बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
काभ्रे –२

काभ्रे-२: मेयर छाडेर गोकुलको क्षेत्रमा आएका ब्याञ्जुलाई आचार्य र हुमागाईँको चुनौती

बुधबार, ०७ माघ २०८२, ०० : ५१
बुधबार, ०७ माघ २०८२

सारांश

  • काभ्रे क्षेत्र नम्बर २ को निर्वाचन रोचक बन्ने निश्चित छ, जसमा एमालेका गोकुल बास्कोटालाई टिकट नदिइएपछि नयाँ समीकरण बनेको छ।
  • एमालेबाट अशोक ब्याञ्जु र कांग्रेसबाट मधु आचार्य मुख्य प्रतिस्पर्धी हुन् भने नेकपाबाट बसुन्धरा हुमागाईंले पनि प्रतिस्पर्धा गर्दैछन्।
  • बास्कोटाको टिकट खोसिएको आरोप र पार्टीभित्रको असन्तुष्टिले ब्याञ्जुलाई चुनौती थपिएको छ, जसले गर्दा चुनाव थप पेचिलो बनेको छ।

मकवानपुर । आसन्न निर्वाचनमा काभ्रे क्षेत्र नम्बर–२ को चुनाव रोचक र पेचिलो बन्ने निश्चित छ । एमालेको पक्कड क्षेत्रको रूपमा व्याख्या गरिएको काभ्रे–२ गोकुल बास्कोटाको क्षेत्र हो । लगातार २ पटक सो क्षेत्रबाट चुनाव जितेका बास्कोटालाई यसपटक भने टिकटबाट वञ्चित गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रभावशाली नेता तथा पूर्वमन्त्री बास्कोटाको टिकट काटेर धुलिखेल नगरपालिकाका बहालवाला मेयर अशोक ब्याञ्जुलाई उम्मेदवार बनाएका छन् । जसका कारण सो क्षेत्र पछिको राजनीतिक समीकरण तरङ्गित भएको छ । मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिएका ५४ वर्षीय ब्याञ्जुका लागि संसद् भवनको यात्रा भने सहज देखिँदैन ।

benju

मेयरको कुर्सी त्यागेर सांसद बन्ने सपना बोकेका अशोक ब्याञ्जु यतिबेला त्रिकोणात्मक चेपुवामा परेका हुन् । एकातिर कांग्रेसका पुराना र अनुभवी मधु आचार्यको चुनौती, अर्कोतिर आफ्नै पूर्व सहकर्मी बसुन्धरा हुमागाईँले काट्ने मत र पार्टीभित्र गोकुल बास्कोटाको टिकट खोसेको भन्ने मनोवैज्ञानिक दबाबका बिच ब्याञ्जु माथि चुनौती बढेको छ ।

ब्याञ्जुको मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेसका अनुभवी नेता ६१ वर्षीय मधु प्रसाद आचार्य देखिएका छन् । आचार्य विगतका पराजयको बदला लिने दाउमा छन् । तत्कालीन काभ्रे–१ (हाल काभ्रे–२) बाट २०६४ को संविधानसभा निर्वाचनमा माओवादीसँग पराजित भएका आचार्य २०७४ को निर्वाचनमा एमालेका बास्कोटासँग हारेका थिए ।

कांग्रेस केन्द्रीय सदस्य रहेका आचार्य यसपटक एमालेभित्रको असन्तुष्टि र बास्कोटा उम्मेदवार नहुँदाको लाभ उठाउँदै नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । विगतमा बास्कोटाको प्रभावका कारण रोकिएका आचार्यका लागि यस पटक ब्याञ्जु नयाँ प्रतिद्वन्द्वी हुन् ।

acharya

एमाले महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपमहासचिव बनेका ‘हेभीवेट’ नेता बास्कोटालाई पन्छाएर अध्यक्ष ओलीले ब्याञ्जुलाई टिकट दिएका हुन् । एमाले उम्मेदवार ब्याञ्जुका लागि विपक्षी दलका उम्मेदवार मात्र नभई आफ्नै पार्टीभित्रको आन्तरिक समीकरण पनि चुनौतीपूर्ण छ । बुधबार मात्र धुलिखेल नगरपालिकाको मेयर पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका ब्याञ्जुमाथि बास्कोटाको ‘टिकट खोसेको’ आरोप लागिरहेको छ । २०७४ र २०७९ मा लगातार चुनाव जितेका बास्कोटाको टिकट खोसेको आरोप उनी माथि हुनु स्वाभाविक हो । बास्कोटाको प्रभाव क्षेत्र मानिने सो ठाउँमा उनी स्वयं उम्मेदवार नहुँदा एमालेको एक तप्का असन्तुष्ट रहेको र त्यसको प्रत्यक्ष असर मतदानमा पर्न सक्ने विश्लेषण गरिएको छ ।

ब्याञ्जुलाई अर्को ठुलो चुनौती नेकपाका तर्फबाट उम्मेदवार बनेका ५५ वर्षीय बसुन्धरा हुमागाईंबाट छ । हुमागाईँ पूर्व एमाले नेता हुन् । २०७४ सालमा सो क्षेत्रबाट एमालेको तर्फबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका पात्र हुन् हुमागाईँ । २०७८ सालमा एमाले विभाजन हुँदा माधव कुमार नेपाल समूहमा लाग्दै नेकपा एकीकृत समाजवादीमा गएका हुमागाईँ, हाल एकीकृत समाजवादी र माओवादी मिलेर बनेको ‘नेकपा’ बाट उम्मेदवार बनेका छन् ।

basundhar

हिजो एउटै पार्टीमा सहकर्मी रहेका हुमागाईँले काट्ने भोटले ब्याञ्जुलाई ठुलो धक्का लाग्ने अनुमान गरिएको छ । एमालेको परम्परागत मत विभाजन हुँदा त्यसको सोझो फाइदा कांग्रेस उम्मेदवार आचार्यलाई पुग्न सक्ने देखिन्छ ।

को को छन् उम्मेदवार ?

काभ्रे–२ मा ब्याञ्जु सहित कांग्रेसका आचार्य, नेकपाका हुमागाईँ मुख्य राजनीतिक दलका उम्मेदवार रहेका छन् । उनीहरू सहित सो क्षेत्रमा राप्रािका रन्जीव श्रेष्ठ, रास्वपाका बदन कुमार भण्डारी, जसपाका रकम लामा (तामाङ), नेमकीपाका मुना तामाङ उम्मेदवार रहेका छन् ।

सो क्षेत्रमा चुनाव लड्न राष्ट्रिय जनमोर्चाका सुवर्ण विक्रम थापा, नेकपा (संयुक्त)का राजन थापा, मंगोल नेशनल अर्गनाइजेसनका उमेश तामाङ, मितेरी पार्टी नेपालका हरी बहादुर थापा, नेसनल रिपब्लिक नेपालका सुकमान तामाङ, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का रमेश बहादुर घर्ती क्षेत्री, श्रम संस्कृति पार्टीका टंक बहादुर लामा, नेकपा माओवादीका कान्छाराम घिसिङ र उज्यालो नेपाल पार्टीका ज्योत्सना सैजु उम्मेदवार रहेका छन् ।

सो क्षेत्रमा स्वतन्त्रबाट विष्णु कुमार श्रेष्ठ, आसा तामाङ, डिल्लीप्रसाद न्यौपाने, गणेश प्रसाद अधिकारी, सीताराम मैनाली, लेनिन विष्ट, केशवराज तिमल्सिना, उमेश थापा उम्मेदवार रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप