उपचारका क्रममा बालकको मृत्यु, कर्णाली प्रदेश अस्पताल परिसरमा तनाव
सारांश
- कालिकोटका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले कर्णाली प्रदेश अस्पतालमा प्रदर्शन गरेका छन्।
- डाक्टरको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तहरूले छानबिनको माग राख्दै अस्पतालमा अवरोध गर्ने प्रयास गरे।
- प्रहरी र अस्पताल प्रशासनबीचको छलफलपछि अस्पतालले सम्पूर्ण खर्च बेहोर्ने र शव घरसम्म लैजाने सहमति भएको छ।
सुर्खेत । कालिकोटका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले कर्णाली प्रदेश अस्पतालमा प्रदर्शन गरेका छन् । डाक्टरको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तहरूले बुधबार अस्पतालमा भेला भएर आन्दोलन गरिरहेका हुन् ।
कालिकोट खाँडाचक्र नगरपालिका–२ का उमेश बरालका २ वर्षीय छोरा सन्तोष बरालको उपचारका क्रममा मृत्यु भएको थियो । आफन्तहरूले डाक्टरहरूको लापरबाहीकै कारण बच्चाको मृत्यु भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार, आइतबार अपराह्न ४ः ३० बजे आफ्नै घरको आँगनमा खेल्ने क्रममा बालक लडेर घाइते भएका थिए । उनलाई तत्काल जिल्ला अस्पताल मान्म लिइयो । कालिकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।
गएराति उपचारकै क्रममा बालकको मृत्यु भएको शाहीले बताए । बालकको मृत्युको विषयलाई लिएर बुधबार बिहानैदेखि आफन्तहरू अस्पतालमा भेला भएका थिए । उनीहरूले डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै छानबिनको माग राख्दै अस्पतालमा अवरोध गर्ने प्रयास गरे ।
अस्पतालमा तनाव बढेपछि जिल्ला प्रहरी कार्यालय र नगर प्रहरी कार्यालय सुर्खेतबाट २ जना प्रहरी निरीक्षकसहित ६० जना प्रहरी टोली घटनास्थलमा खटाइएको एसपी शाहीले बताए । प्रहरीले सम्झाई बुझाई गरी मृतकका आफन्त र कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. गणेश थापा नेतृत्वको टोलीबिच छलफल भइरहेको छ ।
छलफलपछि अस्पतालले मृतक बालकको उपचारमा लागेको सम्पूर्ण खर्च बेहोर्ने तथा शवलाई घरसम्म लैजाने व्यवस्था मिलाउने प्रारम्भिक सहमति भएको छ । दुई पक्षबिच सहमति भएपश्चात् अस्पतालको वातावरण सामान्य बन्दै गएको शाही बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण