बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

केन्द्रीय सदस्यहरूलाई गगन–विश्वको आश्वासन : पार्टी विभाजन हुनेगरी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व घोषणा हुँदैन

शुक्रबार, १८ पुस २०८२, १३ : ५१
शुक्रबार, १८ पुस २०८२

सारांश

  • गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन हुने गरी विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन नगर्ने बताए।
  • केन्द्रीय सदस्यहरूसँगको भेटमा महामन्त्रीहरूले पार्टी एक बनाउन चाहेको र त्यसका लागि प्रयास गर्ने बताए।
  • पार्टीभित्रको विवाद समाधानका लागि केन्द्रीय सदस्यहरूले दुवै पक्षका नेताहरूसँग भेटघाट गरेका थिए।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन हुने गरी आफूहरूले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रियामा अगाडि नबढ्ने बताएका छन् ।  बिहान आफूहरूलाई भेट्न पुगेका ३० केन्द्रीय सदस्यहरूसँग उनीहरूले आफूहरूको चाहना पनि पार्टी एक रहोस् भन्ने रहेको बताएका हुन् ।

केन्द्रीय सदस्यहरू आङ्गेलु शेर्पा, पुष्पा भुसाल, डा.डिला संग्रौला, उदयशमशेर राणा, राजेन्द्र केसी सहितले शुक्रबार बिहान महाराजगन्जस्थित एक होटलमा महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका थिए ।

त्यो भेटमा सहभागी केन्द्रीय सदस्य शेर्पाले महामन्त्रीहरूले पार्टी विभाजन हुने गरी नयाँ नेतृत्व चयन गरेर अगाडि बढ्ने तयारीमा आफूहरू नरहेको बताएको जानकारी दिए । ‘हामी सँगैको समन्वयमा साथीहरूले विशेष महाधिवेशनको तयारी गरिरहनु भएको छ । त्यसमा राजनीतिक प्रस्तावहरू पेस होलान् । त्यसको तयारी सुरु भएको छ,’ भेटमा महामन्त्रीद्वयको भनाइ उद्धृत गर्दै शेर्पाले रातोपाटीसँग भने, ‘पार्टी विभाजन हुने गरी नयाँ नेतृत्व घोषणा हुन्न । तपाईंहरू ढुक्क हुनुस् । हामी पनि पार्टी एक रहोस् भन्ने चाहन्छौँ । त्यसका लागि प्रयास हुन्छ ।’

भेटमा केन्द्रीय सदस्यहरूसँग महामन्त्री थापाले पार्टी नेतृत्व र संस्थापनले आफूहरूसँग समन्वय नगरी आफ्नो गुटमा छलफल गरेर त्यसैका आधारमा निर्णय गर्ने गरेको गुनासो गरेका थिए । ‘महामन्त्रीज्यूले समन्वय भएन । गुटभित्र मात्र छलफल गरेर निर्णय गरियो । भन्दाभन्दै पनि सुनुवाइ भएन भन्नुभयो,’ केन्द्रीय सदस्य शेर्पाले भने ।

मङ्सिर १५ गते १५औँ महाधिवेशनका सन्दर्भमा केन्द्रीय समितिले गरेको निर्णय कार्यतालिका अनुसार अगाडि नबढेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशनको प्रक्रिया बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै स्थगित गरिदिएका छन् । त्यसपछि कांग्रेसका महाधिवेशन विवाद चर्किएको छ । त्यो विवादलाई मत्थर पार्न केन्द्रीय सदस्यहरूले दुवै पक्षका नेताहरूलाई भेटेका हुन् ।

महामन्त्रीद्वयलाई भेट्नुअघि ती केन्द्रीय सदस्यहरूले सभापति शेरबहादुर देउवालाई उनकै निवास महाराजगन्जमा भेटेका थिए । भेटमा सभापति देउवाले आफू पार्टी विभाजनको पक्षमा नरहेको र देखिएको विवाद समाधानका लागि प्रयास गरिरहेको बताएका शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार सभापति देउवाले विशेष महाधिवेशनले निकास ननिकाल्ने बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप