बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मेरो उद्देश्य कांग्रेसको समग्र एकता र रूपान्तरण मात्र हो : डा.शेखर कोइराला

आइतबार, २७ पुस २०८२, १३ : ३४
आइतबार, २७ पुस २०८२

सारांश

  • काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
  • आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
  • यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा विद्यमान राजनीतिक अस्थिरतालाई चिर्न र संविधानको रक्षा गर्न पार्टीको आन्तरिक एकता आवश्यक रहेको बताएका छन् । जेनजी आन्दोलनपछि बनेको वर्तमान राजनीतिक परिस्थिति र अनिर्वाचित सरकारका कारण संविधान ‘क्षतविक्षत’ भएको उल्लेख गर्दै डा.कोइरालाले लोकतन्त्र जोगाउन कांग्रेसभित्र भावनात्मक एकता आवश्यक रहेको आइतबार एक भिडियो सन्देश जारी गर्दै बताएका हुन् । 

आगामी निर्वाचन र पार्टीको विशेष महाधिवेशनको सन्दर्भलाई जोड्दै डा.कोइरालाले भदौ २४ देखि २७ गतेसम्मको अराजक स्थितिलाई स्मरण गराए । उनले सेनाको सक्रियतामा निकास खोज्नुपर्ने अवस्था आउनु लोकतन्त्रका लागि सुखद नभएको बताए । भावी पुस्तालाई फेरि सङ्घर्ष र बलिदानको मध्ययुगीन चरणमा धकेल्न नहुने उनको तर्क छ । डा.कोइरालाले आफूलाई मन्त्री, प्रधानमन्त्री वा पार्टी सभापति बन्ने कुनै व्यक्तिगत महत्त्वाकाङ्क्षा नरहेको बताए । 

 ‘मलाई मन्त्री वा महामन्त्री हुने लोभले कहिल्यै आकर्षित गरेन, यस्ता अवसरहरू आउँदा पनि मैले रुचि देखाइनँ,’ डा.कोइरालाले भिडियोमा भनेका छन्, ‘सभापति र प्रधानमन्त्री हुने कुराले पनि मलाई लोभ्याउँदैन । मेरो उद्देश्य कांग्रेसको समग्र एकता र रूपान्तरण मात्र हो ।’

उनले बीपी कोइरालाको ‘मेलमिलापको नीति’ अहिले झनै सान्दर्भिक भएको बताए । उनले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली र अर्कोतिर युवाहरूको चर्को असन्तोषको बिचमा रहेर आफूले सन्तुलन कायम गर्ने प्रयास गरिरहेको भिडियोमा बताएका छन् । उनले भने, ‘मलाई थाहा छ कांग्रेस सङ्क्रमणमा पर्दा कसरी त्याग र अपमान सहनुपर्छ । म ती सबै सहेर पनि कांग्रेसजनको भावनात्मक एकताका लागि लागिरहनेछु ।’

उनले विशेष महाधिवेशन भनेर काठमाडौँ आएका महाधिवेशन प्रतिनिधिहरूलाई सहमतिको बिगुल फुक्न र विधिको शासन स्थापित गर्न आह्वान गरे ।  ‘तपाईंहरू पार्टीको धरोहर हुनुहुन्छ । विधिको प्रभावकारिता र एकताको ऐतिहासिक दायित्व तपाईंहरूको काँधमा छ,’ कोइरालाले भने । 

अन्तर्राष्ट्रिय समुदाय र शुभचिन्तकहरूले पनि कांग्रेस एकजुट भएको हेर्न चाहेको उल्लेख गर्दै डा.कोइरालाले जबसम्म पार्टी र देशले सही निकास पाउँदैन, तबसम्म आफ्नो ‘भगीरथ प्रयास’ जारी रहने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप