बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

पर्सा–१ मा उम्मेदवार छान्न जसपा नेपाललाई सकस

जिल्लाको सिफारिस मान्ने कि केन्द्रले हस्तक्षेप गर्ने ?
शुक्रबार, ०२ माघ २०८२, ११ : २४
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • पर्सा क्षेत्र नम्बर १ मा जसपा नेपाललाई उम्मेदवार छनोट गर्न सकस भएको छ।
  • पार्टी प्रवेश गरेका प्रदीप यादवलाई जिल्लाबाट सिफारिस नगरिएको र उनले उम्मेदवार बन्ने दाबी गरेका छन्।
  • जिल्ला अध्यक्षले सिफारिसभन्दा बाहिरको व्यक्तिलाई उम्मेदवार बनाए स्वीकार नगर्ने चेतावनी दिएका छन्।

वीरगन्ज । आसन्न प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ कालागि उम्मेदवार छान्न जसपा नेपाललाई सकस हुने देखिएको छ । जसपा त्यागेर हालै जसपा नेपालमा प्रवेश गरेका निवर्तमान सांसद प्रदीप यादवको नाम जिल्लाबाट सिफारिस भएको छैन ।

यद्यपि उनी सोही क्षेत्रबाट आफूलाई पार्टीले उम्मेदवार बनाउने दाबी गर्दछन् । पार्टीका जिल्लास्तरका नेता भने सिफारिस गरिएभन्दा बाहिरबाट केन्द्रले उम्मेदवार चयन गरेमा स्वीकार गर्न नसकिने चेतावनी दिइरहेका छन् ।

जसपा नेपालको पर्सा जिल्ला कार्यसमितिले पूर्वमुख्यमन्त्री लालबाबु राउत, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव र मधेस प्रदेशका अध्यक्ष बालकिशोर प्रसाद यादवको नाम पर्सा–१ मा उम्मेदवारीका लागि सिफारिस गरिएको छ । सोही क्षेत्रबाट ०७९ को निर्वाचनमा विजयी भएका पूर्वमन्त्री प्रदीप यादव भने यसअघि पार्टी विभाजन हुँदा अशोक राई नेतृत्वको जसपामा सामेल भएका थिए । निर्वाचनको पूर्वसन्ध्यामा उनी जसपा नेपालमा प्रवेश गरेका छन् ।

पूर्वमन्त्री यादव भर्खरै पार्टी एकता भएको जनाउँदै केन्द्रीय समन्वय समितिले एकता प्रक्रिया अनुसार उम्मेदवार चयन गर्ने बताउँछन् । उनले रातोपाटीसँग भने, ‘हिजोका दिनमा दुई वटा पार्टी थियो । त्यही अनुसार दुवै पार्टीले आ–आफ्नो उम्मेदवार सिफारिस गरेका थिए, अहिले पार्टी एकीकरण भइसकेपछि त्यो सबैको जिम्मा केन्द्रीय समन्वय समितिलाई दिइएको छ । समन्वय समितिले कुन जिल्लामा कसलाई उम्मेदवार बनाउने भन्ने छिनोफानो गर्नेछ ।’

जिल्लाबाट गरिएको सिफारिसकै आधारमा उम्मेदवार चयन नहुने यादवको भनाइ छ । उनले आफू पर्सा–१ बाट जसपा नेपालको उम्मेदवार बन्ने दाबीसमेत गरे । ‘यो ठाउँबाट मैले चुनाव जित्दै आएको छु,’ उनले भने, ‘यसअघि चुनाव जितेका उम्मेदवारलाई पन्छाएर अरू विकल्पमा पार्टी जाँदैन भन्ने मलाई विश्वास छ ।’

उनी पार्टीभित्र उम्मेदवारीका लागि होड चल्नु सामान्य रहेको बताउँछन् । ‘यस्ता सानातिना विवादलाई सुल्झाएर जसपा नेपाल एक भएर निर्वाचनमा होमिन्छ,’ उनले भने ।

यता जसपा नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवले भने जिल्लाबाट सिफारिस भएका तीन जनामध्ये नै एक जना उम्मेदवार बन्ने दाबी गर्दछन् । उनले भने, ‘हामीलाई जसपासँग एकता भएको पत्र अहिलेसम्म पठाइएको छैन । हाम्रो सिफारिसभन्दा बाहिरको व्यक्तिलाई उम्मेदवार बनाइयो भने जिल्लाले मान्ने छैन । त्यसको प्रतिवाद गरिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप