बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बाँकेको सिधनिया घाटमा मकर स्नान गराइने

मङ्गलबार, २९ पुस २०८२, २३ : २०
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • बाँकेको सिधनिया घाटमा पहिलो पटक व्यवस्थित मकर स्नान आयोजना गरियो।
  • माघ १ गते भक्तजनलाई सुरक्षित रूपमा राप्ती नदीमा स्नान गराइनेछ।
  • धार्मिक पर्यटन प्रवद्र्धनका लागि कार्यक्रमको आयोजना गरिएको हो।

नेपालगन्ज  । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर स्नान आयोजना गरिएको छ । यही माघ १ गते नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले नेपाल पर्यटन बोर्ड र स्थानीय डुडुवा गाउँपालिकासँगको साझेदारीमा राप्ती नदी तटमा मकर स्नानको आयोजना गर्न लागेको हो ।

नाट्टा अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा भएको बैठकले पुस ३० गते राति राप्ती नदीको सिधनियाघाटमा भजन–कीर्तनलगायत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सो संस्थाका महासचिव भागीराम ओलीले जानकारी दिए । उनका अनुसार, माघ १ गते बिहान भक्तजनलाई डोरी लगाएर सुरक्षित र व्यवस्थित रूपमा राप्ती नदीमा स्नान गराइने व्यवस्था गरिएको छ ।

कार्यक्रमलाई धार्मिक र सांस्कृतिक महत्त्वका साथै पर्यटकीय आकर्षणको रूपमा थप प्रभावकारी बनाउन राप्ती नदी किनारमा सार्वजनिक शौचालय निर्माण र अस्थायी चेन्जिङ रुम निर्माण गरिनेछ । “यसले आगन्तुक भक्तजनलाई सुविधा र सहजता प्रदान गर्नेछ”, मकर स्नानलाई भव्यता दिन आवश्यक संयोजन गरिरहनुभएका नाट्टा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले भने ।

माघीमा मकर स्नान हिन्दु धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन भएकाले धार्मिक विश्वासअनुसार मकर स्नानले सबै प्रकारका पापबाट मुक्ति दिलाउने जनआस्था छ । बाँके जिल्लामा पहिलोपटक व्यवस्थित रूपमा मकर स्नान कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवर्द्धन गर्नु रहेको उनको भनाइ छ ।

स्थानीय सरकार, पर्यटन व्यवसायी, धार्मिक सङ्घसंस्था र सर्वसाधारणको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ । नाट्टा बाँके च्याप्टरले यस कार्यक्रममार्फत बाँकेलाई धार्मिक तथा पर्यटन गन्तव्यको रूपमा चिनाउने लक्ष्यसमेत लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप