भूकम्पीय जोखिम न्यूनीकरणका लागि नवीनतम प्रविधि र तयारी अनिवार्य: मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री आचार्यले भूकम्पबाट हुने क्षति कम गर्न प्रविधिको प्रयोग र पूर्वतयारी आवश्यक रहेको बताए।
- कार्यक्रममा विद्यार्थी, शिक्षक र स्थानीय समुदायलाई भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान र जोखिम न्यूनीकरणबारे जानकारी गराइयो।
- भूकम्पविद्हरूले भूकम्पबाट सुरक्षित रहन पूर्वतयारी र सही सूचनाको महत्त्वबारे प्रकाश पारे।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी अनिवार्य रहेको बताएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र न्यु होराइजन स्कुल बुटवलको सहकार्यमा आयोजित भूकम्प विज्ञान तथा भूकम्प सुरक्षा सम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले पूर्वतयारी र सतर्कता सधैँ चुस्त राख्नुपर्नेमा जोड दिए । उनले भविष्यमा क्षति दोहोरिन नदिन सरकार पूर्वसतर्कता र तयारीमा संवेदनशील रूपमा काम गरिरहेको बताए ।
विद्यार्थी, शिक्षक तथा स्थानीय समुदायमा भूकम्पसम्बन्धी वैज्ञानिक ज्ञान विस्तार गर्दै जोखिम न्यूनीकरणका उपायबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका करिब ३५ वटा विद्यालयका ४ हजार विद्यार्थी तथा शिक्षकको सहभागिता रहेको छ ।
नास्टका प्रविधि सङ्काय प्रमुख डा. सुरेशकुमार ढुङ्गेलले नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले विद्यालय तहदेखि नै वैज्ञानिक जानकारी र व्यवहारिक तयारी आवश्यक रहेको बताए । यस्ता प्रवर्द्धनात्मक कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ ।
भूकम्पीय जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता प्रशिक्षणले विद्यार्थी र शिक्षकमा वैज्ञानिक बुझाइ विकास गर्ने तथा आपत्कालीन अवस्थामा सही निर्णय लिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
न्यु होराइजन स्कुलका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालय केवल पठनपाठनको केन्द्र मात्र नभई जीवन उपयोगी ज्ञान सिक्ने स्थल भएको उल्लेख गर्दै नास्टसँगको सहकार्यले विद्यार्थीमा भूकम्पीय सचेतना र व्यवहारिक सीप विकासमा ठूलो योगदान पुग्ने बताए ।
वरिष्ठ भूकम्पविद् डा. लोक विजय अधिकारीले भूकम्प पूर्वतयारी र सही सूचना नै क्षति न्यूनीकरणको मूल आधार भएको बताए । भूकम्प कहिले आउँछ भन्ने जानकारी नभए पनि आउँदा कसरी सुरक्षित रहने भन्ने ज्ञान अनिवार्य भएको उनको भनाइ छ ।
भूकम्पविद् डा. शिव सुवेदीका अनुसार कार्यक्रममा भूकम्पको उत्पत्ति, प्लेट टेक्टोनिक्स, नेपालमा देखिने भूकम्पीय प्रवृत्ति, सुरक्षित संरचना निर्माण तथा व्यक्तिगत सुरक्षाका उपायहरू प्रवर्द्धनात्मक रूपमा प्रस्तुत गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण