आदार पुनावालाले देखाए आरसीबी खरिद गर्ने इच्छा
सारांश
- सिरम इन्स्टिच्युटका प्रमुख आदार पुनावालाले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खरिद गर्ने इच्छा व्यक्त गरेका छन्।
- डियाजियोले आरसीबीमा रहेको शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएपछि पुनावालाको यस्तो भनाइ आएको हो।
- आरसीबी सन् २००८ मा आईपीएल स्थापना हुँदा दोस्रो महँगो टोली थियो र पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको छ।
नयाँ दिल्ली । विश्वकै ठूलो भ्याक्सिन निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत आदार पुनावालाले इन्डियन प्रिमियर लिग (आईपीएल) टोली रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खरिद गर्ने इच्छा देखाएका छन्। बिहीबार सामाजिक सञ्जाल एक्समार्फत पुनावालाले आफूले आरसीबीका लागि बलियो र प्रतिस्पर्धी प्रस्ताव पेस गर्न लागेको जानकारी दिएका हुन्।
उनले गत वर्ष अक्टोबरमा पनि उपयुक्त मूल्य पाएमा आरसीबी एक उत्कृष्ट टोली हुने बताएका थिए। बहुराष्ट्रिय मदिरा उत्पादक कम्पनी डियाजियोले आरसीबीमा रहेको आफ्नो शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएपछि पुनावालाको यस्तो भनाइ आएको हो।
डियाजियोले भारतीय बजार नियामक सेबिलाई दिएको जानकारी अनुसार उसले आरसीबीको स्वामित्व रहेको मातृ कम्पनी रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेडको रणनीतिक पुनरावलोकन गरिरहेको छ। यो प्रक्रिया सन् २०२६ मार्च ३१ सम्ममा पूरा हुने अपेक्षा गरिएको छ।
आरसीबी सन् २००८ मा आईपीएल स्थापना हुँदा १११.६ मिलियन डलरमा खरिद गरिएको दोस्रो महँगो टोली थियो। पछिल्लो समय आरसीबीको प्रदर्शन निकै लोभलाग्दो देखिएको छ। सन् २०२५ मा पुरुष टोलीले पहिलो पटक आईपीएलको उपाधि जितेको थियो भने महिला टोलीले सन् २०२४ को डब्लूपीएल उपाधि जितेर अहिले सन् २०२६ को सिजनमा पनि अंक तालिकाको शीर्ष स्थानमा छ।
यद्यपि, आईपीएल २०२६ का लागि आरसीबीले आफ्नै घरेलु मैदान चिन्नास्वामी स्टेडियममा खेल्न पाउने वा नपाउने भन्नेमा अझै अन्योल छ। गत असारमा आरसीबीको जितको उत्सव मनाउने क्रममा स्टेडियम बाहिर भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि सुरक्षाका कारण त्यहाँ खेल हुने विषय निश्चित भइसकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण