बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

बन्दसूची मिलाउने चटारोमा दलहरू, नाम पढ्दै केपी ओली

बुधबार, ०९ पुस २०८२, १५ : ०९
बुधबार, ०९ पुस २०८२

काठमाडौं । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरुले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका नयाँ र पुराना सबै दल निर्वाचनको तयारीमा जुटेका हुन् । 

पुस १४ भित्र समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउनुपर्ने भएकाले दलहरुको ध्यान अहिले बन्दसूची तयार पार्न र क्लस्टर मिलाउन केन्द्रित छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची पुस १३ र १४ मा र प्रत्यक्षतर्फ माघ ६ गते उम्मेदवार मनोनयनको तालिका बनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभाको निर्वाचनका लागि ९३ दलले समानुपातिकमा रहन निवेदन दिएपछि आयोगले उनीहरुलाई निर्वाचन चिह्न समेत प्रदान गरिसकेको छ ।

आयोगले दलहरूलाई समावेशी समूह मिलाएर पुस १३ र १४ गतेभित्र उम्मेदवारहरुको बन्दसूची पेस गर्ने समय छुट्याएपछि दलहरु त्यसको तयारीमा जुटेका हुन् । कानुनअनुसार समावेशी सूची बनाएर समानुपातिकतर्फको उम्मेदवार छनोट गरी सोही अुनसार बन्दसूची बनाउन आयोगले दलहरुलाई आवश्यक तालिम समेत दिइसकेको जनाएको छ ।

‘दलहरुलाई समानुपातिकतर्फको प्रतिशत निर्धारण एवं जनसङ्ख्याका आधारमा बदलिँदो व्यवस्थाअनुसार क्लस्टर बनाउन सहज होस् भनेर एक किसिमको (ओरेन्टेसन) तालिम दिएका हौं’, निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईको भनाइ छ ।

उनले ९३ वटै दलका दुई-दुई जना नेताहरुलाई आयोगमा बोलाएर त्यस्तो ओरेन्टेसन दिएको जानकारी दिए ।

‘त्यसबाहेक पुस १३ र १४ को सेवा प्रवाहका लागि आयोगको टिम र स्रोतसाधन तयारी अवस्थामा राखिएको छ’, भट्टराईले रातोपाटीसँग भने, ‘दलहरुलाई ओरेन्टेसन दिँदा क्लस्टर मिलाएर शुद्ध सुची आउँछ भन्ने आयोगको अपेक्षा हो ।’ 

के गर्दैछ कांग्रेस ?

नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार बन्न चाहनेहरुको नाम जिल्ला र प्रदेश हुँदै केन्द्रीय कार्यालयमा प्राप्त भइसकेको जनाएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवार बन्न चाहनेहरूको नाम केन्द्रीय कार्यालयमा आइसकेको जानकारी दिए ।

‘आज (बुधबार) पार्टीको कार्यसम्पादन समितिको बैठक बस्दैछ । त्यसले नाम सेलेक्सनका लागि संसदीय बोर्ड बनाउँछ र उम्मेदवार छान्ने मापदण्ड पनि बनाउँछ’, विश्वकर्माले रातोपाटीसँग भने । कांग्रेसले परिपत्र अनुसार क्षेत्रीय समिति, जिल्ला र प्रदेश हुँदै संकलित नाम केन्द्रमा जम्मा गरेको हो ।

बन्दसूची पढ्दै ओली

फागुन २१ मा निर्वाचन मिति घोषणा भएपनि प्रतिनिधिसभा पुनर्स्थापनालाई धेरै महत्त्व दिएको नेकपा एमालेले समेत निर्वाचनको तयारी भित्रभित्रै गरिरहेको छ ।

एमालेले जिल्ला र प्रदेश कमिटीलाई मौखिक निर्देशनमार्फत समानुपातिकका आकांक्षीको नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो । महासचिव शंकर पोखरेलले सोमबार सबै प्रदेश र जिल्ला अध्यक्षहरुलाई फोनमार्फत समानुपातिक सूची पठाउन दिएको निर्देशनअनुसार कतिपय प्रदेशहरुले पठाइसकेको र केहीको आउन बाँकी रहेको बताइएको छ ।

‘कतिपय प्रदेशबाट नामहरु आइसकेका छन्, कतिको बाँकी छ । पुस १० गतेभित्र आएका नाममा सचिवालय बैठक बसेर बन्दसूची तयार हुन्छ’, तत्कालीन एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने । 

एमाले नेताहरुका अनुसार प्रदेश कमिटीहरूले जिल्लासँग एक महिलासहित कम्तीमा तीनजनाको नाम मागेर प्राथमिकता तोक्दै ती नाम केन्द्रमा पठाउने क्रम जारी छ । यसअघि पनि एमालेले सोही प्रक्रिया अपनाएर समानुपातिक उम्मेदवार छनोट गर्दै आएको थियो । त्यसरी आएका नामहरू केन्द्रीय कमिटीमा आएपछि सचिवालयमा छलफल गरेर अन्तिम रुप दिने एमालेको तयारी छ ।  

ईश्वर पक्षको असन्तुष्टि

तर एमालेमा यो पटक पार्टी बैठक नै नबसी र मापदण्ड नै नबनाई समानुपातिक उम्मेदवारको सूची छनोट प्रक्रिया अघि बढाएको भन्दै ईश्वर पोखरेल पक्षले असन्तुष्टि जनाएको छ ।

‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेस गर्नुपर्ने समय नजिक आइसकेको छ । पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन गर्नुपर्ने छ’, पोखरेल पक्षका नेता भनेर चिनिएका उपमहासचिव योगेश भट्टराईले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘महासचिव कमरेड शंकर पोखरेललाई फोनमार्फत यो विषय ध्यानाकर्षण गरेको छु ।’

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले एमालेले आयोगले तोकेको समयसीमाभित्रै बन्दसूची पेस गर्नेगरी तयारी भइरहेको बताए । ‘हामीले आफ्नो तयारी गरिरहेका छौं, समयसीमाभित्र सूची बुझाउँछौं’, आचार्यले भने । 

स्रोतका अनुसार समानुपातिक उम्मेदवारका लागि प्रदेशबाट आएका नामको सूची र क्लस्टरबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्ययन गरिरहेका छन् । 

नेकपाको डेडलाइन- पुस ११

अर्को दल नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका लागि मापदण्ड नै बनाएर पार्टी कमिटीहरुलाई नाम सिफारिस गर्न सर्कुलर जारी गरेको छ । नेकपाले समानुपातिकतर्फ पुस ११ गतेभित्र मापदण्डभित्र रहेर नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । कमिटीहरुले नाम पठाइसकेपछि मुख्य नेताहरु बसेर सूचीलाई अन्तिम रुप दिने नेता बेदुराम भुसालले जानकारी दिए ।

‘नामहरु आउने क्रम जारी छ । सबैतिरबाट आइसकेपछि मुख्य नेता बसेर समानुपातिकको अन्तिम सूची तयार हुन्छ,’ भुसालले भने । 

एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाबाट कम्तीमा २ महिलासहित ४ जना सिफारिस गर्न तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप २ जना सिफारिस गर्न भनिएको छ । त्यस्तै सम्पर्क समन्वय प्रदेशलाई २ महिला २ पुरूष गरी ४ जना, उपत्यका विशेष प्रदेशलाई २ महिला २ पुरूष गरी ४ जना, संविधान तथा प्रचलित कानुनले तोकेबमोजिम महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता, पिछडिएको क्षेत्र, अल्पसंख्यक आदि क्लस्टरलाई ध्यान दिँदै सिफारिस गर्न भनेको छ ।

रास्वपामा उम्मेदवार छान्नै चुनाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत कात्तिक अन्तिम साताबाटै समानुपातिकतर्फको सूचीको गृहकार्य थालेको थियो । रास्वपाले सबै प्रदेशमा समानुपातिकका लागि कार्यतालिका नै बनाएर आवेदनहरु मागेको थियो । सोही अनुसार रास्वपामा ३५२ जनाले उम्मेदवार बन्न इच्छुक रहेर आवेदन दिएको रास्वपाले जनाएको छ ।  

उम्मेदवार छनोट समिति संयोजक विपिनकुमार आचार्यका अनुसार पुस ६ देखि ११ गतेसम्म ‘लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्सिमिटी’ को मापन र प्रारम्भिक चुनाव हुनेछ । त्यसपछि उम्मेदवारहरुको क्षमता परीक्षणपछि पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन हुनेछ । त्यसका लागि ती दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुनेछ । सबै प्रकियापछि पुस १४ गते ११० जनाको अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिने रास्वपाले जनाएको छ ।

राप्रपा, उनेपा र प्रलोपामा के छ तयारी ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नयाँ दलका नेताहरु पनि समानुपातिक सूची तयार पार्ने काममा व्यस्त छ्न् । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार ७७ वटै जिल्ला कमिटीलाई पुस १० गतेभित्र समानुपातिक सूची पठाउन सर्कुलर गरिएकाले त्यसरी आएका नामहरुमा छलफल गरेर आयोगमा बुझाउने तयारीमा पार्टी लागेको छ ।

‘हामीले सबै जिल्लालाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवार बन्नेहरुको नाम तयार पारेर पुस १० भित्र केन्द्रमा पठाउन परिपत्र गरेका छौ’, श्रेष्ठले भने, ‘धेरै जिल्लाबाट आइसकेको छ, केहीको आउने क्रममै छ ।’ उनले समानुपातिकमा नाम पठाउँदा २०६४ सालपछि अवसर पाएकाहरुलाई नसमेट्न परिपत्र गरेको दाबी गरे ।

‘योगदान, सक्रियता, जेनजीको भावना बुझ्ने र लोकप्रियतालाई आधार र प्रमुख उम्मेदवारको मापदण्ड बनाएका छौं’, श्रेष्ठले भने, ‘त्यसरी आएका नामहरु केन्द्रमा छलफल गरेर आयोगले तोकेको समयमा क्लस्टर निर्धारण गरेर ११० जनाको बन्दसूची पठाउँछौं ।’

यस्तै नयाँ दल उज्यालो नेपाल पार्टीले पनि समानुपातिक निर्वाचन प्रणालीतर्फको काम धमाधम भइरहेको जनाएको छ । उनेपाले ११० जनाको नाम छनोट गरेर आयोगमा बुझाउने तयारी गरिरहेको प्रवक्ता डा. राजु थापाले बताए ।

‘हाम्रो पार्टी उज्यालो नेपालले पनि समानुपातिकको काम गरिरहेका छौं’, थापाले भने, ‘एक-दुई दिनमा प्रारम्भिक सूची सार्वजनिक गर्छौं र त्यसपछि बन्दसूची बुझाउँछौं ।’

यो पार्टीले आफ्नै नेटवर्कबाट बन्दसूचीका लागि नाम संकलन गरेको जनाएको छ । ‘सुशासन, समृद्धि र सामाजिक न्यायका लागि हामीसँग जोडिएर काम गर्न चाहनुहुन्छ भनेर उहाँहरुलाई फोन पनि गरेका छौं, त्यसका आधारमा नामहरु आएका छन्’, थापाले भने, ‘आएका नाम सर्टआउट गरेर अन्तिम सूची तयार गर्छौं ।’ उज्यालो नेपालले पार्टीको वेबसाइट र सामाजिक सञ्जालहरुमार्फत समानुपातिकतर्फ उम्मेदवार बन्न चाहनेसँग आवेदन समेत मागेको छ ।

अर्को नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पनि समानुपातिक सूची तयार गरिरहेको जनाएको छ । प्रलोपा अध्यक्ष परिषद्की अध्यक्ष दुर्गा सोवले समानुपातिक उम्मेदवार छनोट गर्न प्राइमरी निर्वाचनबाट गर्ने भनेपनि भर्खर पार्टी एकता भएको, केन्द्रीय समिति गठन लगायत विषयमा ध्यान दिनु परेकाले सम्भव नभएको बताइन् ।

‘तर निर्वाचन आयोगले तोकेको मापदण्ड पूरा गरी बिहीबारसम्म समानुपातिक उम्मेदवार बन्न इच्छुक व्यक्तिहरुको नाम केन्द्रमा पठाउन सर्कुलर पठाइसकेको छ’, उनले भनिन्, ‘जिल्ला नछुटाई पार्टीमा सक्रियता, सम्भाव्यता, निरन्तरता, लोकप्रियता र जेनजीको भावनालाई समेत ख्याल गरी प्रदेशलाई नाम पठाउन भनिएको छ ।’

सोबले सबै प्रदेशले नाम पठाएपछि निर्वाचन परिचालन तथा वार्ता संवाद समितिले त्यसलाई रुजु गरेर गरेर अध्यक्ष परिषद्ले अन्तिम रुप दिनेछ । निर्वाचन परिचालन तथा वार्ता संवाद समितिको संयोजकमा जर्नादन शर्मा रहेका छन् भने सदस्यमा सन्तोष परियार, ओजस्वी भट्टराई र मानुषी यमी भट्टराई छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप