महन्थ ठाकुरको यात्रा : कांग्रेसदेखि मधेस राजनीति हुँदै राष्ट्रियसभासम्म
सारांश
- लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
- ८५ वर्षीय ठाकुरले आगामी प्रतिनिधि सभाको चुनाव नलड्ने भएका छन्, र पार्टीको निर्णय अनुसार उनलाई राष्ट्रिय सभामा पठाइएको हो।
- ठाकुर लामो समयदेखि राजनीतिमा सक्रिय छन्, उनले मधेसको मुक्तिका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ . २०७९ को निर्वाचनमा महोत्तरी–३ मा चुनावी अभियान चलाउँदा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भनेका थिए– ‘यो मेरो अन्तिम चुनाव हो, यसपछि म चुनाव लड्ने छैन ।’ उनले त्यहाँबाट चुनाव पनि जिते र प्रतिबद्धता पनि पूरा गरे ।
२०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा चुनावमा उनी भाग लिने छैनन् । आज उनले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । २०४८ देखि २०७९ सम्म पाँच पटक चुनाव जितेका महन्थ ठाकुर यसपटक प्रतिनिधि सभा चुनावबाट किन पछि हटे ? पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झा भन्छन्, ‘पछि हटेको होइन, आवश्यकताका आधारमा उहाँलाई राष्ट्रिय सभामा पठाएकै हो । राष्ट्रिय सभामा त्यस्तै अनुभवी र प्रबुद्ध व्यक्तिहरू चाहिन्छ, अनुभवी नेता चाहिन्छ, त्यही भएर पार्टीको निर्णयबाट नै उहाँलाई त्यहाँ पठाइएको हो ।’
महोत्तरीलगायत विभिन्न जिल्लाबाट उनको नाम प्रतिनिधि सभाको उम्मेदवारमा सिफारिस भएको र चुनाव लडे जित्न पनि सक्ने उनले दाबी गरे । तर उनको आवश्यकता राष्ट्रिय सभामा देखिएको भन्दै २०१६ सालदेखि राजनीतिमा लागेका ठाकुरले अब आफ्नो अनुभव राष्ट्रिय सभामा देखाउने तर्क गरे ।
लोसपा नेपालका अध्यक्ष ठाकुरले जसपा नेपालको समर्थनमा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । लोसपा र जसपा नेपालको एकता पनि भइसकेको छ । जसपा नेपालका महासचिव रामकुमार शर्मा पनि समयको मागअनुसार अध्यक्ष ठाकुरलाई राष्ट्रिय सभामा पठाएको बताउँछन् । ‘ठाकुरजीको उमेर पनि धेरै भइसकेको छ । भर्खर जेनजी आन्दोलन भएको छ । त्यो उमेरका कारण पनि प्रतिनिधि सभा चुनावमा भाग लिनुभन्दा राष्ट्रिय सभा नै उपयुक्त हुने भएर पार्टीको सहमतिमै उहाँलाई त्यहाँ पठाएका हौँ,’ उनी भन्छन् ।
अध्यक्ष ठाकुर ८५ वर्षका भइसकेका छन् । चुनावमा भाग लिएपछि दौडधुप गर्नुपर्छ, जनताको घरघर जानुपर्छ, अहिले त्यो अवस्था छैन । उनको अनुभव र योग्यताको अहिले पनि आवश्यकता रहेकाले राष्ट्रिय सभामा पठाएको उनले बताए ।
सालिन ठाकुरको विद्रोही मन
अध्यक्ष ठाकुर जति सालिन, भद्र, भलादमी र अनुशासित छन्, उनीभित्र त्यतिकै क्रान्तिकारी र विद्रोही पनि छन् । उनीभित्र गुम्सिएको क्रान्ति र विद्रोह उनको अनुहारबाट प्रस्ट पढ्न सकिन्छ र उनको जीवन पनि त्यस्तै छ । जीवनमा विभिन्न आरोह–अवरोहसँग ठक्कर खाँदै यहाँसम्म आइपुगेका महन्थ ठाकुरलाई त्यही कारणले खारिएका नेता मानिन्छ ।
उनको जीवन अभाव र पीडाबाट मात्र गुज्रिएको हो । उनका नजिकका नेताहरू भन्छन्, 'महन्थ ठाकुरले जति पीडा सहेर बाँच्नुभएको छ, अरू व्यक्ति भएको भए उहिले नै प्राण त्यागिसकेका हुन्थे । राजनीति र परिवारमा जहिले पनि उनले पीडा र संघर्ष मात्रै पाए । ८५ वर्षीय ठाकुर अझै संघर्षको राजनीतिमा सक्रिय छन् ।
अहिले पनि उनी आफूलाई राजनीतिमा सक्रिय नै राख्न चाहन्छन् । उनले आफू बाँचुञ्जेल देश र जनताको सेवा गर्ने भन्दै आइरहेका छन् । नेपाली कांग्रेस छाडेर २०६४ सालमा मधेसकेन्द्रित राजनीतिमा आएका ठाकुर त्यसपछि सांसदबाहेक अरू कुनै पनि पदमा छैनन् ।
उनलाई पटक–पटक मन्त्री, उपप्रधानमन्त्री बन्ने अवसर पनि आएको थियो, तर आफू उपप्रधान तथा मन्त्री नबन्ने अडानमा रहिरहे ।
उनको नाम कहिले सभामुखका लागि चर्चामा रह्यो भने कहिले राष्ट्रपति त कहिले उपराष्ट्रपति । यहाँसम्म कि, जसपा नेपालमा हुँदा उनको नाम प्रधानमन्त्रीमा पनि चर्चामा आएको थियो । तर पार्टीमा आन्तरिक विवाद भएपछि पार्टी नै विभाजन भयो र उनी लोसपा नेपाल गठन गरेर अलग भए । ठाकुरले भनेका थिए, ‘मलाई कुनै पद चाहिँदैन । अब मेरा लागि राष्ट्रपति, प्रधानमन्त्री पद मामुली कुरा भइसक्यो । मुख्य कुरा मधेसको मुक्ति हो, मधेसको मुक्तिका लागि हरहमेशा लडिरहन्छु ।’
ठाकुरको राजनीतिक यात्रा
महन्थ ठाकुरको राजनीतिक पृष्ठभूमि कांग्रेस हो । नेपाली कांग्रेसको कोषाध्यक्ष र विज्ञान तथा प्रविधि मन्त्री पद छाडेर २०६४ सालमा उनी मधेसकेन्द्रित राजनीतिमा होमिए । कांग्रेसमा २०१६ सालमा विद्यार्थी राजनीतिबाट उनको यात्रा सुरु भएको थियो । महोत्तरी पिपरा गाउँपालिका एकरहियाका उनको प्रारम्भिक शिक्षा भएको थियो, उनलाई पढाउन घरमा गुरुजी आउँथे ।
उनले जेलमा बसेर नै एमए अध्ययन गरेका छन् । बीएल पनि गरेका महन्थ ठाकुर उच्च शिक्षाका लागि जनकपुर आउँदा राजनीतिमा चासो लिन थालेका थिए । जनकपुरमा उनी हरिहर विरही, महेन्द्रकुमार मिश्र, केशव कोइराला लगायतसँगै नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए ।
अध्यक्ष ठाकुर २०२६ सालतिर कांग्रेसनिकट छात्र संघको सभापति भएका थिए, नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य पनि हुन् ठाकुर । उनी विद्यार्थी कालमा पुस १ गतेको आन्दोलन गर्ने क्रममा पक्राउ परेका थिए । केही दिनको जेल बसाइपछि उनी रिहा भएका थिए । त्यतिबेला उनीमाथि राजकाजको मुद्दा लागेको थियो ।
उच्च शिक्षा सकेपछि उनी जनकपुर क्याम्पसमा प्राध्यापक भएर काम गर्न थाले । प्राध्यापनको काम गर्दागर्दै उनी राजनीतिमा पनि सक्रिय थिए । विद्यार्थीहरूले गरेको आन्दोलनमा उनी सहभागी भएपछि उनलाई प्राध्यापकबाट हटाइएको थियो । प्राध्यापकबाट हटेपछि उनी सन् १९७५ मा नेपाली कांग्रेसले भारतको सीतामढीमा बनाएको क्याम्पमा गए, त्यो क्याम्पको नेतृत्व गणेश नेपालीले गरेका थिए ।
राजा वीरेन्द्रको राज्याभिषेक हुने बेलामा भारतीय प्रहरीद्वारा महन्थ ठाकुरसहित गणेश नेपाली, वासुदेव कोइरालालगायत नेताहरू भारतमा पक्राउ परे । उनीहरूमाथि हातहतियार ओसारपसार गरेको आरोप थियो । उनीहरूलाई पक्राउ गरेर विहारको मुजफ्फरपुर जेलमा राखिएको थियो । विहारको मुख्यमन्त्रीमा कर्पुरी ठाकुर नियुक्त भएपछि उनीहरूको मुद्दा फिर्ता भएको थियो ।
सन् १९७७ मा राष्ट्रिय मेलमिलापको नारा दिएर कांग्रेसका नेताहरू नेपाल फर्केका थिए । ठाकुर विहारबाट आउनेबित्तिकै नेपाल प्रहरीले उनलाई पुनः पक्राउ गर्यो र त्यतिबेला मलङ्गवा जेलमा राख्यो । उनी २०३६ सालमा रिहा भए र जनमतसङ्ग्रहमा बहुदल पक्षमा लागे ।
कर्मक्षेत्र सर्लाही
ठाकुरको राजनीतिक यात्रा जनकपुरबाट सुरु थियो भने जन्मथलो महोत्तरी र कर्मथलो सर्लाही बन्यो । सर्लाहीमा उनी वकालत पेसामा थिए । वकालतका साथै उनको राजनीतिक सक्रियता पनि त्यस्तै बन्यो । सर्लाहीमा कानुन व्यवसायीका रूपमा गएका उनी नेता भएका थिए । वकालतका साथै सर्लाही क्याम्पसमा उनी अध्यापन पनि गराउँथे । चुनाव प्रचारप्रसारमा लागेका कारण, प्राध्यापक भएर चुनाव प्रचारमा लागेको भन्दै उनलाई त्यहाँबाट बर्खास्त गरिएको थियो ।
२०४६ सालको आन्दोलनमा अध्यक्ष ठाकुर जेल परेका थिए । आन्दोलन सफल भएपछि बहुदल व्यवस्था आयो । उनी रिहा भए । २०४८ मा भएको चुनावमा सर्लाही–५ बाट उनलाई टिकट दिइयो । प्रतिनिधि सभामा चुनाव जितेर गएपछि उनी प्रतिनिधि सभाका उपसभामुख (२०५१ सम्म) भए ।
२०५१ सालमा भएको मध्यावधि चुनावमा पनि उनी सर्लाहीबाट चुनाव जिते । चुनाव जितेर आएपछि उनी कृषि मन्त्री भएका थिए ।
ठाकुर गिरिजाप्रसाद कोइरालाका विश्वासपात्रमध्ये एक थिए । उनलाई उपसभामुख बनाउनुदेखि एकैचोटि केन्द्रीय सदस्यबाट कोषाध्यक्ष तथा विभिन्न समयमा मन्त्री बनाउने काम पनि पार्टीले गरेको थियो । उनी सर्लाहीमा हुँदा कांग्रेस जिल्ला समिति सदस्य थिए । २०४८ सालमा चुनाव जितेर संसदीय राजनीतिमा आए । र कांग्रेसको केन्द्रीय सदस्य बने । उनी कृषि, सञ्चार तथा विज्ञान मन्त्रीसम्म बने ।
मधेस राजनीति
ठाकुर कांग्रेसमा कोषाध्यक्ष र विज्ञान तथा प्रविधि मन्त्री भएका बेला ती पदहरूबाट राजीनामा दिएर मधेसको राजनीतिमा आएका हुन् । ठाकुरले आफ्नो नेतृत्वमा २०६४ सालमा तराई–मधेस लोकतान्त्रिक पार्टी गठन गरे । तत्कालीन फोरम नेपाल र सद्भावना पार्टीसँग मोर्चा बनाएर आन्दोलनमा होमिए । आन्दोलन सफल भएपछि २०६५ सालमा भएको संविधानसभा चुनावमा सर्लाहीबाट चुनाव लडे तर जित्न सकेनन् । यद्यपि उनलाई मन्त्रिपरिषद्बाट मनोनयन गरेर संविधानसभा सदस्य बनाइएको थियो ।
दोस्रो संविधानसभा चुनावमा पनि उनी सर्लाहीबाट पराजित भए । पराजित भए पनि उनको राजनीतिक सक्रियतामा कहिल्यै कमी आएन । संविधान निर्माणको विषयमा छलफल होस् वा कुनै उच्चस्तरीय वार्ता, सबैमा पार्टीको तर्फबाट उनको उपस्थिति हुन्थ्यो । २०७० सालमा भएको तेस्रो मधेस आन्दोलनमा पनि उनी सक्रिय भएर लागेका थिए । कहिले मोर्चा बनाएर त कहिले एक्लै, उनी मधेस आन्दोलनमा निरन्तर रहे । उनी संसद्मा नहुँदा पनि उनको सक्रियता कम थिएन ।
२०७४ मा भएको प्रतिनिधि सभा चुनावमा उनले आफ्नो जन्मथलो महोत्तरीबाट चुनाव जिते । उनले मधेसमा रहेका अन्य विभिन्न ६ दललाई मिलाएर राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बनाएका थिए । सुरुमा उनलाई त्यो पार्टीको संयोजक बनाइएको थियो, पछि आलोपालो प्रणाली लागु गरी अन्य नेताहरू पनि संयोजक भए ।
६ वटा दल मिलेर बनेको राजपा नेपालमा निकै उतारचढाव आयो, कहिलेकाहीँ पार्टी फुट्ने अवस्थामा पुग्थ्यो । तर ठाकुर चुपचाप त्यसलाई सुल्झाउँथे । राजपा नेपाल कहिल्यै स्थिर रहन सकेन । एकातिर राज्यविरुद्धको संघर्ष र अर्कोतिर पार्टीभित्रको संघर्षलाई उनले सँगसँगै लगिरहेका थिए । हुँदाहुँदै २०७७ सालमा राजपा नेपाल र समाजवादी पार्टीबिच एकीकरण भयो र जनता समाजवादी पार्टी नेपाल (जसपा) बन्यो, तर त्यो एकता एक वर्ष पनि टिक्न सकेन । २०७८ भदौमा लोसपा बनाएर उनी जसपा नेपालबाट अलग भएका थिए ।
उनी २०७९ को चुनावमा महोत्तरी–३ बाट चुनाव जिते । चार वर्षपछि पुनः उनले जसपा नेपालसँग एकता गरे, त्यही एकताका कारण उनी अहिले राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण