बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

शुक्रबार, ११ पुस २०८२, ०० : १०
शुक्रबार, ११ पुस २०८२

सारांश

  • बालाजुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भयो।
  • दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्, उनको उपचार भइरहेको छ।
  • टिपर चालक फरार रहेको र प्रहरीले खोजी गरिरहेको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची घर भई हाल काठमाडौँ वसुन्धरा बस्ने अन्दाजी २१ वर्षीय सागर खड्का रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

उनले भने, “बालाजुदेखि वाइपासतर्फ गइरहेको बा प्र ०१–००६ख ३४५४ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको लु ५९ प ७०६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा गम्भीर घाइते भएका खड्काको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको छ ।”

त्यसैगरी, उक्त दुर्घटनामा परी अर्घाखाँची घर भई हाल काठमाडौँ बालाजु हाइट बस्ने २२ वर्षीय लक्ष्मण राउत गम्भीर घाइते भएको र उहाँको टाउको, दाहिने हात र शरीरका विभिन्न भागमा चोट लागी बोल्न नसक्ने अवस्थामा रहेकाे उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको त्रिवि शिक्षण अस्पताल महारगञ्जमा उपचार भइरहेको तथा मृतक र घाइते दुवै जना मोटरसाइकलमा सवार रहेको खुल्नमा आएको प्रवक्ता सुवेदीले बताउनुभयो । अहिले दुर्घटनामा परी क्षति भएको मोटरसाइकल प्रहरी वृत्त बालाजु र ठक्कर दिने टिपर प्रहरी पहरा गण सामाखुसीको नियन्त्रणमा रहेको तथा टिपर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप