बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेसका १७ भ्रातृसंस्थाद्वारा एक ढिक्का भएर अघि बढ्न अपिल

शुक्रबार, २५ पुस २०८२, १४ : ००
शुक्रबार, २५ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका १७ भ्रातृसंस्थाले पार्टी नेतृत्वलाई एक ढिक्का भएर अघि बढ्न आग्रह गरेका छन्।
  • उनीहरूले देश र जनतालाई सङ्कट मुक्त गर्न सबैलाई आह्वान गर्दै पार्टीलाई एकताबद्ध बनाउन अनुरोध गरेका हुन्।
  • निर्वाचनको मिति तोकिएकाले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको उनीहरूको भनाइ छ।

काठमाडौँ । नेपाली कांग्रेसका १७ भ्रातृसंस्थाले जनतालाई सङ्कट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न पार्टी नेतृत्व र पदाधिकारीहरूलाई अपिल गरेका छन् । उनीहरूले शुक्रबार संयुक्त अपिल जारी गर्दै भनेका छन्, ‘हालको अवस्थामा देश र जनतालाई सङ्कट मुक्त गर्न एक ढिक्का भएर अघि बढ्न सबैमा आह्वान गर्दछौँ ।’

नेपाल महिला संघकी अध्यक्ष उषा राउत, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहाल, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, नेपाल दलित सङ्घका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, नेपाल भूतपूर्व सैनिक सङ्घका अध्यक्ष गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक प्राध्यापक सङ्घका अध्यक्ष जगत तिमिल्सिना, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगर, नेपाल लोकतान्त्रिक अपाङ्ग सङ्घका महासचिव मनोहरि श्रेष्ठ, नेपाल मुस्लिम सङ्घका अध्यक्ष अतावुल मन्सुरीले अपिल जारी गरेर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका हुन् । 

त्यस्तै अपिलमा नेपाल थारु सङ्घका अध्यक्ष शिवनारायण महतो गुरौ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल राष्ट्रिय मगर सङ्घका अध्यक्ष इच्छुराम रानामगर, नेपाल तामाङ सङ्घका अध्यक्ष रामकृष्ण इन्द्र लामाले पनि हस्ताक्षर गरेका छन् । 

उनीहरूले अपिलमा निर्वाचनको मिति तोकिएर प्रक्रिया अगाडि बढेको अवस्थामा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताएका छन् ।

 ‘नियमित महाधिवेशन को मिति वैशाख २८ गते देखि ३१ सम्म का लागि तोकिसकेको र फाल्गुन २१ गते आमनिर्वाचन समेत सम्पन्न हुन गइरहेको परिप्रेक्ष्यमा पार्टी एक ढिक्का भई बढ्नुको कुनै विकल्प छैन,’ अपिलमा लेखिएको छ । 

पछिल्लो समय देशमा आएको राजनैतिक सङ्कट र नेपाली कांग्रेसमा देखिएको राजनीतिक तिक्तताको समाधान खोज्न उनीहरूले सभापति, कार्यवाहक सभापति र सम्पूर्ण केन्द्रीय समितिको ध्यानाकर्षण पनि गराएका छन् । 

सबै नेता कार्यकर्ता तथा शुभेच्छुकलाई संयमित भएर जिम्मेवारीपूर्ण तरिकाले सबैको सहअस्तित्व स्वीकार गरेर सहमतिमार्फत अघि बढ्न पनि अनुरोध गरेका छन् ।

610308911_1461823292032366_8688476145389178329_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप