मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
संस्मरण

जापानी ऐनामा देखिएको म

शनिबार, ०३ माघ २०८२, १७ : ००
शनिबार, ०३ माघ २०८२

सारांश

  • लेखक विद्यार्थी भिसामा जापान जाँदाको अनुभव वर्णन गर्छन्, जहाँ उनले जापानको सामाजिक र सांस्कृतिक पक्षको महत्व बुझे।
  • जापानमा उनले सरसफाइ, अनुशासन, र ग्राहक सेवाको उच्च स्तरको अनुभव गरे, जुन नेपालभन्दा फरक थियो।
  • जापानको बसाइले उनलाई राम्रो नागरिक बन्न र आफ्नो समाज, संस्कार र जिम्मेवारी बुझ्न प्रेरित गर्यो।

जापान प्रविधि, उद्योग र सुदृढ अर्थतन्त्रका कारण मात्र विकसित भएको होइन, यहाँको बलियो सामाजिक र सांस्कृतिक जग यसको उन्नतिको मुख्य कडी हो । 

म विद्यार्थी भिसामा जापान प्रवेश गर्दा सपनाको सहर टोकियो पुग्न पाउने कुराले निकै उत्साहित थिएँ । जब हाम्रो जहाज एयरपोर्टमा अवतरण भयो र हामी बाहिर निस्कियौँ, कलेजका शिक्षकहरू आफैँ स्वागतका लागि आइपुग्नुभएको रहेछ । 

हाम्रा लगेजहरू बसको डिक्कीमा राखेर हामी नागोयाबाट टोकियोतर्फ प्रस्थान गर्‍यौँ । बसको झ्यालबाट बाहिरका दृश्य नियाल्दै गर्दा म सपनाको सहरमा दिउँसै सपना बुन्न थालिसकेको थिएँ ।

यात्राका क्रममा जब बस बेलाबेला रोकिन्थ्यो, मलाई काठमाडौँको याद आउँथ्यो । मनमनै सोच्थेँ– ओहो ! विदेशमा पनि जाम हुँदो रहेछ त ! 

मैले आफ्नो साथीलाई सुनाएँ, उसले पनि टाउको हल्लाउँदै हो मा हो मिलायो। तर, केही बेरमै मेरो सोचाइ गलत साबित भयो । बाटोमा न कुनै ट्राफिक प्रहरी थिए, न त गाडीहरूको कानै फुट्ने हर्नको आवाज । सडक र पैदल यात्री सबैलाई ट्राफिक लाइटले नै अनुशासित ढङ्गले निर्देश गरिरहेको थियो । 

काठमाडौँको अस्तव्यस्त जाम र जापानको ‘सिस्टमेटिक’ जामको अनुभूति आकाश–जमिनको फरक थियो । जाम एउटै भए पनि त्यहाँको व्यवस्थापनले हामीलाई अचम्मित बनाउनु स्वाभाविकै थियो ।

टोकियो पुगेपछि हामीलाई एउटा सुविधा सम्पन्न होस्टेलमा राखियो । त्यहाँ तातो–चिसो पानी र अत्याधुनिक ‘वासलेट’ (स्वचालित ट्वाइलेट) को व्यवस्था थियो । वासलेटका सिटमा विभिन्न बटनहरू थिए, जसमा जापानी भाषा (कान्जी) लेखिएको थियो । न हामीलाई भाषा आउँथ्यो, न त अहिलेको जस्तो हात–हातमै ‘गुगल ट्रान्सलेटर’ को जमाना थियो । 

ती बटनहरूको प्रयोग कसरी गर्ने भनेर सिक्न मात्रै हामीलाई एक हप्ताभन्दा बढी लाग्यो । स्वचालित प्रविधि हाम्रा लागि अचम्मको विषय थियो ।

दुई दिनपछि कलेजमा भाषा कक्षा सुरु भयो । पहिलो दिन नै हामीलाई जापानी संस्कृति, ट्राफिक नियम र अभिवादन गर्ने तरिका सिकाइयो । कलेजमा एउटा कुरा देखेर म झसङ्ग भएँ– त्यहाँ कुनै ‘कार्यालय सहयोगी’ वा छुट्टै कर्मचारी थिएनन् । शिक्षकहरू नै कलेजको व्यवस्थापन र विद्यार्थीको सहयोगमा खटिएका हुन्थे ।

नेपालमा जस्तो कक्षाकोठा वा बाथरुम सफा गर्न छुट्टै कर्मचारी नियुक्त नगरिँदो रहेछ । यहाँ हरेक दिन विद्यार्थीहरू आफैँले कक्षाकोठा सफा गर्नुपर्ने र प्रत्येक शुक्रबार पालो लगाएर वासरुम सफा गर्नुपर्ने नियम थियो । 

सुरुमा त हामीलाई निकै अप्ठ्यारो लाग्यो । नेपालबाट प्लस ब्याचलर पढेर गएको घमन्ड हाम्रो मनमा अझै जीवितै थियो । ‘छि ! कस्तो देशमा आइएछ, यहाँ त शौचालय पनि आफैँ सफा गर्नुपर्ने ?’ भन्दै हामीले नेपाली भाषामा शिक्षकहरूलाई मनमनै गाली पनि गर्‍यौँ । 

तर, जब हाम्रा शिक्षकहरू आफैँ कुचो र ब्रस लिएर हामीसँगै सरसफाइमा खटिए, तब हाम्रो घमन्ड पनि चुर–चुर भयो । त्यो दृश्य हाम्रा लागि एउटा ठूलो जीवनोपयोगी पाठ बन्यो ।

जापानका बस र ट्रेनहरू मेरा लागि ‘गुड्ने पाठशाला’ जस्तै बने । ट्रेनमा भीड हुन्थ्यो, तर कोलाहल कतै हुँदैनथ्यो । सबैको हातमा मोबाइल हुन्थ्यो, तर आवाज सुनिँदैनथ्यो । कसैको फोन आइहाले पनि उनीहरूले तुरुन्त साइलेन्ट गर्थे वा जरुरी भए प्लेटफर्ममा झरेर मात्र कुरा गर्थे । 

सुरुमा मलाई यो मौनता अलि अस्वाभाविक लाग्यो, तर बिस्तारै बुझ्दै गएँ– त्यो मौनता दबाबमा होइन, बरु अरूको निजी शान्तिप्रतिको सम्मान रहेछ । आफ्नो सुविधाभन्दा पहिले अरूको शान्ति सोच्ने संस्कार यहाँको सामाजिक चेतनामा गहिरो गरी गडेको रहेछ ।

कामको जीवनले मलाई जापानको अर्को अनुहार देखायो । यहाँ ‘सानो काम’ भन्ने शब्दै नै हुँदैन । बिहान सडक बनाउने मजदुरलाई बटुवाहरूले झुकेर अभिवादन गरेको देख्दा म चकित पर्थेँ । अफिसका उच्च पदस्थ व्यक्तिहरू पनि आफ्नै हातले कागज मिलाउने, कुर्सीबाट उठेरै सेवा दिने र फोहोर देखे आफैँ उठाउने गर्छन् । मैले बुझेँ– यहाँ सम्मान पदलाई होइन, जिम्मेवारीलाई दिइन्छ । 

यसै कारणले गर्दा समाजमा अहङ्कार भन्दा कर्तव्यवोध ठुलो देखिन्छ ।

मार्केटमा काम गर्ने क्रममा मैले व्यावसायिक नैतिकताको अर्को पाटो देखेँ । नेपालमा ‘ग्राहक हाम्रा देउता हुन्’ भन्ने लेखोट पढिन्थ्यो, तर त्यसको व्यावहारिक प्रयोग जापानमा देखेँ । यहाँ प्रत्येक ग्राहकलाई पसलमा छिर्दा झुकेर स्वागत गरिन्छ र निस्कँदा फेरि आउनुहोला है भन्दै धन्यवाद टक्र्याइन्छ ।

यदि कर्मचारीबाट सानो त्रुटि भएमा वा ग्राहकलाई असुविधा भएमा, उनीहरूले झुकेर माफी माग्दै कफी वा जुस दिएर ग्राहकलाई खुसी पार्छन् । ग्राहक संरक्षणको यो सुन्दर शैली लाग्यो मलाई ।

जापानले मलाई एउटा असल नागरिक हुनुको अर्थ पनि सिकायो । यहाँका सडक, पार्क र स्टेसनहरू ऐना जस्तै सफा हुन्छन् । यो कुनै जादु होइन, बरु मानिसहरूको सचेतना हो । मानिसहरू आफ्नो खल्तीको फोहोर घरमै पुर्‍याएर मात्र विसर्जन गर्छन् । 

डस्टबिन नदेख्दा सुरुमा म अलमलमा पर्थेँ, तर पछि त्यही बानी बस्यो । कुकुर घुमाउन निस्किएका मानिसहरूले कुकुरको दिसा टिपेर झोलामा बोकी हिँडेको देख्दा थाहा भयो, यहाँ स्वतन्त्रता जिम्मेवारीसँग साटिएको छ ।

राति काम सकेर एक्लै फर्किँदा मलाई जापानको सुरक्षा व्यवस्थाले ठुलो भरोसा दिन्थ्यो । सुनसान गल्ली, मधुरो बत्ती, तर मनमा कुनै डर हुँदैनथ्यो । महिलाहरू र स–साना स्कुले बालबालिकाहरू निर्धक्क ट्रेन चढेर घर गइरहेका हुन्थे । यो सुरक्षा केवल प्रहरीको उपस्थितिले मात्र सम्भव भएको होइन, यो त सामाजिक विश्वासको उपज हो । 

मानिसहरू एक–अर्कालाई शत्रु होइन, सहयात्री ठान्छन् ।

लाइनमा बस्ने संस्कारले मलाई धैर्यता सिकायो । पसल, स्टेसन वा लिफ्ट, जहाँ पनि लाइन अनिवार्य छ । कसैले कसैलाई ठेलमठेल गर्दैन । समयको महत्त्व जापानबाटै सिक्नुपर्छ । ट्रेन वा बस सेकेन्डको ढिलाइ हुँदा पनि डिजिटल बोर्डमा माफी माग्दै कारण खुलाइन्छ । 

प्यासेन्जरहरू शान्त भएर प्रतीक्षा गर्छन् । त्यहाँको दृश्य देख्दा लाग्छ, स्वतन्त्रता अराजकतामा होइन, अनुशासनमा पो फक्रिँदो रहेछ ।

जापानमा बस्दै जाँदा म आफैँ पनि बिस्तारै बदलिँदै गएँ । म कम बोल्न र धेरै सुन्न थालेँ । फोहोर फाल्नुअघि, बाटो काट्नुअघि र फोन उठाउनुअघि दुई पटक सोच्ने भएँ । मैले बुझेँ, समाज सुधार्न ठुलो क्रान्ति होइन, साना बानीहरूको निरन्तर अभ्यास चाहिन्छ । 

कानुनभन्दा संस्कार बलियो हुनुपर्छ र नियम डरले होइन संस्कारका रूपमा पालन गरिनुपर्छ । ‘म’ ठिक भए मात्र ‘हामी’ ठिक हुन्छौँ भन्ने सन्देश जापानले दियो मलाई ।

आज जापान मेरा लागि केवल एउटा परदेश होइन । यो त मेला लागि ऐना हो, जसमा म आफ्नो समाज, आफ्नो संस्कार र आफ्नो जिम्मेवारी छर्लङ्ग देख्छु । मौनताभित्रको सम्मान, नियमभित्रको स्वतन्त्रता र जिम्मेवारीभित्रको मानवता नै असल जापान रहेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव राज शर्मा
केशव राज शर्मा
लेखकबाट थप