सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

म्याद गुज्रेका मुद्दाका विषयमा परेको प्रतिवेदनमाथि सुनुवाइ गर्न सर्वोच्चको बृहत् पूर्ण इजलासमा पेसी तोकियो

आइतबार, १३ पुस २०८२, १२ : ०५
आइतबार, १३ पुस २०८२

सारांश

  • सर्वोच्च अदालतमा म्याद गुज्रेका मुद्दाका विषयमा सुनुवाइका लागि बृहत् पूर्ण इजलासमा पेसी तोकिएको छ।
  • आगजनीबाट नष्ट भएका मुद्दाका मिसिल प्राप्त भएपछि तारेख थाम्ने म्याद नभएपछि प्रतिवेदन पेश भएको हो।
  • अदालतले मुद्दाका पक्ष, कानुन व्यवसायी र सरोकारवालालाई ६० दिनभित्र कागजात उपलब्ध गराउन आग्रह गरेको छ।

काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा शाखाले म्याद गुज्रेका मुद्दाका विषयमा ‘अडबड’ (अप्ठ्यारो) निकासाको माग गर्दै दिएको प्रतिवेदनमाथि सनुवाइ गर्न सर्वोच्चको बृहत् पूर्ण इजलासमा पेसी तोकिएको छ ।

अदालतका शाखा अधिकृत वालाजीप्रसाद पाण्डेय, शाखा अधिकृत, मुद्दा तथा रिट महाशाखा, सर्वोच्च अदालतको प्रतिवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सर्वोच्चको १९ जना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो । 

पाण्डेयका अनुसार मिसिल प्राप्त गर्ने समय बाँकी भएपनि तारेख थाम्ने म्यादमा कानुनी अड्चन देखिएपछि सो निकासाका लागि प्रतिवेदन उठाएर इजलासमा पेस भएको हो । ६० दिनभित्र कागजातहरू उपलब्ध गराउने समय बाँकी रहेपनि तारेख थाम्ने म्याद अपुग भएपछि प्रतिवेदन उठाएर इजलासमा पेस भएको उनको भनाइ छ । 

भदौ २४ मा भएको आगजनीबाट नष्ट भएको मिसिल प्राप्ति भएपनि तारेख थाम्ने म्याद नभएपछि म्याद गुज्रेका मुद्दाका विषयमा परेको ‘अडबड’ निकासाको माग गर्दै सर्वोच्चको मुद्दा शाखाले प्रतिवेदन उठाएर इजलासमा पेस गरेको हो । यसअघि सर्वोच्च अदालतको फुलकोर्ट बैठकको निर्णयपछि अदालतले एक सार्वजनिक सूचना जारी गर्दै नष्ट भएका मिसिलसँग सम्बन्धित कागजातहरू उपलब्ध गराइदिन मुद्दाका पक्ष, कानुन व्यवसायी तथा सरोकारवाला निकायहरूलाई अनुरोध गरेको थियो ।

भदौ २४ गतेको आन्दोलनमा आगजनी, ढुङ्गामुढा र लुटपाटको घटनामा अदालतमा विचाराधीन र फैसला भइसकेका कैयौँ मुद्दाका मिसिल पूर्ण रूपमा जलेर नष्ट भएका थिए । ती मुद्दाहरूको कारबाही र सुनुवाइ प्रक्रियालाई अगाडि बढाउन अदालतले ६० दिनभित्र सम्बन्धित कागजातहरू उपलब्ध गराउन आग्रह गरेको थियो ।

अदालतले विभिन्न फाँटअनुसार २०८२ श्रावण १९ देखि भाद्र ३० सम्मका मुद्दाका कागजातहरू बुझाउन समयसीमा तोकेको थियो । आगजनीको घटनाले अदालतको भौतिक संरचना र सूचना प्रणालीमा समेत क्षति पुगेका कारण सेवा प्रवाह प्रभावित भएको थियो । सूचनाअनुसार, २०८२ भदौ २४ गतेदेखि कार्तिक ३० गतेसम्मको अवधिलाई शून्य समय मानी गणना नगरिने भनिएको थियो । साथै, मंसिर १ गतेदेखि ३० दिनसम्म हदम्याद, म्याद र तारेख थाम्न सकिने व्यवस्था गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप