बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अदालतमा विचाराधीन विषयमा आयोगले विश्लेषण गर्दैन : रामप्रसाद भण्डारी

सोमबार, ०५ माघ २०८२, १७ : ३२
सोमबार, ०५ माघ २०८२

सारांश

  • कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अदालतको निर्णय सबैले मान्नुपर्ने बताए।
  • निर्वाचन आयोगले अदालतमा विचाराधीन विषयलाई विश्लेषण नगर्ने र तोकिएको समयमै मनोनयन हुने कुरामा ढुक्क रहेको जनाएको छ।
  • आयोगले उम्मेदवारहरूलाई मनोनयनको समयमा बाजागाजा नगर्न र निर्वाचनलाई निष्पक्ष बनाउन आग्रह गरेको छ।

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अदालतमा विचाराधीन रहेको विषयलाई निर्वाचन आयोगले विश्लेषण गर्न नहुने बताएका छन् । मनोनयन दर्ताको पूर्व सन्ध्यामा सोमबार अपिल जारी गर्दै उनले अदालतको आदेश सबैले मान्नुपर्ने बताएका हुन् ।

‘अदालतले आदेश गरिसकेपछि त्यो सबैले मान्नुपर्छ, अन्यथा भन्ने विषय भएन । तर निर्वाचन आयोगले अदालतमा रहेको विषयवस्तुलाई अहिले विश्लेषण गरेर यो हुन्छ र त्यो हुन्न भनेर भन्दैनौँ,’ भण्डारीले अपिलमा भनेका छन् ।

लोकतन्त्रको सुन्दर पक्ष भनेकै चुन्ने र चुनिने अधिकार भएको उनको भनाइ छ ।

यस्तो छ भण्डारीको अपिल

निर्वाचन घोषणा भएसँगै आयोगले तत्कालदेखि आफूले कार्यसम्पादन गर्नुपर्ने विषयलाई कार्यतालिका बनायो । कार्य तालिका बनाएर हामीले थुप्रै कार्यसम्पादन गरेर अब भोलि अर्थात् माघको ६ गते जो(जो चुनिन चाहनुहुन्छ उहाँहरूको मनोनयन पत्र दाखिल गर्ने समय आएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ ।

माघ ४ गते राति १२ बजेबाट आचारसंहिता लागू गर्ने भनेर निर्णय गरेर लागू भएको अवस्था र स्थिति हो । यी सबै कार्यक्रम चार महिना अगाडि प्रकाशित भएको कार्य तालिका अनुसार कार्यसम्पादन भएका छन् । अब कुनै पनि विषय वस्तुलाई संशोधन गर्ने थप्ने घटाउनेलगायत काम हुँदैनन् । तोकिएकै समयमा मनोनयन पत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ आयोग यसैमा ढुक्क छ ।

आयोगले निर्धारण गरेको निर्धारित समयभित्र मनोनयन पत्र दाखिल हुनुपर्छ । दाखिल भइसकेपछि जाँचबुझ गर्ने लगायतका कानुनी प्रक्रियाका कुरा आफ्नै ठाउँमा रहन्छन् तर समयमा मनोनयन पत्र दाखिल हुन्छ भन्ने कुरामा आयोग विश्वास गर्छ ।

अदालतको मुद्दाबारे

अदालतले आदेश गरिसकेपछि त्यो सबैले मान्नुपर्छ अन्यथा भन्ने विषय भएन तर निर्वाचन आयोगले अदालतमा रहेको विषयवस्तुलाई अहिले विश्लेषण गरेर यो हुन्छ र त्यो हुन्न भनेर भन्दैनौँ । 

लोकतन्त्रको सुन्दर पक्ष भन्नेकै चुन्ने र चुनिने अधिकार हो । त्यहाँ मतदाताको स्वतन्त्र इच्छा पनि जाहेर हुन्छ । नागरिकको इच्छालाई कसैले पनि निषेध गर्न सक्दैन । यसमा सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण रहन्छ । सबै सरोकारवालाले निर्वाचनलाई निष्ठापूर्वक सम्पन्न गर्ने प्रयोजनलाई सहयोग गर्नुहुन्छ भन्ने आयोगले विश्वास गर्छ ।

मनोनयन पत्र दाखिल गर्नुपर्ने उम्मेदवार मनोनयन स्थल पुग्न सक्नुभएन भने आफ्नो वारेसमार्फत मनोनयन दाखिला गर्ने कानुनले व्यवस्था दिएकै छ। हामीले विभिन्न  निर्देशिकामार्फत यसको जानकारी गराएका छौँ ।

उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक कानुनले पूर्णरुपमा निषेध गरेको छ । आचारसंहिताले निषेध गरेको छ । निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष भयमुक्त वातावरणमा हुनेमा कुनै शङ्का उपशङ्का गर्नुपर्ने ठाउँ छैन । सबै विश्वस्त हुनेगर सहयोग हुनेछ ।

निर्वाचनको विकल्प निर्वाचन नै हो । अर्को वैकल्पिक व्यवस्था नभएका हुनाले निर्वाचनमा सबै क्षेत्रबाट सहयोग होस् र निर्वाचन सम्पन्न होस् भन्नेमा सरोकारवालाहरू सबैमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप