बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिफारिस विपरीत टिकट दिइएको भन्दै एमाले पर्सामा असन्तुष्टि

मङ्गलबार, ०६ माघ २०८२, ०६ : ३७
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • नेकपा एमालेले पर्सामा तल्लो कमिटीको सिफारिस विपरीत उम्मेदवार चयन गर्दा नेता-कार्यकर्ता असन्तुष्ट बनेका छन्।
  • पर्सा क्षेत्र नं. १ बाट प्रदीप यादव, २ बाट रिमा यादव, र ३ बाट रुपेश पाण्डेलाई उम्मेदवार बनाइएको छ।
  • पार्टीले सिफारिसलाई बेवास्ता गर्दै उम्मेदवार चयन गरेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्।

वीरगन्ज । नेकपा एमालेले तल्लो कमिटीको सिफारिस विपरीत उम्मेदवार चयन गरेको भन्दै पर्साका नेता–कार्यकर्ता असन्तुष्ट भएका छन् ।

एमाले केन्द्रीय सदस्य विजय सरावगीका अनुसार पर्सा १ नम्बर क्षेत्रबाट प्रदीप यादवलाई उम्मेदवार बनाइएको छ । पूर्वमन्त्री यादव यसअघि जसपा नेपालका केन्द्रीय समन्वय समिति सदस्य थिए । अशोक राई नेतृत्वको जसपा पार्टी त्यागेर जसपा नेपालमा सामेल भएका उनी २० दिनमै जसपा नेपालसमेत परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । पूर्वमन्त्री यादव यही क्षेत्रबाट अघिल्लो चुनावमा निर्वाचित भएका थिए ।

यसैगरी पर्सा २ नम्बर क्षेत्रबाट एमालेले रिमा यादवलाई उम्मेदवार बनाएको छ । उनी सिफारिसबिनै उम्मेदवार बनेको एमाले नेताहरू बताउँछन् । त्यसैगरी क्षेत्र नम्बर– ३ बाट रुपेश पाण्डे उम्मेदवार बनेका छन् । पाण्डे काठमाडौँमा व्यवसाय गर्दै आइरहेका थिए । पाण्डेको नाम पनि सिफारिस नभएको प्रदेश कमिटीले जनाएको छ । क्षेत्र नम्बर ४ बाट भने जिल्ला र क्षेत्रबाट सिफारिस भएका जालिम मियाँलाई उम्मेदवार बनाइएको छ ।

यसैबिच एमालेले पर्सामा सिफारिस विपरीतका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै आलोचना भइरहेको छ । क्षेत्र, जिल्ला र प्रदेशले गरेको सिफारिसभन्दा बाहिरको व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै कार्यकर्तामा असन्तुष्टि बढेको एमाले नेताहरू बताउँछन् ।

एमालेका पूर्वकेन्द्रीय सदस्य अरबिन्द सिंहले टिकटका लागि क्षेत्र, जिल्लामा प्रतिस्पर्धा गराउनु नाटकमात्रै देखिएको टिप्पणी गरे । उनका अनुसार पर्सामा एमालेले तोकेका अधिकांश उम्मेदवार जिल्ला र क्षेत्रबाट सिफारिस भएका थिएनन् ।

‘एमालेको गाउँगाउँमा सङ्गठन छ । ती सङ्गठनले कसलाई उम्मेदवार बनाउँदा पार्टी जित्छ भन्ने आकलन गरेर सिफारिस गरेका हुन्छन्,’ उनले भने, ‘त्यसरी गरिएको सिफारिसलाई बेवास्ता गरेर टिकट दिनु बेठिक हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप