शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

३०४औँ पृथ्वी जयन्तीमा सेनाले गर्‍याे विविध कार्यक्रम

आइतबार, २७ पुस २०८२, २१ : ३७
आइतबार, २७ पुस २०८२

काठमाडौँ । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले आज देशभर तथा विदेशस्थित युनिटहरूमा समेत विविध कार्यक्रम आयोजना गरेको छ ।

आइतबार जङ्गी अड्डामा आयोजित विशेष समारोहमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति ’राष्ट्र निर्माता सलामी’ अर्पण गरिएको छ । सो अवसरमा प्रधान सेनापति अशोक राज सिग्देल, पूर्व प्रधान सेनापतिहरू, रथीवृन्द तथा अधिकृतहरूले जङ्गी अड्डास्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गरेका थिए ।

यस वर्षको मुख्य आकर्षणको रूपमा रहेको ‘एकीकरण मार्ग पदयात्रा’ को आजै समापन गरिएको छ । गत पौष २१ गते गोरखा दरबारबाट राष्ट्रिय झन्डा, दिपज्योति र नेपाली सेनाका प्रथम पाँच पल्टनहरू (श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज तथा पुरानो गोरख) को झन्डासहित सुरु भएको पदयात्रा गोरखा, धादिङ र नुवाकोट हुँदै काठमाडौँको हनुमान ढोकामा ल्याइएको थियो । 

हनुमान ढोकाबाट पृथ्वी नारायण शाहको तस्बिरलाई बग्गीमा राखी नगर परिक्रमा गराउँदै उक्त टोली आजै जङ्गी अड्डामा आयोजित समारोहमा सहभागी भएको थियो ।

जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित कार्यक्रममा पृथ्वी जयन्तीको सन्दर्भमा सञ्चालित कविता प्रतियोगिताका उत्कृष्ट सिर्जनाहरू वाचन र लघु नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा इतिहासविद्हरूले नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको विशिष्ट योगदानबारे बोलेका थिए । सो अवसरमा विभिन्न प्रतियोगिताका विजयी, निर्णायक तथा प्रवाचकहरूलाई प्रधान सेनापति सिग्देलले पुरस्कार तथा सम्मान प्रदान गरे ।

नेपाली सेनाले इतिहासको जगेर्ना र पुर्खाको योगदानको सम्मान गर्ने उद्देश्यले मुलुकका अन्य भागमा पनि ऐतिहासिक पदयात्राहरू सञ्चालन गरिरहेको छ । यसै क्रममा धरानको फुस्रेदेखि धनकुटाको पाख्रीबाससम्म ‘ऐतिहासिक साँघुरीगढी पदयात्रा’, उदयपुरमा ’उदयपुरगढी–चौदण्डी गढी पदयात्रा’, इलाममा ’नागरीगढी–माईस्थान निशान पदमार्ग पदयात्रा’ र रामेछापमा ‘तिल्केस्थान गढी पदयात्रा’ जस्ता कार्यक्रमहरू भइरहेका छन् ।

पुर्खाको गौरवपूर्ण इतिहास र पुरातात्त्विक संरचनाहरूको संवर्द्धन गर्ने लक्ष्यसहित सेनाले हरेक वर्ष यो दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप