पार्टी फुट्न नदिन सभापति देउवा टिकटको हस्ताक्षर छाड्न तयार : प्रवक्ता महत
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी एकताका लागि लचक देखिएका छन्।
- देउवाले पार्टीभित्रको विवाद मिलाउन टिकट दिने अधिकार अरूलाई दिन तयार रहेको बताएका छन्।
- पार्टी फुट्न नदिने र एकता कायम राख्न सभापतिले जस्तोसुकै त्याग गर्न तयार रहेको प्रवक्ता महतले बताए।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा पार्टी एकताका लागि लचक रूपमा प्रस्तुत भएको बताएका छन्।
उनले पार्टीभित्रको विवाद मिलाउन र एकता कायम राख्न सभापतिले उम्मेदवारलाई टिकट दिने अन्तिम हस्ताक्षरको अधिकारसमेत अरूलाई हस्तान्तरण गर्न तयार रहेको बताएका हुन्।
कांग्रेस पार्टी कार्यालय परिसरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले केही समयअघि सभापति देउवा र महामन्त्रीद्वय (गगन थापा र विश्वप्रकाश शर्मा) बिच भएको छलफल सकारात्मक रहेको बताए। सो छलफलमा सभापतिले अहिलेको मुख्य प्राथमिकता पार्टीलाई एकढिक्का राख्नु रहेको भन्दै यसका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको सन्देश दिएको महतले जानकारी दिए।
'पार्टी फुट्नु हुँदैन, यसमा सबैको भविष्य जोडिएको छ भन्नेमा सभापति चिन्तित हुनुहुन्छ,' महतले भने, 'यदि टिकट वितरणमा प्रयोग हुने हस्ताक्षरले नै एकतामा समस्या ल्याउँछ भने र केन्द्रीय समितिले निर्णय गरेर अरू कसैलाई सो अधिकार दिँदा निर्वाचन आयोगमा कानुनी जटिलता हुँदैन भने सभापतिजी त्यो अधिकार छाड्न तयार हुनुहुन्छ।'
यसअघि समानुपातिक र राष्ट्रिय सभाको सूची सभापतिकै हस्ताक्षरमा गएको भए पनि अब आउने प्रत्यक्षतर्फको टिकटका सन्दर्भमा असन्तुष्टि भए नयाँ व्यवस्था गर्न नेतृत्व तयार देखिएको महतको भनाइ छ। 'कुन नेतालाई हस्ताक्षरको अधिकार दिने भन्ने कुरा केन्द्रीय समितिले निर्णय गरोस्, म तयार छु भन्ने सभापतिको धारणा छ,' उनले प्रष्ट पारे।
प्रवक्ता महतले सभापति देउवाले अब चुनाव लड्दिनँ भनेर घोषणा गरेको भन्ने हल्लामा कुनै सत्यता नभएको दाबी गरे। छलफलका क्रममा सभापतिले आफू संरक्षक भएर बस्ने आसय व्यक्त गरेको भए पनि चुनावै लड्दिनँ भनेर नभनेको महतले स्पष्ट पारेका छन्।
महामन्त्रीहरूले उठाएका टिकट वितरणमा न्यायोचित मापदण्ड र नीतिगत सुधारका विषयहरूलाई संसदीय बोर्ड र केन्द्रीय समितिबाट सम्बोधन गर्न सकिने उनले बताए। महामन्त्रीहरूले राखेका जायज मागहरूलाई समेटेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा सभापति देउवा दृढ रहेको महतको भनाइ थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण