बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा लगानीको प्रचुर सम्भावना छ : चन्द्र ढकाल

१० अर्बको कोषबाट ठूला परियोजना सुरु गरिँदै
बुधबार, ०९ पुस २०८२, २१ : १६
बुधबार, ०९ पुस २०८२

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको नकारात्मक भाष्यको विरोध गरे।
  • ढकालले विदेशमा बस्ने नेपालीहरूले नकारात्मकता फैलाएको आरोप लगाए, जसलाई चिर्नुपर्ने आवश्यकता औंल्याए।
  • महासंघले १० अर्बको 'नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड' स्थापना गरेको र आन्तरिक पुँजीबाटै परियोजना सञ्चालन गर्ने जानकारी दिए।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना हुँदाहुँदै नकारात्मक भाष्य खडा गरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौँमा आयोजित पर्यटन सम्बन्धी एक उच्चस्तरीय नीतिगत संवादमा बोल्दै ढकालले यस्तो बताएका हुन्।

ढकालले कतिपयले सामाजिक सञ्जालमार्फत नेपालमा केही सम्भावना छैन भन्दै नकारात्मकता फैलाएको आरोप लगाएका छन्। उनले यस्तो गलत भाष्यलाई चिर्नु अहिलेको मुख्य आवश्यकता रहेकोमा जोड दिए। नेपालकै आन्तरिक पुँजी परिचालन गरेर पनि ठूला आयोजना सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिन महासंघले १० अर्ब रुपैयाँ बराबरको 'नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड' स्थापना गरेको जानकारी उनले दिए।

अध्यक्ष ढकालका अनुसार यो कम्पनीले नयाँ स्टार्टअप र नवप्रवर्तनका क्षेत्रमा लगानी गर्नेछ। १० अर्बको इक्विटीलाई आधार मान्ने हो भने ४० देखि ५० अर्ब बराबरका परियोजना आन्तरिक पुँजीबाटै सञ्चालन गर्न सकिने दाबी उनले गरे। कोरोना महामारीपछि नेपालमा आन्तरिक पर्यटनको क्षेत्र उल्लेखनीय रूपमा फस्टाएको बताउँदै उनले यसले आर्थिक गतिविधिमा नयाँ ऊर्जा थपेको उल्लेख गरे।

नीतिगत संवादका क्रममा ढकालले महिला उद्यमशीलता र समावेशी आर्थिक वृद्धिका लागि महासंघले कानुन र नीतिगत सुधारमा पहल गरिरहेको बताए। पर्यटन क्षेत्रमा होमस्टे, हस्तकला र खाद्य सेवाजस्ता साना तथा मझौला उद्यममार्फत महिलाहरूको योगदान महत्त्वपूर्ण रहेको विषयमा पनि कार्यक्रममा छलफल भएको थियो। एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट, पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा आयोजित उक्त कार्यक्रमले दिगो पर्यटन र महिला सहभागिताका उपायबारे बहस गरेको थियो।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप