बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकारले झुक्यायो, माघ १६ देखि फेरि सडक सङ्घर्ष : डा. निकोलस भुसाल

शनिबार, २६ पुस २०८२, १८ : ३३
शनिबार, २६ पुस २०८२

सारांश

  • सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै ‘पहिला देश’ अभियानले माघ १६ गतेदेखि देशव्यापी सडक सङ्घर्षको घोषणा गरेको छ।
  • जेनजीका माग पूरा गर्न भएको सहमति कार्यान्वयन नभएको भन्दै अभियानले सरकारलाई झुक्याएको आरोप लगाएको छ।
  • अभियानका संयोजक एसपी शाह र पूर्व आइजिपी सर्वेन्द्र खनालले सरकारको कार्यशैलीको विरोध गर्दै नयाँ सङ्घर्षको आवश्यकता औंल्याए।

काठमाडौँ – सरकारले विगतमा गरेका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै 'पहिला देश' (पिपुल्स रेभ्युलेसन) अभियानले पुनः आन्दोलनको घोषणा गरेको छ। शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अभियानका प्रवक्ता डा. निकोलस भुसालले सरकारले आफूहरूलाई झुक्याएको आरोप लगाउँदै आगामी माघ १६ गतेदेखि देशव्यापी सडक सङ्घर्ष सुरु गर्ने जानकारी दिए।

जेनजीका मागहरू पूरा गर्न ११ दिनसम्म अनसन बसेपछि सरकारसँग सहमति भएको स्मरण गर्दै डा. भुसालले ती बुँदाहरू कार्यान्वयनमा सरकारले उदासिनता देखाएकोमा आक्रोश व्यक्त गरे। "मेरो अनसन तोडाउन सहमति त गरियो तर कार्यान्वयन भएन, सरकारले हामीलाई झुक्याउने काम मात्र गर्‍यो," उनले भने। यथास्थितिमा हुने निर्वाचनले मुलुकको समस्या समाधान नगर्ने दाबी गर्दै उनले निर्वाचन रोक्न र जेनजी म्याण्डेटअनुसार अघि बढ्न आन्दोलनको विकल्प नरहेको चेतावनी दिए।

अभियानका संयोजक एसपी शाहले सरकारले सम्झौता पालना नगरेकाले बाध्य भएर सङ्घर्षको बाटो रोज्नुपरेको बताए। यस्तै, पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले वर्तमान सरकार पनि पुरानै गलत बाटोमा हिँडिरहेकाले यसको विकल्प खोज्नुपर्ने धारणा राखे। अर्का अभियन्ता दिनेश सुवेदीले मुलुकमा बढ्दो अराजकता अन्त्य गरी राजनीतिक स्थायित्व दिन नयाँ सङ्घर्ष आवश्यक रहेको उल्लेख गरे।

यसैबीच, 'पहिला देश' को पहिलो विस्तारित बैठकले साङ्गठनिक स्वरूपलाई समेत पूर्णता दिएको छ। बैठकले १०८ सदस्यीय केन्द्रीय समिति, ३१ विभागीय प्रमुख र ७ स्वायत्त विकास राज्य प्रमुखहरू चयन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप