‘प्रशान्त तामाङको क्रेज यस्तो थियो, एल्बमको माग धान्नै गाह्रो भयो’
गायक तथा अभिनेता प्रशान्त तामाङसँगको मेरो सम्बन्ध व्यावसायिक मात्र थिएन, पारिवारिक र भावनात्मक थियो । उनलाई मैले पहिलो पटक ‘इन्डियन आइडल’को तेस्रो सिजनमा टेलिभिजनको पर्दामा देखेको हुँ । जब इन्डियन आइडलको तेस्रो सिजनमा उनी टप टेनमा छनोट हुँदै अगाडि बढ्न थाले, तब उनीप्रति नेपालीहरूको चासो बढ्न थाल्यो ।
शोको निर्णायकमध्ये एक उदितनारायण झा पनि हुनुहुन्थ्यो । झा र प्रशान्तबिचको संवाद, प्रशान्तले गाउने गीत र उनको सरलता देख्दा एउटा नेपाली हुनुको नाताले छुट्टै किसिमको गर्व र आनन्द महसुस हुन्थ्यो । संसारभरि छरिएर रहेका नेपालीभाषीहरूलाई एउटै सूत्रमा बाँध्न नेपाली मूलका प्रशान्त सफल भएका थिए ।
जतिबेला उनी इन्डियन आइडलको विजेता बनेर चर्चामा थिए, त्यतिबेला म संगीत व्यवसायमा सक्रिय भएकाले उनीसँग जोडिने र उनको प्रतिभालाई नेपालमा प्रवर्द्धन गर्ने भोक ममा जाग्यो । कार्यक्रम हेर्दै गर्दा मैले अठोट गरेको थिएँ, प्रशान्त विजेता बनेपछि उनको पहिलो एल्बम हाम्रो कम्पनी म्युजिक डट कमबाट निकाल्नुपर्छ ।
संयोगवश उनी इन्डियन आइडल विजेता बने । त्यसपछि मैले व्यावसायिक प्रक्रिया अगाडि बढाउन इन्डियाको सोनी बीएमजी म्युजिक कम्पनीसँग सम्पर्क गरें । त्यतिबेला नेपाली गीतहरूको प्रतिलिपि अधिकारको कुरा निकै पेचिलो थियो । कुन गीत गाउने, कसका गीत गाउने र स्रष्टाहरूसँग कसरी सम्झौता गर्ने भन्ने विषयमा सोनी म्युजिकले हामीसँग समन्वय गर्न थाल्यो । इमेल र फोनबाट विभिन्न सहमतिहरू हुँदै गए र अन्ततः सोनी बीएमजीले हामीलाई सम्झौताका लागि मुम्बई बोलायो ।

मुम्बईमा सोनी बीएमजीको कार्यालयमा मेरो उनीसँग पहिलो भेट भयो । उनी त्यति ठुलो सफलता पाएर पनि कति शालीन र सरल थिए भन्ने कुराले मलाई अचम्मित बनायो । भेट हुनेबित्तिकै उनले गुनगुनाएको पहिलो गीत थियो, ‘यो गाउँको ठिटो म, कान्छा मेरो नाम, आउँदै जाँदै गर्नु है, सबैलाई राम राम’ । यो गीत उनको परिचय जस्तै बनेको थियो । उनले आफू जहाँ जन्मिएपनि आफूलाई जहिल्यै ‘नेपाल आमाको पुत्र’का रूपमा चिनाए । मुम्बईको त्यो भेटमा हामीले आधिकारिक रूपमा सम्झौता गर्यौं र उनको एल्बम ‘धन्यवाद’ नेपालभर वितरण गर्ने जिम्मा हाम्रो कम्पनी लियो ।
त्यो समय क्यासेट, सीडी र डीभीडीको स्वर्ण युग थियो । प्रशान्तको क्रेज यति धेरै थियो कि बजारमा उनको एल्बमको माग धान्नै गाह्रो भयो । ‘धन्यवाद’ एल्बमको सफलतापछि मैले अर्को एल्बम ‘नमस्ते’ को तयारी गरें । एल्बमका धेरै गीत हामीले नेपालमै रेकर्ड गरायौं । भुषण दाहाल, प्रसन्न पौडेल र आलोक नेम्वाङ जस्ता राम्रा निर्देशकहरूले उनका गीतको भिडियो तयार गर्नुभयो । ‘असारे महिनामा’ र ‘यो मन त मेरो नेपाली हो’ जस्ता गीतहरूले हरेक नेपालीको घर र मनमा ठाउँ बनाए ।
संगीतसँगै कम्पनीमार्फत हामीले फिल्म निर्माणमा पनि पाइला चाल्यौँ । मेरो कम्पनी ‘मुभिज डट कम’बाट हामीले ‘कोही मेरो’ र ‘गोर्खा पल्टन’ एकैसाथ निर्माण गर्ने निर्णय गर्यौं । ‘गोर्खा पल्टन’का लागि हामीलाई यस्तो पात्र चाहिएको थियो, जसमा लाहुरेको पृष्ठभूमि होस् र तामाङ–मगर–गुरुङ समुदायले आफ्नै ठानोस् । प्रशान्त यसका लागि फिट थिए । नारायण रायमाझीको निर्देशनमा बनेको यो फिल्मले अभूतपूर्व सफलता पायो । बन्द भइसकेका हलहरू पुनः सञ्चालनमा आए, गाउँगाउँमा मेला लागे जस्तै भिड भयो । मेचीदेखि महाकालीसम्म प्रशान्तको नाम गुञ्जियो ।
म जहिल्यै उनलाई भन्थेँ- तिमीमा त्यो प्रतिभा छ, जुन डेनी डेन्जोङ्पा दाइले बलिउडमा बनाउनुभएको थियो ।‘ उनी पनि मेरो कुरामा सहमत हुँदै भन्थे, ‘हजुरले भनेजस्तै मेरा पाइलाहरू बिस्तारै अगाडि बढ्दैछन् दाइ ।’ उनले मेरो फिल्म ‘परदेशी’ र ‘परदेशी २’ समेत अभिनय गरे ।
तर नियति कति निष्ठुरी रहेछ । ‘परदेशी २’ को छायाङ्कनका क्रममा उनी नेपालमै रहँदा स्वास्थ्यमा केही समस्या देखिएको थियो । हामीले उनलाई नर्भिक हस्पिटल पुर्यायौं, चेकजाँच गरायौं । पछि थप उपचारका लागि उनी दिल्ली गएका थिए । त्यतिबेला म केही चिन्तित त थिएँ, तर यति चाँडै उनले हामीलाई छोडेर जालान् भन्ने कल्पनासम्म पनि गरेको थिइनँ ।
प्रशान्तको व्यक्तित्वका कुरा गर्दा उनी असाध्यै सकारात्मक सोच भएका व्यक्ति थिए । सफलताको उचाइमा पुग्दा पनि उनमा कहिल्यै घमण्ड देखिएन । उनी साथीभाइका लागि जस्तै सहयोग गर्न पनि तयार हुन्थे । कसैले केही माग्यो वा भन्यो भने उनले कहिल्यै नाइँ भन्न जानेनन् । उनी जहिल्यै भन्थे, ‘राजेश दाइ, म जब मुम्बई वा दिल्लीबाट जहाज चढेर नेपाल आउँछु, जहाजबाट नेपाली सिमाना र ती पहाडहरू देख्नेबित्तिकै मलाई अर्कै आनन्द आउँछ । लाग्छ, म आफ्नै घरमा, आफ्नै परिवारको काखमा फर्किएँ ।’

उनी नेपाल र नेपालीलाई हृदयदेखि नै माया गर्थे । काम गर्दै जाँदा हाम्रो सम्बन्ध यति नजिक भयो कि उनी नेपाल आउँदा मेरो घरमा आउने, मेरो परिवारसँग समय बिताउने गर्थे । एकपटक त उनले आफ्नी श्रीमती र आमालाई पनि लिएर आए । हामीले सँगै खाना खाएर, गफिएर धेरै समय बिताएका थियौँ । उनी मेरो लागि एउटा कलाकार मात्र नभएर परिवारको सदस्य जस्तै थिए ।
पछिल्लो समय उनी बलिउड र ओटीटी प्लेटफर्ममा पनि जम्दै थिए । उनले चर्चित सिरिज ‘पाताल लोक २’ मा काम गर्ने ठुलो अवसर पाएका थिए । करिब दुई–तीन हप्ता अगाडि मात्रै उनीसँग मेरो झण्डै डेढ घण्टा लामो फोनमा कुरा भएको थियो । उनले निकै उत्साहका साथ मलाई सुनाएका थिए, ‘दाइ मैले सलमान खान सरसँग स्क्रिन सेयर गरेको छु, फिल्म ‘ब्याटल अफ गलवान’मा मेरो महत्त्वपूर्ण भूमिका छ । काम गर्दा निकै मज्जा आयो ।’ उनले मलाई मुम्बई आउन र सलमान खानसँग पनि भेटाउने कुरा गरेका थिए । उनले भन्थे, ‘अब सुटिङ र डबिङका लागि मुम्बई धेरै बस्नुपर्ने हुन्छ, म दिल्लीबाट मुम्बई नै सिफ्ट हुने सोचमा छु ।’
हिजो प्रशान्तको निधनको खबर सुन्दा र आज प्रशान्त हामीमाझ छैनन् भन्दा विश्वासै लाग्दैन । यो खबरले म मात्र होइन, संसारभरका नेपाली र विशेषगरी संगीत तथा फिल्म क्षेत्र स्तब्ध छ । आज मलाई जापान, अमेरिका, काठमाडौं सबैतिरबाट साथीहरूको फोन आइरहेको छ । सबैजना उत्तिकै दु:खी छन् ।
उनले नेपाली संगीत र फिल्ममा दिएको योगदान अतुलनीय छ । प्रशान्तको त्यो सादगी, त्यो मुस्कान र त्यो ‘यो गाउँको ठिटो’ वाला जोस जहिल्यै हाम्रो मानसपटलमा रहनेछ । उनी भौतिक रूपमा सबैबाट बिदा भएपनि गीत र फिल्महरुले सधैँ जीवित राख्नेछन् ।
(संगीत व्यवसायी तथा फिल्म निर्माता राजेश वंशलसँग रातोपाटीकर्मी कुबेर गिरीले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण