स्पेनमा हराएको बिरालो पाँच महिनापछि फ्रान्सको घरमै आइपुग्यो
सारांश
- फ्रान्समा हराएको बिरालो फिलु झण्डै पाँच महिनापछि २५० किलोमिटर यात्रा तय गर्दै घर फर्कियो।
- २०२५ को अगस्टमा स्पेनमा हराएको फिलु जनवरी २०२६ मा फ्रान्सको ओलोन्जाक नजिकै फेला पर्यो।
- विज्ञहरूका अनुसार बिरालोमा तीव्र स्मरण शक्ति र दिशा पत्ता लगाउने क्षमता हुन्छ।
पेरिस । प्रकृति र जनावरको अनौठो क्षमताले कहिलेकाहीँ मानिसलाई स्तब्ध बनाउँछ। यस्तै एउटा चमत्कारिक घटना फ्रान्सको ओलोन्जाकमा बस्ने प्याट्रिक र एभलिन सिरको घरपालुवा बिरालो 'फिलु' सँग जोडिएर आएको छ। सन् २०२५ को अगस्टमा स्पेनमा हराएको सो बिरालो झण्डै पाँच महिनापछि करिब २५० किलोमिटरको यात्रा तय गर्दै आफैँ आफ्नो गाउँ आइपुगेको हो।
घटना अगस्ट महिनाको हो, जतिबेला यो दम्पती स्पेनको एब्रो डेल्टा भ्रमण गरेर घर फर्किँदै थिए। क्याटालोनियाको एक विश्रामस्थलमा कफी पिउन रोकिँदा क्याम्पर भ्यानको झ्यालबाट फिलु बाहिर निस्किएको उनीहरूको अनुमान छ।
धेरै घण्टापछि फ्रान्सको बोर्डर पुगेर लेक जुआरेस नजिक रोकिँदा मात्र उनीहरूले बिरालो हराएको थाहा पाए। प्याट्रिक र एभलिनले धेरै दिनसम्म स्पेनका गल्लीहरू चहारे, स्थानीय पशु कल्याण केन्द्र र प्रहरीमा उजुरी दिए, तर फिलु फेला परेन। महिनौँसम्मको खोजी प्रयास असफल भएपछि उनीहरूले आफ्नो प्रिय बिरालो अब कहिल्यै नफर्किने ठानेर आश मारिसकेका थिए।
तर, जनवरी ९, २०२६ मा एउटा फोन आयो। ओलोन्जाक नजिकैको गाउँ होम्प्समा बस्ने हेलेन नामकी महिलाले आफूसँग एउटा बिरालो रहेको र त्यसको 'माइक्रोचिप' जाँच गर्दा मालिकको नाम प्याट्रिक र एभलिन देखिएको जानकारी दिइन्।
दुई देशको सीमा र कैयौँ क्षेत्रहरू पार गर्दै दुब्लो र थाकेको अवस्थामा फिलु आफ्नो घरभन्दा केही किलोमिटर टाढाको गाउँमा आइपुगेको थियो। प्याट्रिकले होम्प्स पुगेर आफ्नो बिरालोलाई देख्दा उनी भावुक र आश्चर्यचकित बने।
स्पेनको क्याटालोनियादेखि फ्रान्सको ओलोन्जाकसम्मको २५० किलोमिटर लामो यात्रा एउटा सानो बिरालोले कसरी पूरा गर्यो भन्ने कुरा अहिले सबैका लागि रहस्य बनेको छ। विज्ञहरूका अनुसार बिरालोमा तीव्र स्मरण शक्ति र गन्ध तथा ध्वनिका आधारमा दिशा पहिचान गर्ने अद्भुत क्षमता हुन्छ, जसले उसलाई धेरै टाढाको दूरीबाट पनि घरसम्म पुग्न मद्दत गर्छ।
हराएको पाँच महिनापछि फिलु अहिले आफ्नो पुरानै घरमा सुरक्षित र खुसी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण