बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि विदेशी राष्ट्रहरूसँग कूटनीतिक पहल गर्न मुख्यमन्त्री आचार्यको माग

बुधबार, १६ पुस २०८२, १३ : २५
बुधबार, १६ पुस २०८२

सारांश

  • मुख्यमन्त्री आचार्यले गौतमबुद्ध विमानस्थललाई नियमित सञ्चालन गर्न कूटनीतिक पहल आवश्यक रहेको बताए।
  • उनले संघीय सरकारले विमानस्थल सञ्चालनमा ध्यान दिनुपर्ने र प्रदेश सरकार सहकार्यका लागि तयार रहेको बताए।
  • मुख्यमन्त्री आचार्यले व्यवसायी धरासायी हुन नदिन र पर्यटन प्रवर्द्धनका लागि पहल गर्नुपर्नेमा जोड दिए।

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित रूपमा सञ्चालन गर्न विदेशी राष्ट्रहरूसँग कूटनीतिक सम्बन्धका आधारमा ठोस वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको २७औँ वार्षिकोत्सवका अवसरमा भैरहवामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अन्तर्राष्ट्रिय हवाई उडानलाई नियमित बनाउन विश्व समुदायको विश्वास जित्नुपर्ने र त्यसका लागि कूटनीतिक पहल अपरिहार्य रहेको बताए। संघीय सरकारले यो विमानस्थल सञ्चालनमा अविलम्ब ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले प्रदेश सरकार साझेदारी र समन्वयका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पारे।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अघि सारेका प्रस्तावहरूमा संघीय सरकारले हालसम्म कुनै निर्णय नगरेकोमा असन्तुष्टि व्यक्त गरे। ‘जुन लक्ष्यका साथ यो विमानस्थल बनाइयो, त्यसलाई पूरा गर्न संघीय सरकारसँग माग गर्दछौँ,’ उनले भने, ‘विमानस्थल सञ्चालन नभएकै कारण यहाँका व्यवसायीहरू धरासायी हुने अवस्था आउनु हुँदैन।’ उनले आवश्यक परे प्रदेश सरकार जिम्मेवारी लिन तयार रहेको भन्दै श्रम स्वीकृति कार्यालय स्थापना र स्वास्थ्य जाँचको काम प्रदेशले नै गर्ने प्रस्ताव राखे पनि अधिकार नपाउँदा काम अघि बढ्न नसकेको गुनासो गरे।

विमानस्थललाई परिणाममुखी ढङ्गले सञ्चालन गर्न संघीय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै उनले अन्तर्राष्ट्रियस्तरका ट्राभल एजेन्सीहरूलाई भैरहवा ल्याउन र प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गरे। गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग विमानस्थललाई जोडेर विश्वभर सन्देश पुर्‍याउन सके मात्र पर्यटक आकर्षित हुने र जहाजहरू भरिएर आउने वातावरण बन्ने मुख्यमन्त्री आचार्यको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप