मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नागरिक उन्मुक्ति पार्टीले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने

सोमबार, १४ पुस २०८२, १७ : ४६
सोमबार, १४ पुस २०८२

सारांश

  • नागरिक उन्मुक्ति पार्टीले आगामी निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने घोषणा गरेको छ।
  • पार्टीका संरक्षक रेशमलाल चौधरीले समान विचार राख्ने दलहरूसँग गठबन्धन गर्ने बताए।
  • पार्टीले हिमाल, पहाड र तराई सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी उम्मेदवार छनोट गर्ने जनाएको छ।

काठमाडौँ । रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालले आगामी प्रतिनिधि सभा निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ। 

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबार पुगेका पार्टीका संरक्षक चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफ्नो पार्टीले प्रत्यक्षतर्फका सबै क्षेत्रमा उम्मेदवार खडा गर्ने घोषणा गरे। अन्य समान विचार राख्ने दलहरूसँगको गठबन्धनमा सबै क्षेत्र समेट्ने गरी तयारी भइरहेको उनले स्पष्ट पारे।

पार्टीले तयार पारेको समानुपातिक बन्दसूचीमा देशका सबै भूगोल, जाति र समुदायलाई समेटिएको चौधरीले दाबी गरे। ‘हामीले कास्की, पर्वत, लमजुङदेखि रुकुम, रोल्पा, कालिकोट, दैलेख र डोल्पाजस्ता दुर्गम क्षेत्रसम्म पहुँच पुर्‍याएका छौँ,’ उनले भने, ‘नाउपा नेपालले गठबन्धनमार्फत सबै निर्वाचन क्षेत्रमा सशक्त उम्मेदवारी दिनेछ।’ 

चौधरीले हिमाल, पहाड र तराई सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी उम्मेदवार छनोट गरिएको बताए। निर्वाचनको परिणामका बारेमा बोल्दै उनले अन्तिम फैसला मतदाताको हातमा हुने उल्लेख गरे। ‘जनताले कसलाई रोज्छन् भन्ने कुरा उनीहरूको छनोटमा भरपर्छ, हामी आफ्नो एजेन्डासहित जनताको बिचमा जाँदैछौँ,’ उनले थपे। 

नागरिक उन्मुक्ति पार्टीले पछिल्लो समय राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र अशोक राई नेतृत्वको जसपासँग चुनावी तालमेल गर्ने सहमति समेत गरिसकेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप