बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बैतडीमा ‘भण्डारी भर्सेस भण्डारी’ र ‘चन्द भर्सेस चन्द’ प्रतिस्पर्धा हुने सम्भावना

मङ्गलबार, २२ पुस २०८२, १० : ४१
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • बैतडीमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न दलहरूले उम्मेदवार सिफारिस गरेका छन्।
  • नेकपा एमालेबाट दामोदर भण्डारी र रास्वपाबाट हरिमोहन भण्डारीबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।
  • नेपाली कांग्रेसले चतुरबहादुर चन्द र राप्रपाले भुपेन्द्र चन्दलाई उम्मेदवारका रूपमा सिफारिस गरेका छन्।

धनगढी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा प्रमुख दलहरूबाट सिफारिस उम्मेदवारको सूची हेर्दा रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

नेकपा एमाले बैतडीको नवौँ पूर्ण बैठकले पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं केन्द्रीय सदस्य दामोदर भण्डारीलाई प्रतिनिधि सभा सदस्यका लागि एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ । जिल्ला अध्यक्ष नरेश विकका अनुसार, २०७० सालदेखि निरन्तर तीन पटक चुनाव जितेका र जेनजी आन्दोलन अघि मन्त्री रहेका भण्डारीलाई पार्टीले सर्वसम्मत रूपमा अघि सारेको हो ।

यता, दामोदर भण्डारीलाई टक्कर दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उनकै नाता पर्ने हरिमोहन भण्डारी मैदानमा उत्रिने सम्भावना प्रबल छ । रास्वपाले उम्मेदवारको अन्तिम टुङ्गो लगाउन बाँकी रहे पनि हरिमोहन र पूर्वमहासेनानी शिवराज पन्तको नाम चर्चामा छ । यद्यपि, जिल्लामा पन्तभन्दा हरिमोहनकै पल्ला भारी रहेको बताइन्छ । यदि रास्वपाले हरिमोहनलाई टिकट दिएमा पाटन नगरपालिकाका एउटै गाउँका भण्डारी बन्धु (दामोदर र हरिमोहन) बिच कडा टक्कर हुनेछ । हरिमोहन २०७९ को निर्वाचनमा झिनो मतान्तरले प्रदेश सभामा पराजित भएका थिए ।

अर्काेतर्फ, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले चन्द बन्धुलाई मैदानमा उतार्ने सम्भावना देखिएको छ । नेपाली कांग्रेसले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष तथा शिक्षक संघको राजनीतिबाट उदाएका जिल्ला सभापति चतुरबहादुर चन्दलाई उम्मेदवार सिफारिस गरिसकेको छ ।

त्यस्तै, राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका पुत्र भुपेन्द्र चन्दलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको पार्टीका जिल्ला प्रवक्ता देवेन्द्र बहादुर मालले जानकारी दिए ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि उम्मेदवार छनोटको तयारी थालेको छ । पार्टीका केन्द्रीय सदस्य प्रेमप्रकाश भट्टका अनुसार, मङ्गलबार बस्ने जिल्ला कमिटी बैठकले उम्मेदवारको टुङ्गो लगाउनेछ । उक्त पार्टीबाट नरेन्द्रबहादुर कुँवर वा परमानन्द भट्टमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप