बिहान कुलमानलाई र्याखर्याख्ती, दिउँसो छुट्टै छलफल
सारांश
- उज्यालो नेपाल पार्टीका सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्ट छन्।
- पार्टी नेतृत्वले केन्द्रीय समितिमा छलफल नगरी रास्वपासँग एकीकरण गरेको र नाम परिवर्तन गरेकोमा असन्तुष्टि जनाइएको छ।
- असन्तुष्ट सदस्यहरूले संरक्षक कुलमान घिसिङलाई निर्णय फिर्ता लिन चेतावनी दिएका छन् र केहीले नाम फिर्ताको माग गरेका छन्।
काठमाडौँ । उज्यालो नेपाल पार्टीका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परेका सदस्यहरू नै समानुपातिक उम्मेदवारको छनोट प्रक्रियाप्रति असन्तुष्ट देखिएका छन् । सोमबार सूचीमा समावेश भएकामध्ये डा. महेन्द्र लावती, तुलसा वाइबा, सोमप्रसाद चौधरी र बालिका चौधरीले सूचीप्रति असन्तुष्टि पोखेका हुन् ।
सोमबार दिउँसो उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिले ११० जनाकै उम्मेदवारको सूची तयार पारेको थियो । तर, उक्त सूची निर्वाचन आयोगमा बुझाउनुअघि नै संरक्षक कुलमान घिसिङ र अध्यक्ष अनुप उपाध्यायले रास्वपासँग गएर सहमति गरेका थिए ।
सो क्रममा उनीहरूले कुलमानलाई दोस्रो वरियतासहित उपसभापति बनाउँदै ११० जनाको समानुपातिक सूचीमा रहेका १८ जनाको नाम रास्वपाको बन्दसूचीमा समावेश गरेर पठाउने सहमति गरेका थिए ।
उक्त सहमति अनुसार उज्यालोले १८ जनाको नाम सार्वजनिक नै गरेको थियो । तर, बन्दसूचीमा आएका नाममा त्यसमा १४ जना मात्रै परेका छन् । उज्यालोको सूचीमा नपरेका डा. राम लामा पनि कुलमानकै सिफारिसमा उम्मेदवार भएको बताइए पनि यसमा विवाद रहेको छ ।
यसरी सहमति गर्ने कुनै पनि निर्णयमा केन्द्रीय समितिमा छलफल वा निर्णय नभएको र एकतर्फी रूपमा पार्टी एकीकरणको सहमति गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् । उनीहरूले फिर्ता लिने चेतावनी समेत संरक्षक कुलमान घिसिङलाई दिएका छन् । लावतीले भने आफ्नो नाम फिर्ता गर्न भनिसकेका छन् ।
मंगलबार बिहान उज्यालोका केही केन्द्रीय सदस्य घिसिङको निवासमा पुगेको थिए । उनीहरूले ‘कुन आधिकारिक निर्णयको आधारमा रास्वपासँग एकीकरणको सहमति गर्नुभयो’ भन्दै कुलमानलाई र्याखर्याख्ती पारेका थिए । तर, कुलमानले चित्तबुझ्दो उत्तर दिन नसकेको पार्टीका एक नेताले बताए ।
दिउँसो असन्तुष्टमध्ये केही केन्द्रीय सदस्यले छुट्टै छलफल समेत गरेका थिए । उनीहरूले पार्टीको नेतृत्वले केन्द्रीय समितिको अपमान गरेको र बुझाएका नाम समेत काटेर रास्वपाले हेपाहा प्रवृत्ति देखाएको निष्कर्ष निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण