‘मादुरोको अपहरण संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन’
सारांश
- नेपालका चार जनसंगठनले भेनेजुएलामाथिको अमेरिकी सैन्य आक्रमण र राष्ट्रपति मादुरोको अपहरणको निन्दा गरेका छन्।
- संगठनहरूले अमेरिकी कदमलाई संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भनेका छन्।
- उनीहरूले भेनेजुएलाको संकटलाई आफ्नो मुक्ति संघर्षमाथिको आक्रमणका रूपमा लिएर मादुरोको रिहाइको माग गरेका छन्।
काठमाडौँ । नेपालका चार प्रमुख जनसंगठनले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोको अपहरणको निन्दा गरेका छन्। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिकी कदमलाई संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै भर्त्सना गरेका हुन्।
विज्ञप्तिमा यी संगठनहरूले अमेरिकी कारबाहीलाई कुनै आकस्मिक घटना नभई बोलिभारियन आन्दोलनले अघि सारेको सामाजिक न्याय र बहुध्रुवीय विश्वव्यवस्थाको विकल्पलाई दबाउने साम्राज्यवादी रणनीतिको निरन्तरता भएको दाबी गरेका छन्। अमेरिकाले भेनेजुएलाको पेट्रोलियम लगायतका प्राकृतिक स्रोतमाथि नियन्त्रण जमाउन र समाजवादी क्रान्तिलाई ध्वस्त पार्न लामो समयदेखि नाकाबन्दी, राजनीतिक अस्थिरता र दमनको नीति लिएको उनीहरूको आरोप छ। उनीहरूले सैन्य आक्रमण र राष्ट्रप्रमुखको अपहरणलाई औपनिवेशिक कालको फासिवादी शैलीसँग तुलना गरेका छन्।
नेपालका किसान, श्रमिक र उत्पीडित समुदायले भेनेजुएलाको संकटलाई आफ्नो मुक्ति संघर्षमाथिको आक्रमणकै रूपमा लिएको जनाउँदै उनीहरूले राष्ट्रपति मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई बिना सर्त र सुरक्षित रूपमा तुरुन्त रिहा गर्न माग गरेका छन्। संगठनहरूले भेनेजुएलाको संवैधानिक सरकारको सम्मान गर्न, अमेरिकी सेना फिर्ता लैजान र जनतामाथि थोपरिएका सबै प्रकारका आर्थिक नाकाबन्दी तथा प्रतिबन्ध खारेज गर्न चेतावनी दिएका छन्।
चारै संगठनले विश्वभरका श्रमिक, किसान, लोकतन्त्रवादी र साम्राज्यवादविरोधी शक्तिहरूलाई भेनेजुएली जनताको पक्षमा उभिन अपिल गरेका छन्। कूटनीतिक माध्यम र जनआन्दोलनको बलमा अमेरिकी हस्तक्षेपको प्रतिवाद गर्नु आजको ऐतिहासिक आवश्यकता रहेको औंल्याउँदै उनीहरूले जनताको संगठित शक्ति अगाडि साम्राज्यवादी दमन अन्ततः पराजित हुने दाबी गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण