्छुक देखिएका छन्। 

खनिजको भण्डार, नयाँ ढुवानी मार्ग र सैन्य रणनीतिका हिसाबले अत्यन्त संवेदनशील मानिएको यो क्षेत्रलाई लिएर वासिङ्टन र कोपनहेगनबीचको सम्बन्धमा अहिले ठूलो दरार पैदा भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप