लागुऔषध दुर्व्यसनमा पारिवारिक सञ्जाल नै संलग्न, नियन्त्रणमा चुनौती बढ्दो
सारांश
- कैलालीमा लागुऔषधको कारोबार र प्रयोग बढ्दै गएको छ, जसमा परिवारका सदस्यहरू पनि संलग्न छन्।
- प्रहरीले ब्राउन सुगरसहित महिला र उनका १७ वर्षीय देवरलाई पक्राउ गरेको छ, साथै बर्दियाबाट आएका दुई युवाहरू पनि पक्राउ परेका छन्।
- अधिकारीहरूले लागुऔषध नियन्त्रणका लागि समुदाय र परिवारस्तरबाटै ठूलो अभियान आवश्यक रहेको बताएका छन्।
धनगढी । कैलालीमा नयाँ–नयाँ तरिकाले लागुऔषधको कारोबार र प्रयोग भइरहेको पाइएको छ । फरक–फरक शैलीमा लागुऔषधको कारोबार भइरहेको घटनाले नियन्त्रणमा समेत चुनौती थपिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लामा आमाले छोराका लागि लागुऔषध बोक्ने, भाइले दाइका लागि लागुऔषध ओसारपसार गर्ने घटना प्रकाशमा आइरहेका छन् ।
धनगढी उपमहानगरपालिका–१० का राम मिलन रानाको घरमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचना पाएको प्रहरीले मंगलबार उक्त घरमा छापा मारेको थियो । वडा प्रहरी कार्यालय र लागुऔषध ब्यूरोको संयुक्त टोलीले छापा मार्दा राम मिलनकी २० वर्षीय श्रीमती द्रोपती रानाको साथबाट २ ग्राम १४० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
सोही क्रममा द्रोपतीका १७ वर्षीय देवर महेश राना पनि लागुऔषधसहित पक्राउ परे । उनको साथबाट १४० मिलिग्राम ब्राउन सुगर बरामद भयो । परिवारका सदस्यहरू मिलेर घरमै लागुऔषध राख्नु वा बेच्नुले युवा पुस्ता र पारिवारिक संरचनामा लागुऔषधले पु-याएको क्षतिको भयावह तस्बिर प्रस्तुत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाससिंह विष्टले बताए ।
प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । यसरी परिवारका सदस्यहरू लागुऔषधको दलदलमा फस्नुले समाजभित्र बढ्दो कुलतको जोखिमलाई उजागर गरेको रानाथारु समुदायका अगुवा भानुप्रताप रानाले बताए । उनले पूरै समुदाय नै प्रभावित हुने गरी भइरहेको लागुऔषधको जालोलाई तोड्न प्रत्येक घरमा चेतना आवश्यक रहेको प्रस्ट पारे ।
‘आज एक घरमा यस्तो समस्या देखियो, भोलि अर्को घरमा यस्तो होला । हुँदाहुँदा पूरै समाज लागुऔषधको सिकार बन्न पुग्छ,’ भानुप्रतापले भने, ‘यदि हामीले समाजलाई लागुऔषधबाट बचाउनु छ भने कारोबारीलाई पक्राउमा सघाउने, विक्रीवितरण गर्नबाट रोक लगाउने, समुदायमा लागुऔषधबारे सचेत गराउन जरुरी छ,’ उनले भने ।
उनका अनुसार अहिले लागुऔषध नियन्त्रणका लागि भएका कामहरूले प्रतिफल दिन सकेको अवस्था छैन ।
कैलालीमा प्रहरी प्रशासन, स्थानीय तह, विद्यालयजस्ता निकायले समन्वय गरेर समुदायमा लागुऔषधबारे बुझाउन जरुरी रहेको भानुप्रतापले बताए । लागुऔषध सेवन एक रोगका रूपमा लिएर सोही अनुसार उपचारको खाँचो रहेको उनको भनाइ छ ।
लागुऔषध सेवन गर्नेलाई कारबाही गरेरमात्र यो समस्या नहट्ने भएकाले सबैभन्दा पहिला युवालाई लागुऔषध सेवनबाट टाढा राख्ने वातावरण सिर्जना गर्नुपर्ने भानुप्रतापले बताए । घरसम्मै पुगेको लागुऔषधको जालो हटाउन चुनौती भएकाले सबैले सहकार्य गर्नुपर्ने उनको सुझाव छ ।
सीमा नाकाबाट चलाखीपूर्ण तरिकाले भित्र्याउँदै घर–घरमा लागुऔषध पुग्ने गरेको सरोकारवाला बताउँछन् । टीकापुर नगरपालिका–९ स्थित खक्रोला चेकपोष्ट लागुऔषध तस्करीको मुख्य विन्दुको रूपमा देखिएको छ । सोही चेकपोष्टमा खटिएको प्रहरी टोलीले छिमेकी जिल्ला बर्दियाबाट आएका दुई युवालाई ठुलो परिमाणको खैरो हिरोइनसहित नियन्त्रणमा लियो ।
पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका–४ का २१ वर्षीय राजेश थारु र २३ वर्षीय ईन्द्रबहादुर थारु छन् । उनीहरूको साथबाट २ ग्राम ९०० मिलिग्राम खैरो हिरोइन फेला परेको थियो । सीमा नाकाबाट हुने यस्ता ओसारपसारले लागुऔषधको अन्तर–जिल्ला सञ्जाल निकै बलियो रहेको संकेत गरेको टीकापुरमा लामो समयदेखि लागुऔषध दुर्व्यसनीमा फसेकाहरूलाई नयाँ जीवन दिइरहेका कल्पेश कुँवरले बताए ।
‘लागुऔषधको जालो तोड्न प्रहरी प्रशासनले विशेष निगरानी, विशेष मिसन बनाएर काम गर्नुपर्छ । प्रहरीमात्र नभई समाजका सबै पक्षले यसमा साथ दिनुपर्छ,’ उनले भने ।
प्रहरीका अनुसार कारोबारीहरूले प्रहरीको आँखा छल्न नयाँ–नयाँ उपाय अपनाउने गरेका छन् । टीकापुरकै खक्रोला चेकपोष्टमा लम्कीचुहा नगरपालिका–४, कौवापुरका २६ वर्षीय सुनील मल्ल लागुऔषधका साथ पक्राउ परे । उनी सुदूरपश्चिम प्रदेश ०१–०१० प ८१३५ नम्बरको मोटरसाइकलमा सवार थिए ।
सुरुमा सामान्य देखिए पनि प्रहरीले सुक्ष्म ढंगले मोटरसाइकल जाँच गर्दा सिटभित्र लुकाइएको अवस्थामा २ ग्राम ९८० मिलिग्राम खैरो हिरोइन फेला पा¥यो । मोटरसाइकलसहित मल्ललाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ ।
यी पछिल्ला २४ घण्टाका घटना हुन् । वार्षिक तथ्याङ्क हेर्ने हो भने लागुऔषधको कारोबार बढ्दो छ । अझ सबै घटना प्रहरीभन्दा बाहिर छन्, जसबाट यहाँका युवा लागुऔषधको दलदलमा फसेका छन् ।
कैलालीमा १७ वर्षका किशोरदेखि २६ वर्षसम्मका युवा लागुऔषधको दलदलमा फसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । एकै घरका देवर–भाउजू पक्राउ पर्नुले यो समस्या व्यक्तिगत मात्र नभई सामाजिक समस्या बनिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले बताए । ‘प्रहरीको सक्रियताले कारोबारीहरू पक्राउ परे पनि लागुऔषधको स्रोत र यसको मागलाई नियन्त्रण गर्न समुदाय र परिवारको स्तरबाटै ठुलो अभियान आवश्यक देखिएको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण