बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन

हारसँग हार नमानेकी डिना : समानुपातिक त्यागेर फेरि प्रत्यक्ष मैदानमा

‘समानुपातिकबाट सहज थियो, तर म जनताकै माझ जान्छु’
मङ्गलबार, ०६ माघ २०८२, १९ : ५४
मङ्गलबार, ०६ माघ २०८२

सारांश

  • नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय 'डिना' ले मकवानपुर-१ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छिन्।
  • डिना यसअघि २०७९ को निर्वाचनमा राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन्, र उनले समानुपातिक छोडेर प्रत्यक्षमा प्रतिस्पर्धा गर्ने निर्णय गरेकी हुन्।
  • उनले विगतका निर्वाचनमा हार व्यहोरे पनि यसपटक जित निकाल्ने दाबी गरेकी छिन्, र उनले कांग्रेस कार्यकर्ताको विश्वास जित्ने प्रयास गर्ने बताएकी छन्।

मकवानपुर । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराएकी छिन्। मकवानपुरबाट पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा होमिएकी डिनाले दलबलसहित उम्मेदवारी दर्ता गराएकी हुन्। उनको प्रस्तावकमा दामोदर खनाल र समर्थकमा इन्द्रबहादुर बानियाँ रहेका छन्।

कांग्रेसकी पूर्व सह–महामन्त्री रहेकी डिना मकवानपुरकी प्रभावशाली नेतृ मानिन्छिन्। उनी २०७९ को निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दीपकबहादुर सिंहसँग पराजित भएकी थिइन्। वि.सं. २०४८, २०५१, २०७४ र २०७९ मा मकवानपुरबाट उम्मेदवार बनिसकेकी उनी पुनः उम्मेदवारको रूपमा अघि बढेकी हुन्।

वि.सं. २०४८ देखि २०७४ सम्म मकवानपुर क्षेत्र नम्बर–२ बाट चुनाव लडेकी उनी तत्कालीन नेकपा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन्। २०७९ मा भने क्षेत्र परिवर्तन गरेर मकवानपुर–१ बाट चुनाव लडेकी उनी राप्रपाका दीपक सिंहसँग पराजित भइन्।

  • समानुपातिक छोडेर प्रत्यक्ष मैदानमा

पार्टीले समानुपातिक तर्फको बन्दसूचीको पहिलो नम्बरमा बस्न प्रस्ताव गरे पनि उनले उक्त प्रस्ताव अस्वीकार गर्दै जनताबाट अनुमोदित हुने इच्छासहित मकवानपुर–१ बाट टिकट लिएकी हुन्। गत २०७९ को निर्वाचनमा पनि उनले समानुपातिक सूचीबाट नाम हटाएर आफू प्रत्यक्ष निर्वाचनमा होमिएकी थिइन्।

‘समानुपातिकबाट सहजै सांसद हुने निश्चित थियो, तर म जनताबाटै अनुमोदित भएर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘म यसअघि समानुपातिक तर्फको उम्मेदवार बनेर संविधानमा हस्ताक्षरकर्ता पनि भएँ। अब मकवानपुरका जनतालाई संविधानको व्यवस्था कार्यान्वयन गरेर विकास र सेवाको अनुभूति गराउन चाहन्छु।’

मकवानपुरको राजनीतिमा लामो समयदेखि सक्रिय डिनाका लागि यो पाँचौँ चुनावी प्रतिस्पर्धा हो। यसअघि वि.सं. २०४८, २०५१ र २०७४ को निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनले तीनै पटक तत्कालीन एमाले उम्मेदवार विरोध खतिवडासँग पराजय व्यहोरेकी थिइन्। 

२०७९ को निर्वाचनमा क्षेत्र परिवर्तन गरी मकवानपुर–१ बाट लड्दा गठबन्धनको अंकगणितका बाबजुद उनी राप्रपाका दीपकबहादुर सिंहसँग झिनो मतान्तरले पराजित भएकी थिइन्। यसपटक विगतका पराजयलाई बिर्साउँदै जित निकाल्ने उनको दाबी छ।

विशेषगरी मकवानपुर–१ कांग्रेस बागमती प्रदेशसभा सभापति इन्द्रबहादुर बानियाँको निर्वाचन क्षेत्र हो। २०६४ र २०७० मा सो क्षेत्रबाट चुनाव लडेका बानियाँले २०७० मा पहिलो पटक कांग्रेसलाई सो क्षेत्रसहित मकवानपुरमा जिताएका थिए। कम्युनिष्टको लालकिल्ला मानिने मकवानपुरमा कांग्रेसको साख फर्काएका बानियाँले आफू प्रदेशसभामा क्षेत्र फेरेर चुनाव लड्दै डिनालाई मकवानपुर–१ को जिम्मेवारी सुम्पिएका थिए। 

यो क्षेत्रमा कांग्रेसको संगठन बलियो मानिन्छ। तर, कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण डिनाले सो क्षेत्रमा चुनाव हार्दै आएकी थिइन्। विगतमा आफूले कांग्रेस कार्यकर्तामाथि नै विश्वास नगर्दा कमजोरी भएको उनी स्विकार्छिन्।

‘हिजो घरभित्रको व्यवहार हेरिएनछ। गठबन्धनको अंकगणितले अलि बढी विश्वस्त पनि बनायो। आफ्नै भित्र विश्वास नगर्नु कमजोरी भयो। मैले त चुनाव नउठ्ने घोषणा नै गरेको थिएँ। तर, अब हिजोको अवस्था रहेन। कार्यकर्ताबाट माग भयो। कांग्रेस एकल रूपमा जाने र रूखमा मतदान गर्न पाउनुपर्ने माग आएपछि उम्मेदवारी दिएकी हुँ,’ उनले भनिन्, ‘कांग्रेसको विवाद केन्द्रमा पनि हामीले नयाँ ढंगबाट हल गर्दै अघि बढेका छौँ। जिल्लामा पनि कमजोरीहरू महसुस गरेर सन्तुलित भएका छौँ। हामी संयमित रूपमा निर्वाचनको नतिजा निकाल्ने रणनीतिमा छौँ।’

वि.सं. २०२१ मा जन्मिएकी डिनाका हजुरबुवा उदयनाथ अधिकारी प्रजातन्त्र पुनःस्थापनाको संघर्षमा १२ वर्ष जेल बसेका थिए भने बुवा र परिवारका अन्य सदस्यहरू पनि कांग्रेसमै सक्रिय थिए। उनका हजुरबुवा चितवन कांग्रेसका सभापति समेत थिए। 

२०३९ सालमा पद्मकन्या क्याम्पस काठमाडौंबाट नेविसंघको राजनीति सुरु गरेकी उनी २०४३ सालमा स्ववियु सभापति निर्वाचित भइन्। २०४२ को सत्याग्रहमा शैलजा आचार्यसँगै ७ महिना जेल जीवन बिताएकी डिना २०४७ देखि २०५७ सम्म नेपाल महिला संघ मकवानपुरको अध्यक्ष रहिन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सह–महामन्त्रीमा निर्वाचित डिना २०६४ र २०७० को संविधानसभामा समानुपातिक सभासद थिइन्। उनी पूर्व जलस्रोत राज्यमन्त्री समेत हुन्। 

महिलाको राजनीतिक सहभागिता र समावेशी लोकतन्त्रकी बलियो पक्षधर मानिने डिनाले वातावरण न्याय र संविधान कार्यान्वयनका विषयमा कलम समेत चलाउँदै आएकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप