शान्ति सम्झौता भए युक्रेनमा सेना परिचालन गर्ने बेलायत र फ्रान्सको घोषणा
सारांश
- बेलायत र फ्रान्सले युक्रेनमा सेना परिचालन गर्न सहमति जनाएका छन्, यदि रुससँग शान्ति सम्झौता भएमा।
- फ्रान्सले युक्रेनमा सैन्य अखडा स्थापना गर्ने र हजारौं सैनिक पठाउने योजना बनाएको छ।
- रुसले युक्रेनमा तैनाथ हुने कुनै पनि विदेशी सेनालाई 'वैध निशाना' बनाउने चेतावनी दिएको छ।
पेरिस । रुस र युक्रेनबिच सम्भावित शान्ति सम्झौता भएमा युक्रेनमा आफ्नो सेना परिचालन गर्ने विषयमा बेलायत र फ्रान्सले एक सहमति पत्रमा हस्ताक्षर गरेका छन्। बेलायती प्रधानमन्त्री कर स्टार्मरले पेरिसमा युक्रेनका सहयोगी राष्ट्रहरूबिच भएको छलफलपछि यस्तो महत्वपूर्ण घोषणा गरेका हुन्।
भविष्यमा हुन सक्ने सम्भावित रुसी आक्रमणलाई रोक्न युक्रेनभर ‘सैन्य हब’ हरू स्थापना गरिने र त्यहाँ हजारौँको संख्यामा सैनिक खटाउन सकिने फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताएका छन्। पेरिसमा भएको ‘कोलिजन अफ द विलिङ’ को बैठकमा सहभागी राष्ट्रहरू युक्रेनका लागि बलियो सुरक्षा ग्यारेन्टी दिन सहमत भएका छन्।
प्रस्तावित योजना अनुसार युद्धविरामको अनुगमन गर्ने जिम्मेवारी अमेरिकाले लिने बताइएको छ। बेलायती प्रधानमन्त्री स्टार्मरले यो सम्झौता युक्रेनप्रतिको दीर्घकालीन प्रतिबद्धता भएको उल्लेख गर्दै यसले बेलायती, फ्रान्सेली र अन्य साझेदार सेनालाई युक्रेनी भूमिमा वैधानिक रूपमा सञ्चालन हुन बाटो खोल्ने स्पष्ट पारेका छन्। यी सेनाहरूले युक्रेनको आकाश र समुद्री क्षेत्रको सुरक्षा गर्नुका साथै भविष्यका लागि युक्रेनी सशस्त्र बललाई पुनर्गठन गर्न मद्दत गर्नेछन्।
अमेरिकी विशेष दूत जारेड कुश्नर र वार्ताकार स्टिभ विट्कोफले पनि युक्रेनमा दिगो शान्तिका लागि ठोस सुरक्षा ग्यारेन्टी अनिवार्य रहेकोमा जोड दिएका छन्। उनीहरूका अनुसार युद्धविराम पछि युक्रेनी जनतालाई फेरि युद्ध नहुने कुरामा विश्वस्त तुल्याउन यस्तो कदम चालिएको हो।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पेरिसको यो प्रगतिलाई ठुलो उपलब्धिका रूपमा लिएका छन् तर उनले युद्ध पूर्ण रूपमा अन्त्य भए मात्र यी प्रयासहरू पर्याप्त हुने धारणा राखेका छन्।
यता रुसले भने युक्रेनमा तैनाथ हुने जुनसुकै विदेशी सेना आफ्नो लागि ‘वैध निशाना’ हुने चेतावनी दिँदै आएको छ। सन् २०२२ फेब्रुअरीदेखि सुरु भएको पूर्ण स्तरको आक्रमणपछि हाल रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग आफ्नो नियन्त्रणमा राखेको छ।
पेरिस बैठकमा सुरक्षा प्रोटोकलहरूमा सहमति जुटे पनि युक्रेनको भूभाग सम्बन्धी विवादित विषयमा भने अझै छलफल जारी रहेको बताइएको छ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण