बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तनावबिच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

बिहीबार, ०१ माघ २०८२, १६ : २८
बिहीबार, ०१ माघ २०८२

सारांश

  • इरानले कुनै स्पष्ट कारण नदिई व्यावसायिक उडानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्यो, जसले उड्डयन क्षेत्रमा हलचल पैदा गर्यो।
  • इरानले इजरायलसँगको सैन्य टकरावको संकेत बिना नै हवाई क्षेत्र बन्द गरेको थियो, जसले थप सैन्य गतिविधि वा मिसाइल प्रक्षेपणको जोखिमलाई संकेत गर्यो।
  • अमेरिका र इरानबीचको तनाव बढिरहेका बेला, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी प्रदर्शनकारीहरूलाई सहयोग गर्ने बताएका छन् र संयुक्त राष्ट्रसंघले आपतकालीन बैठक बोलाएको छ।

तेहरान। इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानका लागि आफ्नो हवाई क्षेत्र घण्टौँसम्म बन्द गरेको छ। राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि इरानी सरकारले गरेको दमनका कारण अमेरिकासँग तनाव बढिरहेका बेला चालिएको यो कदमले विश्वव्यापी उड्डयन क्षेत्रमा हलचल पैदा गरेको हो। चार घण्टाभन्दा बढी समय कायम रहेको यो प्रतिबन्धका कारण प्रमुख पूर्व–पश्चिम अन्तर्राष्ट्रिय उडान मार्गहरू प्रभावित भएपछि विमान कम्पनीहरूले आफ्ना उडानहरू अन्यत्र मोड्नुपरेको थियो।

यसअघि इजरायलसँगको सैन्य टकरावका बेला हवाई क्षेत्र बन्द गर्ने गरेको इरानले यसपटक कुनै प्रत्यक्ष सैन्य भिडन्तको सङ्केत नदेखिँदै यस्तो निर्णय लिएको हो। हवाई यात्रासम्बन्धी जानकारी दिने वेबसाइट 'सेफएयरस्पेस' ले यसलाई थप सैन्य गतिविधि वा मिसाइल प्रक्षेपणको सङ्केत हुन सक्ने भन्दै नागरिक विमानहरू गलत निशानामा पर्न सक्ने जोखिम औँल्याएको छ। सन् २०२० मा इरानले युक्रेनी विमानलाई झुक्किएर खसाल्दा १७६ जनाको ज्यान गएको घटनाका कारण पनि अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र थप सतर्क देखिएको छ।

तनावकै बीच कतारमा रहेको अमेरिकी सैन्य आधारका केही कर्मचारीलाई सुरक्षित स्थानमा जान सल्लाह दिइएको छ भने कुवेतस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई खाडी क्षेत्रका सैन्य आधारमा जान रोक लगाएको छ। संयुक्त राज्य अमेरिकाको अनुरोधमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इरानको पछिल्लो अवस्थाबारे छलफल गर्न बिहीबार दिउँसो आपतकालीन बैठक बोलाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी प्रदर्शनकारीहरूलाई 'मद्दत आउँदैछ' भन्दै दमनको जवाफमा उचित कदम चाल्ने चेतावनी दिएका छन्। अर्कोतर्फ, इरानी विदेशमन्त्री अब्बास अराघचीले युद्धभन्दा कूटनीति उत्तम बाटो भएको भन्दै अमेरिकासँग वार्ताको प्रस्ताव गरेका छन्। इरानमा जारी प्रदर्शनमा सुरक्षा बलको दमनबाट हालसम्म कम्तीमा दुई हजार ६१५ जनाको मृत्यु भइसकेको मानव अधिकारवादी संस्थाहरूले जनाएका छन्, जुन सन् १९७९ को क्रान्तिपछिकै ठूलो मानवीय क्षति हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप