ला लिगाको उपाधि होडमा नयाँ रोमाञ्चक मोड
सारांश
- ला लिगाको उपाधि होडमा बार्सिलोना र रियल मड्रिडबीच प्रतिस्पर्धा रोचक बनेको छ।
- रियल मड्रिडले प्रशिक्षक परिवर्तन गरेपछि नतिजामा सुधार ल्याउन संघर्ष गरिरहेको छ, भने बार्सिलोनालाई रियल सोसिडाडसँग हारको सामना गर्नुपर्यो।
- च्याम्पियन्स लिगमा दुवै टोलीले जित हासिल गरे, तर लिगमा उपाधिका लागि प्रतिस्पर्धा अझै रोचक छ।
म्याड्रिड । गएको सप्ताहन्तले ला लिगाको समीकरण नै बदलिदियो। बार्सिलोनाको पकडमा देखिएको उपाधि होड फेरि रोमाञ्चक मोडमा पुगेको छ। आउनुहोस्, यहाँसम्मको घटनाक्रमलाई नियालौँ।
जनवरीमा ला लिगा पुनः सुरु हुँदा ४६ अंकसहित बार्सिलोना शीर्ष स्थानमा थियो र रियल मड्रिडभन्दा चार अंकले अगाडि थियो। क्याटालान टोलीको लय लोभलाग्दो थियोस् दुई खेलमा दुई जित, जसमा एस्पानियोलमाथि सहज जित र साउदी अरेबियामा भएको सुपर कप फाइनलमा स्थान सुरक्षित गर्नु समावेश थियो।
रियल मड्रिडले पनि सिजनको दोस्रो हाफको सुरुवात बलियो रूपमा गरेको थियो। रियल बेटिसमाथि ५–१ को सानदार जित निकाल्दै टोलीले बार्सिलोनाविरुद्धको सुपर कप फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो।
तर त्यही खेल ‘टर्निङ प्वाइन्ट’ सावित भयो। लस ब्लान्कोस आफ्नो चीर प्रतिद्वन्द्वीसँग ३–२ ले पराजित भयो। यो ज्याबी अलोन्सोका लागि रियल मड्रिडको प्रशिक्षकका रूपमा अन्तिम खेल बन्यो, किनकि उनले भोलिपल्टै पदबाट राजीनामा दिए।
रियलमा आर्बेलोआको आगमन
यसको प्रतिक्रिया स्वरूप, रियल मड्रिडले रिजर्भ टिमका प्रशिक्षक अल्भारो आर्बेलोआलाई जिम्मेवारी दियो । क्लबलाई राम्ररी बुझेका एक उत्कृष्ट पूर्व खेलाडीका रूपमा, उनले सुपर कपको हारपछि टोलीमा आत्मविश्वास र स्थिरता फर्काउने संकल्पसहित व्यवस्थापकीय भूमिका सम्हाले।
तर उनको सुरुवात योभन्दा खराब हुन सक्दैनथ्यो। कोपा डेल रेको अन्तिम १६ को खेलका लागि उनको टोली स्पेनको दोस्रो डिभिजनको १७औँ स्थानमा रहेको अल्बासेटेको मैदानमा पुग्यो। यो एक सहज जित हुनुपर्ने थियो।
तर रियल ३–२ ले पराजित भयो। कप्तान डानी कार्भाहालले टोली ‘अत्यन्तै नाजुक अवस्था’ मा पुगेको स्वीकारे। रियलका समर्थकहरूले आर्बेलोआको नियुक्तिमा प्रश्न उठाए।
उता बार्सिलोनाका फ्यानहरूले खुसीयाली मनाए। उनीहरूको मुख्य प्रतिद्वन्द्वी भद्रगोल अवस्थामा थियो।
बार्सिलोनाले भने रेसिङ सान्टान्डरविरुद्धको कठिन खेल जित्दै कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान बनायो। सिजनको दोस्रो हाफमा उत्कृष्ट सुरुवात कायम राख्दै उनीहरूले चार खेलमा चार जित र १२ गोल गरे।
बार्सिलोनाको अप्रत्याशित हार
यद्यपि, बार्सिलोनाको अर्को लिग खेलमा अझै एउटा मोड आउन बाँकी थियो, जहाँ उनीहरूको सामना नवौं स्थानमा रहेको रियल सोसिडाडसँग भयो । खेलअघि प्रशिक्षक हान्सी फ्लिकले ‘आफ्नो लय कायम राख्दै गत सिजनकै जस्तो जोस फ्यानहरूलाई देखाउन चाहेको’ बताएका थिए।
तर सबै प्रतियोगितामा गरेर बार्सिलोनाको लगातार ११ खेलको जितको सिलसिला भंग भयो, जब घरेलु टोलीले उनीहरूलाई लगातार दोस्रो सिजन २–१ ले हरायो। फ्लिकले भने, ‘म निराश छु किनकि हामीले धेरै राम्रो खेल्यौँ। कुनै दिन यस्तो हुन्छ जब तपाईं धेरै ऊर्जा लगाउनुहुन्छ तर अन्त्यमा भाग्यले साथ दिँदैन। हामी जितको हकदार थियौँ, तर फुटबल यस्तै हो।’
त्यसको अघिल्लो दिन, रियल मड्रिडले तालिकाको पुछारमा रहेको लेभान्टेलाई २–० ले हराएको थियो। रियलले बार्सिलोनासँगको अंक दुरी घटाएर १ मा झारे पनि वर्नाबेउमा समर्थकहरूको आक्रोशबिच यो जित आएको थियो, जहाँ उनीहरूले हालैको खराब प्रदर्शनप्रति असन्तुष्टि पोख्न संकोच मानेनन्।
दुवै टोलीको मनस्थिति कस्तो छ ?
सुरुवात रियल मड्रिडबाट गरौँ। आर्बेलोआले मंगलबार च्याम्पियन्स लिगमा मोनाकोमाथि ६–१ को जितलाई ‘टर्निङ प्वाइन्ट’ को रूपमा व्याख्या गरे । उनले भने, ‘यो एउटा यस्तो रात हो जहाँ वर्नाबेउले देखायो कि जब यो टिमको साथमा हुन्छ, जब वर्नाबेउ हाम्रो पक्षमा हुन्छ, हामी साँच्चिकै महान टोली हौँ।’
‘म खेलाडीहरूको टिमलाई सघाउने चाहना देखेर खुसी छु। उनीहरूले पहिलो दिनदेखि नै मलाई त्यो देखाइरहेका छन् ।’ यो प्रदर्शनले निस्सन्देह प्रशिक्षक, खेलाडी र समर्थकहरूको आत्मविश्वास बढाएको छ। शनिबार तेस्रो स्थानमा रहेको भिल्लारियलको मैदानमा उत्रिने तयारी गरिरहँदा आर्बेलोआलाई हरेक खेल कति महत्त्वपूर्ण छ भन्ने राम्रोसँग थाहा छ।
आर्बेलोआले भने, ‘भोलिको खेल विपक्षी र तीन अंकको महत्त्वका कारण धेरै खास छ, जसले हामीलाई धेरै आत्मविश्वास दिनेछ। यो लिगमा हामीले खेल्ने सबैभन्दा कठिन खेलहरूमध्ये एक हो। तीन अंक जोड्ने हो भने हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै उच्च स्तरको खेल खेल्नुपर्छ भन्ने हामीलाई थाहा छ।’
बार्सिलोना पनि च्याम्पियन्स लिगमा स्लाभिया प्रागलाई ४–२ ले हराएको उच्च मनोबलका साथ सप्ताहन्तको खेलमा जाँदैछ। उनीहरूले तालिकाको पुछारमा रहेको ओभिडोको सामना गर्नेछन् । रियल मड्रिड र बार्सिलोनाबिचको अर्को भेट मे महिनासम्म हुनेछैन, र त्यो खेल उपाधि होडमा निर्णायक सावित हुन सक्छ।
अक्टोबरमा मड्रिडमा भएको सिजनको पहिलो ‘एल क्लासिको’ रियलले २–१ ले जितेको थियो । यदि गत सिजनलाई आधार मान्ने हो भने, उपाधि कसले जित्छ भनेर अहिले नै अनुमान गर्न गाह्रो छ।
गत वर्ष यही समयमा रियल मड्रिड बार्सिलोनाभन्दा ६ अंकले अगाडि थियो, तर पछि क्याटालान टोलीले त्यो दुरी उल्ट्याउँदै लिग जित्यो।
फेरि एकपटक, उपाधिका लागि खुला प्रतिस्पर्धा बाँकी नै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण