बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सलाहको गोलसँगै इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा

मङ्गलबार, २२ पुस २०८२, १० : २८
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • मोहमद सलाहको गोलबाट इजिप्टले बेनिनलाई अतिरिक्त समयमा पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गर्यो।
  • खेलको निर्धारित समय १-१ गोलको बराबरीमा टुङ्गिएपछि अतिरिक्त समयमा इजिप्टले थप दुई गोल गर्यो।
  • इजिप्टले अब सेमिफाइनल प्रवेशका लागि आइभोरी कोस्ट वा बुर्किना फासोसँग प्रतिस्पर्धा गर्नेछ।

मर्राकेश । स्टार खेलाडी मोहमद सलाहले अतिरिक्त समयमा गोल गरेपछि बेनिनलाई पराजित गर्दै इजिप्ट सन् २०२५ को अफ्रिका कप अफ नेसन्स (एफकन) को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मोरक्कोको मर्राकेशमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक प्रि-क्वार्टरफाइनल खेलमा इजिप्टले बेनिनलाई अतिरिक्त समयमा दबाबमा राख्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको हो।

खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका थिए। पहिलो हाफ गोलरहित सकिएको खेलमा ७० औँ मिनेटमा इजिप्टका मिडफिल्डर मारवान अतियाले पेनाल्टी क्षेत्र बाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए। 

तर खेल सकिन सात मिनेट बाँकी रहँदा बेनिनका जोडल डोसुले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। जुनियर ओलाइतानको क्रस इजिप्टका गोलकिपर मोहमद एल शेनावीले रोक्न खोज्दा फुत्किएको बललाई डोसुले जाली चुमाएका थिए।

निर्धारित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा इजिप्टले थप दुई गोल गर्न सफल भयो। यासेर इब्राहिमले पेनाल्टी स्पट नजिकैबाट प्रहार गर्दै इजिप्टलाई पुनः अग्रता दिलाए भने खेलको अन्तिम मिनेटमा मोहमद सलाहले डिबक्स बाहिरबाट उत्कृष्ट बायाँ खुट्टाको प्रहारमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे। 

यस जितसँगै इजिप्टले अब सेमिफाइनल प्रवेशका लागि शनिबार आइभोरी कोस्ट वा बुर्किना फासोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। पराजित बेनिन भने प्रतियोगिताबाट बाहिरिएको छ। सन् २०१९ मा क्वार्टरफाइनलसम्म पुगेको बेनिनले यस पटक सो उपलब्धि दोहोर्‍याउन सकेन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप