‘अपमानजनक’ अभिव्यक्ति : बेलायती प्रधानमन्त्रीले भने– ट्रम्पले माफी माग्नुपर्छ
सारांश
- बेलायती प्रधानमन्त्री केयर स्टारमरले अमेरिकी राष्ट्रपति ट्रम्पको अभिव्यक्तिप्रति माफी माग्न आग्रह गरेका छन्।
- ट्रम्पले नेटोका सहयोगीहरू युद्धको मोर्चामा नभएको टिप्पणी गरेपछि स्टारमरले आक्रोश व्यक्त गरे।
- ह्वाइट हाउसले भने ट्रम्पको भनाइलाई सही ठहर्याएको छ, जसले युरोपभर आक्रोश निम्त्याएको छ।
लन्डन । बेलायती प्रधानमन्त्री केयर स्टारमरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अभिव्यक्तिका लागि माफी माग्नुपर्ने बताएका छन्। अफगानिस्तान युद्धमा युरोपेली सेना अग्रमोर्चामा नखटिएको भनी ट्रम्पले गरेको दाबी अपमानजनक भएको भन्दै स्टारमरले आक्रोश पोखेका हुन्।
अमेरिकी राष्ट्रपतिलाई यसरी सिधै आलोचना गर्नुलाई दुर्लभ घटनाका रूपमा लिइएको छ। स्टारमरले ट्रम्पको भनाइलाई ‘अपमानजनक र भयानक’ को संज्ञा दिएका छन्। फक्स न्युजलाई अन्तर्वार्ता दिँदै ट्रम्पले नेटोका सहयोगीहरू युद्धको मोर्चाभन्दा अलि टाढै बसेको टिप्पणी गरेका थिए।
शुक्रबार यही विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै स्टारमरले भने, ‘यदि मैले त्यसरी गलत बोलेको भए वा त्यस्ता शब्द प्रयोग गरेको भए पक्कै माफी माग्ने थिएँ।’
सेप्टेम्बर ११ को आक्रमणपछि अमेरिकाको नेतृत्वमा सन् २००१ मा अफगानिस्तानमा भएको आक्रमणमा ४५७ बेलायती सैनिक मारिएका थिए। प्रधानमन्त्री स्टारमरले ती मृतक सैनिकहरूप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन्।
उता ह्वाइट हाउसले भने बेलायती नेताको आलोचनालाई ठाडै अस्वीकार गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता टेलर रोजर्सले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति ट्रम्प पूर्ण रूपमा सही भएको जिकिर गरेकी छन्। उनले अमेरिकाले नेटोका लागि अन्य सबै देशले गरेको कुल योगदानभन्दा बढी योगदान गरेको दाबी गरिन् ।
ट्रम्पको यो अभिव्यक्ति यस्तो समयमा आएको छ जतिबेला उनले डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्यान्ड अमेरिकाले लिनुपर्ने मागको विरोध गर्ने युरोपेली देशहरूमाथि कर लगाउने धम्की फिर्ता लिएका थिए । स्विट्जरल्याण्डको डाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरममा बोल्दै ट्रम्पले अमेरिकालाई आवश्यक पर्दा नेटो आउनेमा शङ्का व्यक्त गर्दै आफूहरूलाई नेटो कहिल्यै नचाहिएको बताएका थिए।
अफगानिस्तान युद्धमा १ लाख ५० हजारभन्दा बढी बेलायती सैनिक खटिएका थिए, जुन अल–कायदा र तालिवान विरुद्धको अमेरिकी गठबन्धनमा दोस्रो ठुलो योगदान थियो।
यो युद्धमा १५० भन्दा बढी क्यानेडियन, ९० फ्रान्सेली र ४४ डेनिस सैनिक मारिएका थिए भने अमेरिकाले २४०० भन्दा बढी सैनिक गुमाएको थियो। ब्राउन युनिभर्सिटीको तथ्याङ्क अनुसार यो युद्धमा ४६ हजारभन्दा बढी अफगानी सर्वसाधारणको मृत्यु भएको थियो।
ट्रम्पको अभिव्यक्तिले युरोपभर आक्रोश निम्त्याएको छ। बेलायती राजकुमार ह्यारीले पनि यसमा प्रतिक्रिया दिँदै बेलायती सैनिकहरूको बलिदानलाई सत्य र सम्मानका साथ हेरिनुपर्ने बताएका छन्। अफगानिस्तानमा दुई पटक खटिएका ह्यारीले हजारौँको जीवन सधैँका लागि बदलिएको भन्दै आमाबुबाले छोराछोरी गुमाएको पीडा स्मरण गरे।
डच विदेशमन्त्री डेभिड भान र पोल्यान्डका रक्षा मन्त्रीले पनि ट्रम्पको भनाइ असत्य र अनादरपूर्ण भएको भन्दै खण्डन गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण