सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुविसुको २५औँ वार्षिकोत्सवः नीलसागर सेवाश्रममा निःशुल्क वाइफाई जडान

मङ्गलबार, २२ पुस २०८२, १९ : ४९
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसु केबलनेट लिमिटेडले आफ्नो स्थापनाको २५औँ वर्ष (रजत जयन्ती) को अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नीलसागर सेवाश्रममा निःशुल्क वाइफाई सेवा जडान गरेको छ।

नीलसागर सेवाश्रममा हाल २५० भन्दा बढी वृद्धवृद्धा तथा बालबालिकाहरूले आश्रय पाइरहेका छन्। तीमध्ये ८० भन्दा बढी बालबालिका र १५० भन्दा बढी ज्येष्ठ नागरिकहरू रहेका छन्। यो इन्टरनेट सेवाले त्यहाँ रहेका आश्रितहरूलाई समाज र संसारसँग जोड्न, सूचना, शिक्षा, र मनोरञ्जन प्राप्त गर्न तथा आत्मीय सम्बन्धहरू कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सुविसुले विश्वास लिएको छ।

आफ्नो २५ वर्षे यात्राको खुसीयाली मनाउने क्रममा कम्पनीले देशका विभिन्न स्थानमा सेवा र राहत वितरणका कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। यसै वर्ष कम्पनीले रौतहटको गरुडास्थित ’बंशी राम जैसवाल अनाथ आश्रम’ का २३ जना र बाराको कलैयास्थित ’अमृता अनाथ आश्रम’ का १७ जना बालबालिकाहरूलाई आवश्यक सामग्री र राहत वितरण गरेको थियो।

यसैगरी, कम्पनीले शिक्षा र प्रविधिलाई जोड्ने उद्देश्यका साथ धादिङ जिल्लाको एक बहिरा विद्यालयमा समेत निःशुल्क इन्टरनेट जडान गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउदले प्रविधि विस्तारसँगै सामाजिक जिम्मेवारीलाई पनि सँगसँगै अगाडि बढाउनु कम्पनीको मुख्य लक्ष्य रहेको बताए ।

विगत २५ वर्षदेखि नेपालमा इन्टरनेट र टेलिभिजन सेवा प्रदान गर्दै आएको सुविसुले आगामी दिनहरूमा पनि डिजिटल पहुँच, शिक्षा र समावेशी विकासका लागि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप