बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
किताबका कुरा

‘राम्रा किताबहरू एकपटक मात्रै पढेर पुग्दैन’

म यौनवादी कथा मात्रै लेख्दिनँ : सीता पाण्डे
शनिबार, २६ पुस २०८२, १८ : ००
शनिबार, २६ पुस २०८२

सारांश

  • सीता पाण्डे यौन कथाकारको रूपमा चिनिन मन पराउँदिनन्, उनी आफूलाई कथाकार मान्छिन्।
  • लेखिका पाण्डेले आफ्नो लेखन जीवन र आफूलाई मन पर्ने लेखक तथा कृतिबारे कुराकानी गरिन्।
  • उनले नेपाली साहित्यको अवस्था, नयाँ पुस्ताका लेखक र विदेशमा नेपाली साहित्यको अवस्थाबारे बताइन्।

सीता पाण्डे तीसको दशकदेखि कथा लेखनमा सक्रिय नाम हो । उनका ‘असजिला खुसीहरू’ (कविता सङ्ग्रह), 'यौन र अनुभूति' (आलेख सङ्ग्रह), 'बन्धकी खुसीहरू' (कथा सङ्ग्रह) लगायत आधा दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

लामो समयदेखि अमेरिकामा बस्दै आएकी पाण्डे हाल नेपाल आएकी छिन् । रातोपाटीको ‘किताबका कुरा’ शृङ्खलाका लागि रमा सुवेदीले उनै पाण्डेसँग गरेको कुराकानी ।

  • तपाईंलाई कसैले ‘यौन कथाकार’ भनेर बोलाउँदा कस्तो लाग्छ ?

खासै केही महसुस गर्दिनँ । तपाईंको यो प्रश्न सुनेर सुरुका दिनमा ‘यस्तो’ लेख्दा समाजको डर लागेन ? भनेर गर्ने गरिएका प्रश्नहरू सम्झिएँ । मैले ‘यौन’ कथा नै लेख्छु भनेर लेखेको होइन । झुक्किएर यस विधामा आएको पनि होइन । अनेकौँ विषयमा लेखेको छु । लेख्दै जाँदा यौनका विषय पनि आए । यौनका कुरा बढी मुखरित भएर वा मान्छेको ध्यान बढी यौन कथामा मात्रै गएर हो मलाई यौन कथाकारका रूपमा बढी चिन्छन् । तर म कथाकार हुँ ।

कति जनाले मलाई प्रेमा शाहसँग जोडेर पनि हेरेका छन्, कतिले बीपी कोइरालाबाट प्रभावित भन्छन् । यी सबै नाम मेरा लागि आदर्श हुन् । म फेरि पनि भन्छु– म यौनवादी कथा मात्रै लेख्दिनँ । मैले फरक विधाका कथा लेखेकी छु । मेरो कथालाई फरक धारबाट हेर्ने पनि छन् ।

  • पाठकलाई आफ्ना प्रिय लेखकबारे निकै चासो हुँदो रहेछ । तपाईंको लेखनको दुनियाँ कस्तो छ बताइदिनु न ?

यो संसार र लेखन संसारबिच म खासै फरक मान्दिनँ । लेखनकै दुनियाँ भनेर त कसरी भन्नु र खै ? मान्छेले नभोगेको/नदेखेको अनि अनुभव नगरेको कुरा लेखेर यो संसारलाई सहयोग पुग्ला र ? एकदम हुँदै नभएका कुरा अनि मान्छेको हृदयलाई नछुने कुरालाई म ठोस रूपमा साहित्य मान्दिनँ ।

दूधलाई दहीबाट नौनी बनाएर घिउ निकाले जस्तै हो मान्छेको जीवनमा साहित्य ।

जीवनमा देखेकै, भोगेकै, सुनेकै कुरालाई त्यसकै परिधिभित्र रहेर दिइने कलात्मक प्रस्तुति हो साहित्य । साहित्य मान्छेको जीवनसँग नजिक हुनुपर्छ । फेरि लेख्ने भन्दैमा २४ घण्टा नै लेख्ने पनि हुँदैन र सकिँदैन पनि । तर जब कुनै कुराले क्लिक गर्छ, मनलाई छुन्छ त्यो चाहिँ लेख्नुपर्छ भन्ने लाग्छ ।

  • तपाईंका लागि साहित्य कर्म सजिलो छ वा गाह्रो ?

दूधलाई दहीबाट नौनी बनाएर घिउ निकाले जस्तै हो मान्छेको जीवनमा साहित्य । सबैले यसलाई अनुभूत गर्छन्, तर लेख्ने कला भने थोरैमा मात्र हुन्छ । अनुभव र अभ्यासले पनि यसमा फरक पार्छ । सुन्दर फूलको बगैँचा देख्दा मान्छे जसरी खुसी हुन्छ, साहित्यले पनि मान्छेको जीवनलाई त्यसैगरी सुखद बनाउँछ । साहित्यले त लेख्नेलाई पनि खुसी बनाउँछ र पढ्नेलाई पनि । यो त मान्छेको मनको गहना हो । यसलाई सजिलो वा गाह्रो भनेर म भन्दिनँ ।

साहित्यमा चुर्लुम्म डुबेकाहरू कसैलाई पनि यो कर्म गाह्रो हुन्छ, मलाई लाग्दैन । आफूलाई मन लागेको बेलामा वा फुरेको बेलामा छिटै लेखिएला । कहिलेकाहीँ लामो समयसम्म एक अक्षर पनि नलेखिएला । यस कर्ममा मैले कहिले पनि अप्ठ्यारो वा गाह्रो महसुस गरेकी छैन ।

  • लेखक साहित्यकारबारे अनेक मिथहरू हुन्छन् । तपाईं त झन् यौन कथा लेख्ने मान्छे ? आफ्नाबारे के कस्ता मिथ सुन्नु भएको छ त ?

अहिले त सामाजिक सञ्जाल र अनलाइनले लेखक र पाठकलाई एकअर्काको धेरै नजिक ल्याएको छ । हाम्रो पालामा त यस्तो थिएन । अरूले जे भने पनि म यथार्थवादी लेख्छु जस्तो लाग्छ । मिथका किस्सा त टन्नै छन् । आजभन्दा १५–२० वर्ष अगाडि ‘यौन र अनुभूति’ भन्ने मेरो किताब छापियो । यो किताब धेरै संस्करणमा आयो । मेरो एक जना सहकर्मीले दसैँमा घर जाँदा अरूको किताबको साथमा यो पनि बोकेर जानुभएछ । बसमा केही पढ्नुभएको थियो, तर घरमा पुगेको केही दिनमा राखेको ठाउँबाट किताब हरायो रे । छोराले धुइँपताल गरेर किताब खोजेको देखेर ७० वर्षको बुबाले ‘के खोजेको ?’ भन्नुभएछ । कुरा गर्दै जाँदा ‘यौन र अनुभूति’ उहाँको बुबाले पढिरहनुभएको रहेछ । ‘म पढिरहेको छु, सकिएको छैन, छाडेर जाँ’ भन्नुभएछ । घरबाट फर्किएपछि उहाँले मलाई यो कुरा सुनाउनुभयो । ३० वर्षको छोरा र ७० वर्षको पिता दुवैमा सो पुस्तकप्रति रुचि/जिज्ञासा देखेर अहिले पनि मलाई निकै रमाइलो महसुस हुन्छ ।

यो किताब पढेपछि मलाई भेट्न अफिसमा पाठक आएका किस्सा पनि छन् । तर एउटा घटनामा चाहिँ एक जना पाठकले मलाई देखेर असन्तुष्ट भए । ‘तपाईं त हिपोक्रेट जस्तो हुनुहुँदो रहेछ’ भनेर भन्नुभयो । साहित्यकारले आफ्नो कृतिमा जे लेख्छ, ऊ त्यहीँ हुँदैन भन्ने कुरा मान्छेले बुझ्दैनन् । अझ यौन कथामा त अवचेतन मनको कुरा धेरै आउँछ । तपाईं घोत्लिनुभयो, त्यसैमा हराएर लेख्नुभयो, त्यसपछि लेखकको काम सकियो । अब बाँकी काम पाठकको काम हो । अब त्यसमा भएको पात्रलाई पाठकले लेखकभित्र खोजेर कहाँ भेटिन्छ र ?

  • तपाईंको हातमा धेरैजसो आख्यानका किताब हुन्छन् कि गैर–आख्यान ?

मलाई त सबै मनपर्छ, सबै पढ्छु । मेरो लेखनको सुरुवात कविताबाटै भएको हो । त्यसैले कविता पनि मलाई उत्तिकै मनपर्छ । उपन्यास र कथा पनि उत्तिकै रुचिका साथ पढ्छु ।

  • तपाईंले बारम्बार दोहोर्‍याई–तेहर्‍याई पढ्नुभएको कुनै किताब छ ?

बीपी कोइरालाको आत्मवृत्तान्त । यो किताब मैले बीसौँ चोटि पढेकी छु । हरेक चोटि केही न केही कारणले पढेको हुँ । तीन–चार चोटि पढेको अरू धेरै किताब छन् । कतिपय राम्रा किताबहरू एकचोटि मात्रै पढेर पुग्दैन । फिल्म पनि त्यस्तै हुन् । म त मन परेको फिल्म पनि दर्जन पटक दोहोर्‍याएर हेर्छु । नेटफ्लिक्समा एउटा हिन्दी फिल्म १५–२० चोटि हेरेको छु ।

बीपी त बितेर जानुभयो । जीवित रहेका ती पात्रले आफ्नो कुरा राख्न पाएनन् । बीपीको कुरालाई पुष्टि गर्न वा प्रतिवाद गर्ने मौका पाएनन् ।

बीपीको आत्मवृत्तान्त त्यति धेरै पढ्नुको पनि कारण छन् । उनको यो किताब निकै चर्चित भयो । दुई/तीन चोटि मैले सामान्य रूपमा पढेँ । पुस्तकमा आएका नामहरू कुनै न कुनै रूपमा सार्वजनिक व्यक्तित्व थिए । ती सबै हामीले अरू हिसाबले चिनिरहेका मान्छे थिए । किताबमा धेरैजसो पात्रलाई राम्रो देखाइएको छ, तर कतिपयलाई निकै खराब रूपमा चित्रण गरिएको छ । जीवनको त्यत्रो लामो कालखण्डमा सबैसँग उहाँको राम्रो सम्बन्ध थिएनन् होला ।

बीपी त बितेर जानुभयो । जीवित रहेका ती पात्रले आफ्नो कुरा राख्न पाएनन् । बीपीको कुरालाई पुष्टि गर्न वा प्रतिवाद गर्ने मौका पाएनन् । मैले त्यहाँ उल्लेख गरिएका ३२ जना सार्वजनिक व्यक्तित्वहरूको लिस्ट बनाएर आत्मवृत्तान्तको प्रसङ्गसहित उनीहरूसँग कुराकानी गरेर पत्रिकामा स्तम्भ नै चलाए । त्यसैले उनकै किताब धेरै पढ्न पुगेँ ।

  • तपाईं हाल कुन किताब पढ्दै हुनुहुन्छ ?

अचेल धेरै पढेकी छैन । अधिकांश समय घुमफिर र भेटघाटमै बितिरहेको छ । पछिल्लो समय राधिका कल्पितको कथासङ्ग्रह ‘सम्मोहन’ पढ्दै थिएँ ।

  • आफूलाई एकदमै प्रभाव पारेका नेपाली साहित्यकार वा कृतिलाई सम्झिँदा कसलाई सम्झनु हुन्छ ?

प्रभाव नै पारेको त भन्दिनँ । तर मन परेका नेपाली साहित्यकार धेरै हुनुहुन्छ । ध्रुवचन्द्र गौतमको नाम पहिलो नम्बरमा आउँछ । मैले उहाँको जति कृति कसैको पनि पढेको छैन । महिलामा चाहिँ प्रेमा शाहलाई सम्झिन्छु ।

  • नयाँमा कसलाई सम्झिनु हुन्छ ?

मैले नयाँ पुस्तामा खासै पढेको छैन । अहिले अवस्था यस्तो बनिसकेको छ भने ‘असली’ र ‘नक्कली’ साहित्यकार को हो भन्ने छुट्याउनै गाह्रो छ । पहिले त यही मान्छेले लेखेको होला भन्ने हुन्थ्यो । तर पछिल्लो समय साहित्यको ‘स’ थाहा नभएका मान्छेको पनि किताब निस्किरहेका छन् । उनीहरूले घोस्ट राइटिङ गरे वा अरू कसैको सहारा लिए, त्यसलाई कुन कसीमा नाप्ने ? घोस्ट राइटिङ नै गरेको हो भनेर खुलेर भने त पाठकले पनि चित्त बुझाउने बाटो हुन्थ्यो । तर, त्यो पनि नभन्ने परिपाटी व्याप्त छ ।

साहित्यको विषयमा धेरै जनासँग मेरो अन्तरक्रिया हुँदैन । म बसेकै ठाउँमा एउटा अमेरिकीहरूको सानो समूह छ । यो समूहले पाण्डुलिपि पढेर प्रतिक्रिया दिन्छ ।

यस्तो प्रवृत्तिले वास्तविक साहित्यकारलाई छायामा पारिदिन्छ । केही समय अघिको कुरा हो ‘मैले त किताबै पढेको छैन, नेपाली साहित्य नै पढेको छैन’ भन्ने एक जना मित्रले दुई–तीन वर्षपछि त ३–४ वटा उपन्यास निकाले । म त छक्क परेँ । आफूले कसैलाई आफ्नो कुरा भनेर उपन्यास लेखाइरहेको सुनेपछि म हक्क न बक्क भए । लेख्ने सिप, कला भएकाहरूले त राम्रो रोजगारी पाइरहेका छन् । त्यसैले यस विषयमा बोल्न म अलि हिचकिचाएँ है ।

  • विदेशी साहित्यकार नि ?

मैले हिन्दी साहित्यका किताब धेरै पढेकी छु । मलाई सबैभन्दा मन पर्ने भारतीय लेखक हुन्– निर्मल वर्मा । उहाँको कथा, उपन्यास सबै मलाई उत्तिकै मन पर्छ । म धेरै हदसम्म वर्माबाट प्रभावित छु । मलाई उहाँको लेखन शैली असाध्यै मन पर्छ । नेपालमा उहाँलाई पढ्ने अलि कम छन् कि जस्तो लाग्छ । उहाँपछि कमला दास र अमृता प्रितमको नाम आइपुग्छ ओठमा ।

  • लामो समयदेखि अमेरिकामा हुनुहुन्छ, यहाँ र त्यहाँको साहित्यिक माहौल कस्तो पाउनु भयो ?

साहित्यको विषयमा धेरै जनासँग मेरो अन्तरक्रिया हुँदैन । म बसेकै ठाउँमा एउटा अमेरिकीहरूको सानो समूह छ । यो समूहले पाण्डुलिपि पढेर प्रतिक्रिया दिन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का माध्यमबाट अहिले विश्वभर नेपाली साहित्यिक कार्यक्रमहरू भइरहेका छन् । हरेक देशमा यसको च्याप्टर छ । बाक्लै कार्यक्रमहरू भइरहेका छन् । अमेरिका जस्तो व्यस्त ठाउँमा काम गरेर नेपाली साहित्यका लागि समय निकाल्नु उत्साहप्रद नै भन्नुपर्छ ।

  • नेपालको साहित्यिक अवस्था चाहिँ ?

राम्रा–राम्रा किताबहरू निस्किएका छन् । कति पुरस्कृत पनि भएका छन् । विश्व जगतमा नेपाली साहित्य किन पुगेनन् वा किन पुरस्कृत हुँदैनन् भन्ने प्रश्न धेरै सुनिन्छ । हामीले नै विश्व स्तरको पुरस्कार स्थापना गरेर विश्वभरका कृतिलाई यहाँ बोलाउँदा पनि भइहाल्यो नि । त्यो समय पनि आउँला । फेरि किताब पुरस्कृत हुँदैमा मात्रै ठुलो वा राम्रो हुने होइन, कुनै कृतिले मान्छेको मन छुनु नै ठुलो पुरस्कार हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप