शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन

कोशीमा शेखर पक्ष कमजोर बन्दै, गगन–विश्वतिर को–को लागे ?

प्रतिनिधिहरू तानातानमा
शुक्रबार, २५ पुस २०८२, १५ : १५
शुक्रबार, २५ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको विशेष महाधिवेशनमा प्रतिनिधिहरू तानतानमा, पक्ष र विपक्षबीच प्रचार प्रसार भइरहेको छ।
  • कोशी प्रदेशका ५ जिल्लाका सभापति विशेष महाधिवेशनको पक्षमा उभिएका छन् र ६० देखि ६५ प्रतिशत प्रतिनिधि सहभागी हुने दाबी छ।
  • संस्थापन पक्षले प्रतिनिधि रोक्न खोजेको आरोप छ भने, कतिपयले यसको वैधानिकता र हस्ताक्षरको सत्यतामाथि प्रश्न उठाएका छन्।

विराटनगर । पुस २७ र २८ गतेका लागि तय गरिएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा जाने प्रतितिनधिहरू तानातानमा परेका छन् । विशेष महाधिवेशन पक्षधरले बढीभन्दा बढी प्रतिनिधि लान खोज्ने र संस्थापन पक्षले त्यसलाई रोक्न खोज्ने कसरत जारी छ ।

त्यसका बाबजुद पनि एकले अर्कोलाई बलियो र कमजोर रहेको भन्दै प्रचार प्रसार गरिरहेका छन् । कोशी कांग्रेस नेता डा. शेखर कोइरालाको गृहप्रदेश हो ।

डा. कोइराला नियमित महाधिवेशनको पक्षमा देखिएका छन् । यद्यपि, उनलाई नै यसअघि साथ दिएका कतिपय नेता–कार्यकर्ता अहिले विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।

कोशी प्रदेशका पूर्वमन्त्री समेत रहेका उदयपुर कांग्रेसका सभापति हिमाल कार्कीका अनुसार कोशी प्रदेशका १४ जिल्लामध्ये ५ वटा जिल्लाका सभापति प्रत्यक्ष रूपमा विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । उनका अनुसार उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम र सुनसरीका पार्टी सभापति यो पक्षमा छन् ।

कार्कीले कोशी प्रदेशबाट ६० देखि ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँ पुग्ने दाबी गरे । उदयपुरका कुल ५३ जना प्रतिनिधिमध्ये ४१ जना विशेष महाधिवेशनको पक्षमा खुलेर लागेको र काठमाडौँ जाने तयारीमा रहेको उनले बताए ।

मोरङबाट पनि ठुलो संख्या सहभागी हुने र झापाबाट ५१ प्रतिशतभन्दा बढी आउने कार्कीको दाबी छ । उनले खोटाङ र ताप्लेजुङबाट केही कम संख्यामा प्रतिनिधि आउने संकेत गरे पनि समग्र कोशीमा बहुमत प्रतिनिधि विशेष महाधिवेशनकै पक्षमा रहेको बताए ।

संस्थापन पक्षले सत्ता र शक्तिको दुरुपयोग गरेर प्रतिनिधिहरूलाई रोक्न खोजेको कार्कीको आरोप छ । ‘सत्ताको, पावरको, शक्तिको सबै दुरुपयोग गरेका छन् । फकाउने, धम्क्याउने अनि शेखर कोइरालाले पार्टी फुट्छ भनेर हल्ला फिँजाउने गरेका छन्, तर पनि महाधिवेशन प्रतिनिधिहरू रोकिँदैनन्,’ उनले भने, ‘केन्द्रमा विशेष महाधिवेशनका लागि आवश्यक ५४ प्रतिशतमात्रै होइन ६० देखि ६५ प्रतिशत पुग्छ ।’

कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले पनि कोशी प्रदेशबाट ६० प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन जाने दाबी गरे । ‘५४ प्रतिशत होइन, ६० देखि ६५ प्रतिशतसम्म प्रतिनिधिहरू काठमाडौँ पुग्छन्,’ उनले भने, ‘प्रविधिको प्रयोग गर्दै अमेरिकाबाट समेत इमेलमार्फत् ऐक्यबद्धता आइसकेको छ । भर्चुअल माध्यमबाट गरिने मतदानलाई पनि आधिकारिक मान्नुपर्छ ।’

संस्थापन पक्ष र विशेष महाधिवेशनप्रति संशय व्यक्त गर्ने नेताहरूले यसको वैधानिकता र हस्ताक्षरको सत्यतामाथि प्रश्न उठाएका छन् ।

कांग्रेस कोशी प्रदेशका उपसभापति रमेशजंग रायमाझीले २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशन महामन्त्रीहरूको भेला भएको दाबी गरे । ‘यसलाई विशेष महाधिवेशन भन्नुभन्दा पनि महामन्त्रीहरूको भेला भन्नु उपयुक्त हुन्छ । यसले केन्द्रीय समितिलाई सुझावमात्र दिने हो,’ उनले भने, ‘मरेका र पार्टी छाडेका व्यक्तिहरूको समेत नाम पठाएर संख्या बढाइएको छ । स्वयं प्रतिनिधि उपस्थित नभएसम्म यति जान्छन् भन्न सकिने अवस्था छैन ।’

उदयपुर कांग्रेस नेता राम खत्रीले ५० प्रतिशत हाराहारी प्रतिनिधि जानसक्ने बताए । ‘उदयपुरमा ५० प्रतिशत पुग्न सक्छ । यसअघि हस्ताक्षर भएकाहरू ७ जना मान्छेको त मेरो क्षेत्रबाट मात्रै फेक सिग्नेचर गरिएको छ,’ उनले भने, ‘झापामा पनि प्रतिनिधिहरू घटिरहेका छन्, अन्तिम समयमा धेरै मान्छे ब्याक हुन्छन् ।’

यसअघि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गुटमा रहेका कोशी प्रदेशका सहमहामन्त्री फागो यस पटक गगन–विश्वतिर खुलेका छन् । मोरङका १५९ महाधिवेशन प्रतिनिधिमध्ये १०४ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरिसकेको उनले बताए । फागोले यो संख्या अझै थपिन सक्ने बताए ।

मोरङका कांग्रेस सभापति डिकबहादुर लिम्बूले पनि ६० देखि ७० जनाको हाराहारीमा प्रतिनिधिहरू काठमाडौँ जाने तयारीमा रहेको आफूले बुझेको बताउँछन् ।

झापामा कुल १३२ महाधिवेशन प्रतिनिधिमध्ये ५१ प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौँ जाने तयारीमा रहेको नेता इन्द्र बुढाथोकी बताउँछन् । सुनसरी क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले नै विशेष महाधिवेशनमा जाने आधिकारिक निर्णय गरेको छ । दुहबी नगरपालिकाका मेयरसमेत रहेका नेता वेदनारायण गच्छदारले विशेष महाधिवेशन पक्षधरको नेतृत्व गरिरहेका छन् । उनले बहुमत सदस्य काठमाडौँ जाने दाबी गरे ।

धनकुटामा पनि २६ प्रतिनिधिमध्ये १७ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका थिए । यो जिल्लाले पनि आगामी प्रतिनिधि सभा निर्वाचनका लागि महामन्त्री थापाको एकल नाम सिफारिस गरेको थियो । धनकुटा जिल्ला सभापति दिनेश राईले प्रतिनिधिहरूको संख्या झन् थपिने दाबी गरे ।

विशेष महाधिवेशन पक्षधर इलामका नेता हिमालय कर्मचार्यका अनुसार जिल्लाबाट ३३–३४ जना प्रतिनिधि विशेष महाधिवेशनमा जाने तयारीमा छन् ।

सोलुखुम्बुमा २६ प्रतिनिधिमध्ये १८ जना काठमाडौँमै रहेको र बाँकी २ जना सोलुमा रहेको गगन थापा पक्षकी नेतृ पूजा फुयालले जानकारी दिइन् । भोजपुर जिल्ला सभापति विनोद राई कोशी प्रदेश सभा सदस्यसमेत हुन् । उनी अहिले स्पष्ट रूपमा गगन थापाको पक्षमा देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप