विशेष महाधिवेशनका जेनजी भन्छन्ः दलहरू आवश्यक तर नेपाली विभाजित नभइदिऊन्
सारांश
- जुम्लाकी संगीता हमाल बालेन शाहको ठूलो फ्यान रहेको बताइन् र परिवर्तनको हुटहुटी रहेको उल्लेख गरिन्।
- कांग्रेसको विशेष महाधिवेशनमा जेनजीहरूको उपस्थिति देखियो, जहाँ युवा पुस्ताले नेतृत्व हस्तान्तरण र सुशासनको माग गरे।
- युवा पुस्ताले सुशासन, भ्रष्टाचार नियन्त्रण, र सेवा प्रवाहमा सुधारको अपेक्षा गरेको र दलहरूलाई रूपान्तरण हुन आग्रह गरेको पाइयो।
‘मचाहिँ बालेन शाहको ठुलो फ्यान’ जुम्लाकी जेनजी संगीता हमालले फ्याट्ट भनिन् । राजनीतिमा निकै रुचि राख्ने हमाल हालसम्म कुनै पनि राजनीतिक दलसँग आबद्ध छैनन्, तर उनमा परिवर्तनको हुटहुटी भने छ ।
अनेकथरी राजनीतिक पार्टी र नेताका भाषण सुन्दासुन्दै हमाल वाक्क भइसकेकी छन् । धेरै अपेक्षा गरेर फेरि निराश बन्न उनलाई पटक्कै मन छैन । ‘नेताहरूले पिछडिएको क्षेत्रको समस्या बुझेनन्,’ कर्णालीदेखि अध्ययनकै लागि राजधानीमा बसिरहेकी हमाल भन्दै थिइन्, ‘नेताहरूले अनावश्यक भाषण ठोक्नुभन्दा जनतालाई डेलिभरी दिनुपर्छ ।’
जेनजी विद्रोहपछि राजनीतिक दलहरूमा पुस्तान्तरण भएको हेर्ने तीव्र चाहना छ हमालको । यसो भन्दै गर्दा भर्खरै उदाएका नयाँ राजनीतिक दलप्रति उनको त्यति ठुलो अपेक्षा भने छैन । उनले एउटै कुरा दोहोर्याइन्, ‘जनतालाई डेलिभरी दिनुपर्छ ।’ पुराना पार्टीहरूले अब जनतालाई निराश नबनाइदिऊन् भन्ने उनको कामना छ । जुन कुरामा धेरै आशा राखिन्छ, त्यही कुराले निराश बनाइरहेको उनलाई महसुस भएको छ ।
आइतबारदेखि भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा हमालजस्तै उल्लेख्य जेनजीहरूको उपस्थिति देखियो । गत भदौ २३ गतेको जेनजी विद्रोहपछि राजनीतिक दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको व्यापक बहस, छलफल भए । वास्तवमा जेनजीहरू कस्ता नेता चाहन्छन् ? राजनीतिक दल फेरिए कि फेरिएनन् ? अबको नेतृत्व कस्तो हुनुपर्छ ? भृकुटीमण्डपमा भेटिएका केही जेनजीहरूलाई हामीले यी प्रश्नका जवाफ खोज्यौँ ।
रुपन्देही क्षेत्र नम्बर १ का हरि शर्मा न्यौपानेलाई गगन थापाप्रति बढी नै आशा छ, जसरी बीपी कोइराला पार्टीमा स्थापित भएका थिए, अहिले गगन आफ्नो एजेन्डामा स्थापित भएको ठान्छन् उनी । नेपालभरिका कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति देख्दा उनलाई लाग्यो, अब छिट्टै नै कांग्रेस नयाँ नेतृत्व र नयाँ नीतिसहित अगाडि बढ्छ । आफूलाई कांग्रेसको शुभेच्छुक र क्रियाशील सदस्यका रूपमा चिनाएका न्यौपाने लुम्बिनी बौद्ध विश्वविद्यालयमा आर्कियोलोजी (पुरातत्त्व) मा स्नातकोत्तर अध्ययनरत छन् ।
बीपी कोइराला र प्रदीप गिरिबाट एकदमै प्रभावित न्यौपाने यिनै नेताका विचार पढेर कांग्रेसमा आबद्ध भएको बताए । प्रजातन्त्रका लागि लडेका कैयौँ योद्धाको योगदानलाई सम्झिएर उनी दलसँग जोडिए । प्रजातन्त्र बचाउन युवाहरू एकजुट हुनुपर्ने उनले बताए । ‘मान्छेमा एकदमै वितृष्णा जागिरहेको थियो । अहिलेको पुस्ताले एकदम छिटो डेलिभरी र सुशासन खोजिरहेका छन् ।’ बिच–बिचमा पार्टी र नेताहरूले बाटो बिराएजस्तो लागेको बताउने न्यौपाने भन्छन्, ‘अस्पतालमा जाँदा लाइन लाग्न नपरोस्, बेड पाइयोस् । सरकारी काममा ढिलासुस्ती नहोस् ।’
जेनजी उमंग लोहनी उमेरले २१ वर्ष टेके पनि राजनीतिको गहिरो नशामा डुबिसकेका छन् । कानुनका विद्यार्थी उनले राज्य प्रणाली, सर्भिस डेलिभरी, नीति निर्माणका क्षेत्रबारे रातोपाटीसँग लामै विचार राखे । जेनजी विद्रोहपछि अन्य दलहरूको तुलनामा नेपाली कांग्रेस बढी गम्भीर र जिम्मेवार भएको उनले अनेकौँ उदाहरण पेस गरे । क्षमायाचना गर्ने कुरामा कांग्रेस अरूभन्दा अगाडि भएको बताउने लोहनीले कांग्रेस लामो समयदेखि लोकतन्त्र, समाजवाद र विशेषगरी उन्नत लोकतन्त्रका पक्षमा आवाज उठाउँदै आएको राष्ट्रिय शक्तिका रूपमा व्याख्या गरे ।
‘भदौ २३ र २४ गतेपछि जेनजी पुस्तामा निराशा बढ्दो छ, त्यसलाई स्वीकार गर्नुपर्छ,’ लोहनी भन्छन्, ‘हामीबिच धेरै माग उठेका थिए । तिनलाई सम्बोधन गर्नुपर्छ ।’ दलहरूले सुशासन, भ्रष्टाचार नियन्त्रणलगायत विषय सम्बोधन गर्नुपर्ने उनले माग गरे । सुशासनको प्रत्याभूति आजको दिनमा सबैभन्दा पेचिलो विषय हो, उनले राज्यका संस्थाहरू सर्भिस डेलिभरी दिन नसकिरहेको गुनासो गरे ।
जेनजी मुभमेन्ट दलहरूकै अकर्मण्यताका कारण भएको बताउँछन्, रुपन्देहीका निरञ्जन खरेल । प्लस टु पढ्दापढ्दै राजनीतिमा लागेका खरेल दलहरूले जसरी सरकार सञ्चालन गरिरहेका थिए, त्यसमा असन्तुष्टि व्यक्त गर्छन् । ‘नागरिक सन्तुष्ट थिएनन् । त्यसैको कम्पनबाट नै जेनजी मुभमेन्ट भयो ।’ लुम्बिनी वाणिज्य क्याम्पसको पूर्वस्ववियू सचिव र इकाइ उपसभापति रहेका उनले भने, ‘दलका कतिपय गतिविधि, शैली, कुशासन, चरम दलीयकरण, भ्रष्टाचारका कारण नागरिकमा वितृष्णा थियो, त्यसैकारण जेनजी मुभमेन्टका रूपमा विस्फोट भयो ।’
दलहरूले जेनजीले उठाएका एजेन्डालाई कसरी आत्मसात् गर्छन् त्यो मुख्य कुरा रहेको उनी बताउँछन् ।
कांग्रेस आफैँमा लोकतान्त्रिक पार्टी भएकाले समाजको मुद्दा, समाजका एजेन्डा, मागलाई सम्बोधन गर्न सक्षम भएको खरेलको तर्क छ । कांग्रेसले युवा, केटाकेटी, वृद्धका एजेन्डा र अपेक्षा पूरा गर्नुपर्ने उनी बताउँछन् । त्यसका लागि नेपाली कांग्रेसको नेतृत्व महामन्त्री गगन कुमार थापाले लिनुपर्ने पनि उनले बताए ।
भृकुटीमण्डपमा भेटिएका जेनजीहरूको एकमत छ, दलबिना देश बन्दैन । ‘दलबिना पनि म एक्लै देश बनाउँछु भन्ने जुन खालका लहरहरू थिए, ती लहरले काम नगर्ने रहेछ,’ खरेल थप्छन्, ‘दलहरू चाहिँ अब रूपान्तरण हुनुपर्छ, रूपान्तरण एजेन्डामा हुनुपर्छ, रूपान्तरण नीतिमा हुनुपर्छ र त्योभन्दा पनि शैलीमा हुनुपर्छ, व्यवहारमा हुनुपर्छ ।’
जेनजीहरू चाहन्छन्– पार्टीका नाममा नेपालीहरू विभाजित नभइदिऊन् । जेनजीहरूले भदौ २३ मा त्यत्तिकै ज्यान गुमाएका थिएनन् । देश परिवर्तनका लागि ज्यानको आहुति दिएका थिए । जनतामा परिवर्तनको जुन आशा थियो, त्यो आशा नदेख्दा निराशा छाएजस्तो देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण