के इयान हार्भी बन्लान् ‘गेम चेन्जर’ ?
सारांश
- नेपाल क्रिकेट टोली टी-२० विश्वकप २०२६ मा भाग लिने, वानखेडे स्टेडियममा प्रतिस्पर्धा गर्नेछ।
- नेपाल समूह 'सी' मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली जस्ता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
- नेपालले पेस बलिङलाई धारिलो बनाउन अस्ट्रेलियाका पूर्व खेलाडी इयान हार्भीलाई बलिङ कन्सल्टेन्ट नियुक्त गरेको छ।
काठमाडौँ । मुम्बईको ऐतिहासिक वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ नेपाली क्रिकेटका लागि सहभागिता मात्र नभई विश्वमञ्चमा आफूलाई प्रमाणित गर्ने सुनौलो अवसर र कठिन परीक्षा दुवै हो ।
विश्व क्रिकेटले दशकौँदेखि चिनेको, सम्मान गरेको र अनेकौँ रोमाञ्चक क्षणहरूको साक्षी बनेको यो मैदानमा नेपालले आफ्नो नयाँ पहिचान खोज्दैछ । तर, यो यात्रा सहज भने पक्कै छैन ।
नेपाल समूह ‘सी’ मा परेको छ, जसलाई क्रिकेट विश्लेषकहरूले ‘ग्रुप अफ डेथ’ को संज्ञा दिएका छन् । यस समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली जस्ता फरक शैली र क्षमताका शक्तिशाली टोलीहरू छन् ।
फेब्रुअरी ८ मा इङ्ल्यान्डविरुद्धको खेलबाट नेपालले आफ्नो विश्वकप यात्रा शुभारम्भ गर्नेछ । त्यसपछि क्रमशः इटाली, वेस्ट इन्डिज र बंगलादेशसँग हुने प्रतिस्पर्धाले फरक चुनौती, बेग्लै रणनीति र उच्च मानसिक तयारीको माग गर्नेछ ।

- वानखेडे : ब्याटरको स्वर्ग कि बलरको काल ?
वानखेडे स्टेडियमलाई प्रायः ‘ब्याटिङ प्याराडाइज’ (ब्याटरहरूको स्वर्ग) भनिन्छ । यसको मुख्य कारण यहाँको रातो माटोको पिच, छोटो बाउन्ड्री र बलमा प्राप्त हुने राम्रो बाउन्स तथा क्यारी हो । बल ब्याटसम्म सहजै आउने भएकाले ब्याटरहरूले सुरुआतदेखि नै आक्रामक स्ट्रोक खेल्न सक्छन् । यही कारण यहाँ रक्षात्मक मानसिकताले कमै मात्र काम गर्छ ।
पछिल्ला आईपीएल सिजनहरूलाई नियाल्ने हो भने वानखेडेमा २०० भन्दा माथिको स्कोर सामान्य बन्दै गएको छ । सन् २०२२ यता मैदानको प्रकृतिमा केही परिवर्तन देखिए पनि पछिल्ला दुई आईपीएल सिजनका १४ इनिङ्समध्ये पाँच पटक २०० भन्दा बढी रन बनेका छन् । यसले वानखेडे अझै पनि उच्च स्कोरिङ मैदानकै रूपमा स्थापित भइरहेको सङ्केत गर्छ ।
यहाँ १८०–१९० रनको लक्ष्य पनि सुरक्षित मानिँदैन । विशेषगरी रात्रिकालीन खेलमा अरब सागरबाट चल्ने हावा र दोस्रो इनिङमा पर्ने शीतले बलरहरूलाई थप सकस पार्छ । बल चिप्लो हुने भएकाले स्पिनरहरूका लागि ग्रिप बनाउन र बलिङ नियन्त्रण गर्न हम्मे पर्छ ।
- स्पिन नेपालको शक्ति, तर वानखेडेमा ‘पेस’ को प्रभाव
नेपाली टोलीको मुख्य अस्त्र नै स्पिन बलिङ हो । टोलीमा सन्दीप लामिछानेदेखि ललित राजवंशीजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । हाल टोलीमा स्पिनको थप विकल्पका रूपमा शेर मल्ल पनि उपस्थित छन् । त्यस्तै दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेल पनि आवश्यक पर्दा स्पिन आक्रमणमा साथ दिन सक्छन् ।
तर, वानखेडेको तथ्याङ्क नेपालको शक्तिभन्दा विपरीत छ । अहिलेसम्म यहाँ करिब ७० प्रतिशत विकेट तीव्र गतिका बलर (पेस बलर) हरूले लिएका छन् भने स्पिनरहरूको भागमा करिब ३० प्रतिशत मात्र परेको छ । यो अन्तरले स्पष्ट पार्छ कि यहाँ पेस बलरहरू नै निर्णायक हुन्छन् ।
तीव्र गतिका बलरहरू यहाँ प्रभावकारी हुनुको कारण स्पष्ट छ– सुरुआती ओभरमा प्राप्त हुने स्विङ, रातो माटोको बाउन्स र सही लेन्थमा बल राख्न सक्ने क्षमता । जसप्रीत बुमराह, लसिथ मलिंगाजस्ता विश्वस्तरीय बलरहरूले यही मैदानमा आफ्नो प्रभाव जमाएका छन् । यसको अर्थ, नेपालले स्पिनमा मात्र निर्भर भएर वानखेडेमा सफलताको आशा गर्न सक्दैन ।
- पेस आक्रमणमा धार लगाउन हार्भीको खाँचो
नेपालसँग सोमपाल कामी, करण केसी, नन्दन यादव र गुल्सन झा जस्ता पेस बलरहरू छन् । सोमपाल र करण लामो समयदेखि राष्ट्रिय टोलीका खम्बा हुन् भने सोमपालले दुईवटा विश्वकप खेलिसकेका छन् । तर, अन्तर्राष्ट्रिय स्तरमा, त्यो पनि वानखेडेजस्तो मैदानमा प्रभाव जमाउन उनीहरूलाई थप तयारी, विविधता (भेरिएसन) र रणनीतिको आवश्यकता पर्छ ।
यही आवश्यकतालाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी इयान हार्भीलाई बलिङ कन्सल्टेन्ट कोचका रूपमा नियुक्त गरेको छ । यो निर्णय नेपाली पेस अट्याकलाई धारिलो बनाउन कोसेढुङ्गा साबित हुन सक्छ ।
- को हुन् इयान हार्भी ?
इयान जोसेफ हार्भी अस्ट्रेलियाका पूर्व अलराउन्डर हुन्, जो २००३ को आईसीसी विश्वकप विजेता अस्ट्रेलियाली टोलीका सदस्य थिए । विशेषगरी टी–२० क्रिकेटको सुरुआती दिनमा ‘डेथ ओभर’ बलिङमा ख्याति कमाएका हार्भी ‘स्लोअर बलका मास्टर’ का रूपमा परिचित छन् ।
बल लुकाएर फाल्ने कला, विविधता र दबाबका बlच सटिक बलिङ गर्ने क्षमताका कारण उनलाई ‘द फ्रिक’ उपनामसमेत दिइएको थियो । खेल जीवनपछि उनले इङ्ल्यान्डको काउन्टी क्लब ग्लोसेस्टरशायरमा सहायक तथा अन्तरिम मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

- हार्भीले कसरी बदल्न सक्छन् नतिजा ?
हार्भीको आगमनले मुख्यतः ‘डेथ ओभर’ (अन्तिम ओभरहरू) को बलिङमा सुधार ल्याउन सक्छ । स्लोअर बल, ब्याक–अफ–द–ह्यान्ड, स्प्लिट फिङ्गर डेलिभरी र सटिक योर्करजस्ता विविधता वानखेडेजस्तो उच्च स्कोरिङ मैदानमा रन रोक्ने मुख्य हतियार हुन् । हार्भी यी कलाका पोख्त खेलाडी हुन् ।
साथै, इङ्ल्यान्ड र वेस्ट इन्डिजजस्ता आक्रामक ब्याटिङ लाइनअप भएको टोलीविरुद्ध खेल्दा कस्तो ‘लाइन–लेन्थ’ र रणनीति अपनाउने भन्ने विषयमा उनको अनुभव अमूल्य हुनेछ । उनी आफैँ अलराउन्डर भएकाले गुल्सन झाजस्ता तल्लो क्रमका ब्याटरहरूलाई अवस्था हेरी ‘पावर हिटिङ’ र इनिङ फिनिसिङको कला सिकाउन पनि उनको भूमिका महत्वपूर्ण रहनेछ ।
वानखेडेमा नेपाली बलिङको परीक्षा कठिन छ । नेपालको स्पिन आक्रमण जतिसुकै बलियो भए पनि त्यहाँको पिचमा पेस बलिङलाई सन्तुलित र प्रभावकारी बनाउनुको विकल्प छैन । इयान हार्भीको अनुभव र नेपाली जोसको सम्मिश्रणले वानखेडेमा नेपालले सुखद नतिजा निकाल्न सक्ने आशा गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026