बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेस विशेष महाधिवेशन

शेखर कोइरालाको ‘लाइन’ तोड्दै विशेष महाधिवेशनको पक्षमा उभिए केदार कार्की

उनी भन्छन्, ‘कमान्डर विचलित भए पनि म एजेन्डाबाट टसको मस छैन’
आइतबार, २७ पुस २०८२, १४ : १३
आइतबार, २७ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका नेता केदार कार्कीले शेखर कोइरालाको साथ छाडेर विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।
  • कार्कीले नेतृत्व परिवर्तन र नीतिगत सुधारका लागि विशेष महाधिवेशन आवश्यक रहेको बताए, र उनले ६० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको सहभागिता हुने दाबी गरे।
  • विशेष महाधिवेशनले नीति मात्र नभई नेतृत्व पनि परिवर्तन गर्ने कार्कीको भनाइ छ, र उनले यसलाई 'आमूल परिवर्तन' को रूपमा व्याख्या गरे।

नेपाली काङ्ग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरङ्ग सिर्जना भएको छ। संस्थापन इतर समूह (विशेष गरी डा. शेखर कोइराला पक्ष) का प्रभावशाली नेता मानिने कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफ्नै गुटका नेता डा. शेखर कोइरालाको साथ छाडेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्दै काङ्ग्रेसका असन्तुष्ट पक्ष (महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा)ले काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘विशेष महाधिवेशन’ सुरु गरेका छन्। डा. शेखर कोइरालाले यो अभियानमा असहमति जनाउँदै  आए पनि कार्की भने खुलेरै विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

नेतृत्व परिवर्तन र नीतिगत सुधारका लागि नियमित महाधिवेशन कुर्न नसकिने निष्कर्ष निकाल्दै कार्कीले आफू एजेन्डाबाट विचलित नभएको जिकिर गरेका छन्। ‘कमान्डर विचलित हुँदैमा सिपाही विचलित हुनुपर्छ भन्ने छैन,’ उनले भनेका छन्। काठमाडौँ ओर्लिएर भृकुटीमण्डपको अभियानमा होमिएका नेता केदार कार्कीसँग गरिएको संक्षिप्त कुराकानी :

  • तपाईं काठमाडौँ आइपुग्नु भयो,  विशेष महाधिवेशनको अभियानमा सहभागी हुनकै लागि जानू भएको हो ?

- हो, म काठमाडौँ आएँ। म त भृकुटीमण्डप नै गइसकेँ। अस्ति नै (जिल्लामा वा पहिले) हस्ताक्षर गरेको भरमा मात्र हुँदैन भनेर म आफैँ उपस्थित भएको हुँ।

  • तपाईंले पहिले त यो विषयमा खुलेर बताउनु भएको थिएन । अन्तिममा किन जान' भएको ?

- हेर्नुस्, अस्ति नै समर्थन गरेर मात्र के हुन्छ ? लगनमा पो सिन्दूर हाल्ने त ! पहिले नै हालेर मात्र बिहे हुन्छ र ? विवाह सम्पन्न हुन मण्डपमै पुग्नुपर्छ। यो विशेष महाधिवेशनको अभियान पनि त्यस्तै हो। म यसका लागि पूर्ण रूपमा तयार छु।

  • तपाईं डा. शेखर कोइराला निकट मानिनुहुन्छ। तर, उहाँले यो विशेष महाधिवेशनको अभियानमा साथ दिनुभएको छैन। तपाईंहरूका प्रतिनिधिहरू पुग्छन् त ?

-मजाले पुग्छन्। तपाईं हेर्दै जानुहोला, ६० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको सहभागिता हुन्छ।

  • तर तपाईंको ‘कमान्डर’ (शेखर कोइराला) नै यो अभियानको विपक्षमा देखिनुभएको छ। उहाँको लाइन छोड्नु भएको हो ?

- सुन्नुस्, म कुनै पनि एजेन्डाबाट विचलित भएको छैन। १४औँ महाधिवेशन भन्दा अगाडि मेरो जे एजेन्डा थियो, मेरो लेख, बोली र धारणा तपाईंहरूले हेर्नुभएको छ भने म अहिले पनि त्यहीँ छु। म हिजो पनि विचलित थिइनँ, आज पनि छैन। कमान्डर विचलित हुनुभयो होला, तर कमान्डर विचलित हुँदैमा अरू सबै विचलित हुनुपर्छ भन्ने छैन। नियमित महाधिवेशन अब विधान अनुसारको समयमा हुन नसक्ने पक्का भइसक्यो। त्यस कारण विशेष महाधिवेशनको अपरिहार्यता झन् बढ्यो। यसमा शेखर कोइरालाको एजेन्डा पास गराउने मेरो अभिभारा पनि हो, दायित्व र कर्तव्य पनि हो। तर, नेतृत्वले बाटो बिरायो भनेर एजेन्डा नै छोड्ने कुरा आउँदैन।

  • विशेष महाधिवेशनले पार्टी विभाजनको रेखा कोर्छ भन्ने शेखर कोइरालाको तर्क छ नि ?

- कमान्डर आफैँ विचलित हुनुभयो भने पनि एजेन्डा सही छ भने त्यसमा लाग्नुपर्छ। अब यो विशेष महाधिवेशनमा शेखर कोइराला छुट्नु भयो भने उहाँको राजनीतिक भविष्य के हुन्छ, त्यो उहाँले सोच्ने कुरा हो। उहाँहरू पनि ढिलो-चाँडो यही लाइनमा आउनुपर्ने हुन सक्छ। अहिले काङ्ग्रेसमा स्पष्ट दुईटा लाइन देखियो– एउटा शेरबहादुर देउवाको यथास्थितिवादी लाइन र अर्को विशेष महाधिवेशन पक्षधरको लाइन। अब कित्ता क्लियर गर्नुपर्छ।

  • यो विशेष महाधिवेशनको मुख्य उद्देश्य के हो ? नीति परिवर्तन मात्रै कि नेतृत्व परिवर्तन पनि ?

- विशेष महाधिवेशन भनेको सामान्य कुरा होइन, यो ‘ड्रास्टिक चेन्ज’ (आमूल परिवर्तन) हो। यो बाढीजस्तै हो, बाढी आएपछि त्यसले धेरै कुरा बगाएर लैजान्छ र नयाँ निर्माण गर्छ। यसले नीति मात्र होइन, नेतृत्व पनि परिवर्तन गर्छ। अब हलमा (बन्दसत्रमा) गइसकेपछि हलले जे पास गर्छ, त्यो सबैले स्वीकार गर्नुपर्छ। हलले नेतृत्वको विकल्प खोज्यो भने, प्रस्ताव आयो भने त्यो पास हुन्छ। मेरो व्यक्तिगत विचार सोध्नुहुन्छ भने विशेष महाधिवेशन भनेको आमूल परिवर्तन नै हो।

  • भृकुटीमण्डपमा अहिलेको स्थिति के छ ? कति जना प्रतिनिधिले नाम टिपाउनु भयो ?

- अहिले साथीहरू उत्साहजनक रूपमा दर्ता प्रक्रियामा सहभागी भइरहनुभएको छ। दर्ता गर्ने लाइन लागिरहेको छ। ६० प्रतिशत पुग्ने देखिन्छ। हामी अन्तिम समयसम्म पनि प्रतिनिधिहरूलाई स्वागत गर्न तयार छौँ। यो सङ्ख्या बढ्दो क्रममा छ।

  • भनेपछि अब पछाडि हट्ने सम्भावना छैन ?

- अब हस्ताक्षर गरेर मात्र पुग्दैन भनेर म आफैँ आएर लागिसकेँ। बहुमत पुग्छ, हस्ताक्षर सङ्कलन हुन्छ र विशेष महाधिवेशन सफल हुन्छ। यसमा कुनै शङ्का छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप